१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बोहोरा नेतृत्वमा राप्रपा सरकारमा जाने

काठमाडौं- नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका दीपक बोहोराको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा सहभागी हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौंपटक मन्त्रिपरिषद विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विभाजित भएर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रालयमा कुरा मिले आइतबार  राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुनेछ ।
राप्रपा प्रजातान्त्रिक राप्रपाबाट विभाजित भएको एक महिना पुगेको छ । सो दलले चार मन्त्री, चार राज्यमन्त्री र २ सहायक मन्त्री मागेको छ । तर प्रधानमन्त्री देउवा तीनवटा मन्त्रालय मात्रै दिने पक्षमा छन् । बालुवाटार स्रोतले यसअघि नै जम्बो भनेर आलोचित मन्त्रिपरिषद्मा अब राज्य वा सहायकमन्त्री थप्ने पक्षमा देउवा नभएको बताएको छ । अहिले मन्त्रिपरिषद् ५० सदस्यीय छ ।
बोहोराका अतिरिक्त सुनिलबहादुर थापा, विक्रम पाण्डे, रामकुमार सुब्बालाई मन्त्री बनाउने तयारी भएको पार्टी स्रोतले जनाएको छ । त्यसैगरी विराजविक्रम बिष्ट, रेशम लामा, रमेश लामा, कमला शर्मा, बबिना मोक्तान, सइन्द्र वान्तवा, इस्तियाक अहमद खान मध्येबाट राज्यमन्त्री र सहायकमन्त्री बनाउनुपर्ने दबाब राप्रपा प्रजातान्त्रिक भित्रबाट आएको छ ।
‘राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन कुनै समस्या छैन तर अहिले धेरैजनालाई मन्त्रिपरिषद्मा सहभागी गराएर थप आलोचना खप्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न,’ बालुवाटार स्रोतले भन्यो, ‘राज्य वा सहायकमन्त्रीको विषयमा अडान राखे राप्रपा प्रजातान्त्रिकको सरकारमा सहभागीता नहुन पनि सक्छ । आइतबार बिहान नाम दिए अपराह्नसम्म सपथ ग्रहण हुनसक्छ ।’
वन तथा भूसंरक्षण, उद्योग, शान्ति तथा पुनर्निर्माण, विज्ञान तथा प्रविधि मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् । तर राप्रपाले शक्तिशाली मन्त्रालय खोज्दा सरकारमा  सहभागीता विषयमा लम्बिएको छ । राप्रपा प्रजातान्त्रिकले आपूर्तिसहितका मन्त्रालय खोजेको छ । यसअघि बोहोरा आपूर्ति मन्त्री हुँदा सुुरु भएको निगमको जग्गा खरिद प्रक्रियाले अहिले ठूलो विवादको रुप लिएको छ । यस विषयमा संसदका समितिहरूले छानबिन गरिरहेका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अनुमान संसदीय समितिले गरेका छन् ।
‘हाम्रा लागि छुट्टयाएका भन्दा काम देखाउने मन्त्रालय पाए हुने भन्ने विषयमा छलफल चलिरहेको छ,’ राप्रपा प्रजातान्त्रिकका एक नेताले भने, ‘मन्त्रालयमा कुरा मिल्न नसकेका कारण सहभागी हुन ढिलाइ भएको हो ।’
देउवाले जेठ २४ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । उनले जेठ २८, असार २, साउन ११ र भदौ ४ गते मन्त्रिपरिषद विस्तार गरेका थिए । अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, नेकपा (संयुक्त) सहभागी छन् ।

प्रकाशित: २५ भाद्र २०७४ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App