४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले सुन तस्करी गर्ने उद्योग नै चलायो: अध्यक्ष ओली

फाइल तस्बिर।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन्।

आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारले ‘चिलतिर औँलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको बताए।

अध्यक्ष ओलीले माअ‍ोवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैर जिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराए।

ओलीले आफ्नो पार्टीले आम उपभोक्ताको हितका लागि सरकारको पनि ध्यानाकर्षण गराएका छन्। त्यस अवसरमा उनले आम उपभोक्ताको हित संरक्षणका लागि गरिबी निवारणमा जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए।

प्रकाशित: ३१ भाद्र २०८० १२:४७ आइतबार

केपी शर्मा ओली