२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक गठबन्धनमा बार्गेनिङ तीव्र

काठमाडौं- संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये ५५ सिट  र प्रदेशसभा चुनावमा ३ सय ३० सिटमध्ये १ सय ३१ सिट माग गर्ने निर्णय गरेका छन् ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका सदस्यको आइतबार काठमाडौंमा बसेको बैठकमा यस्तो सहमति भएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले बताए । उनले भने, ‘संघमा हामीले मागेको ५५ सिट २ र ५ नम्बर प्रदेशसहित देशभरको हो ।’
लोकतान्त्रिक गठबन्धनसँगको तालमेलपछि पहाडी जिल्लामा पनि पार्टीले उम्मेदवार उठाउने तयारी भएको यादवले बताए । ‘मधेसमा मात्र होइन, पहाडमा पनि उम्मेदवार उठाउने तयारी गरेका छौं,’ उनले भने । फोरम र राजपाका नेताले मधेसका २० जिल्लामा कम्तीमा दुईतिहाइ सिट माग्ने रणनीति बनाएका छन् ।
यसैगरी विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकले लोकतान्त्रिक गठबन्धनसँग २० सिट माग्ने भएको सो पार्टीका उपाध्यक्ष रामजनम चौधरीले बताए । ‘यसमा केही तलमाथि हुन सक्छ’, उनले भने । फोरम लोकतान्त्रिकको शनिबार बसेको पदाधिकारी बैठकले लोकतान्त्रिक गठबन्धनसँग पार्टीले माग्ने सिट संख्याबारेमा छलफल भएको थियो ।
त्यस्तै राप्रपाले लोकतान्त्रिक गठबन्धनसँग २१ सिट माग गरेको छ । राप्रपाका नेता बुद्धिमान तामाङले पार्टीलाई कम्तीमा २१ सिट चाहिने बताए । उनले भने, ‘हामीलाई मिलाउन पनि कम्तीमा २१ सिट चाहिन्छ भन्ने हाम्रो माग हो । यसमा हामी केही तलमाथि पनि हुन सक्छौं ।’ यसैगरी राप्रपा (प्रजातान्त्रिक) ले लोकतान्त्रिक गठबन्धनसँग १५ सिट माग्ने भएको राप्रपा प्रजातान्त्रिक स्रोतले जनाएको छ । लोकतान्त्रिक गठबन्धनमा ६ दल आबद्ध छन् । सिटबारे तालमेल गर्न गठित कार्यदलको बैठक आइतबार बसेको थियो ।

प्रकाशित: २३ आश्विन २०७४ ०२:१० सोमबार

लोकतान्त्रिक गठबन्धनमा बार्गेनिङ तीव्र