१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनाव जित्न दलहरूका आआफ्नै दाउ

बालकृष्ण अधिकारी/सुरेश यादव

 

जनकपुर- प्रमुख राजनीतिक दलहरू प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनलाई आआफ्नो प्रतिष्ठा बनाउँदै प्रचारमा जुटेका छन् । संविधान संशोधनको विषयलाई लिएर पेचिलो बनेको तराईमधेसको राजनीतिका कारण दलहरूले प्रदेश २ को निर्वाचनलाई आफ्नो अस्तित्वसँग जोडेर हेरेका हुन् ।

 

मधेसका परम्परागत शक्तिका रुपमा आफूलाई कायमै राख्ने सुरमा नेपाली कांग्रेस छ भने एमाले आफ्नो दलमाथि लाग्दै आएको मधेस विरोधी आरोप निर्वाचनकामार्फत चिर्ने रणनीतिमा जुटेको छ । माओवादी केन्द्र मधेसमा आफ्नो अवस्था सुधार्ने रणनीतिमा छ । 

परम्परागत राजनीतिक दलहरूबाट मधेस समस्या समाधान नहुने भन्दै २०६२÷०६३ को आन्दोलनपछि उदाएका मधेसकेन्द्रित दलहरू चुनाव परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक यस दिशामा सक्रिय छन् । अन्य राजनीतिक दलहरू पनि मैदानमा उत्रिए पनि मधेसमा उनीहरूको उपस्थिति कमजोर देखिन्छ ।

आफूलाई जनताको आँखामा खरो देखाउन सबै राजनीतिक दलले स्थानीय निर्वाचनमा आफ्नो सम्पूर्ण शक्ति र ध्यान केन्द्रित गरेका छन् । सबै दलले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दाबी गरे पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीचमै हुने देखिन्छ ।

पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनबाट दोस्रो स्थानमा पुगेको कांग्रेस प्रदेश २ बाट क्षतिपूर्ति गर्ने रणनीतिमा छ । मधेसलाई आफ्नो आधारभूमि दाबी गर्दै आएको कांग्रेस संविधान संशोधनमार्फत मधेसका जनताको हकअधिकार स्थापित गर्न लागिपरेको सन्देशसहित चुनावी प्रचारमा छ ।

प्रदेश २ का १ सय ३६ तहका लागि हुने निर्वाचनमा एक सय तहमा पार्टीलाई जिताउने लक्ष्यसहित निर्वाचनमा होमिएको कांग्रेसले आफ्नो दलले जितेमात्र मधेसका जनताको अधिकार र विकास सम्भव हुने जिकिर गरेको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलले मधेसी जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन गर्दै जाने प्रतिवद्धता दोहो¥याउँदै पार्टीलाई जिताउन आग्रह गरे । ‘संविधान गीता वा वेद होइन,’ उनले भने ,‘संविधान संशोधन गरेर सबैको अधिकार सुरक्षित गर्ने हाम्रो प्रयास जारी छ । तराईमधेसको अधिकार र विकासका लागि हामी (कांग्रेस) लाई जिताउनुपर्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने क्रममै प्रदेश नम्बर २ मा स्थानीय निर्वाचन हुनगइरहेको बताउँदै नेता पौडेलले प्रदेश र केन्द्रको चुनावपछि मुलुकमा आर्थिक क्रान्ति सुरु हुने दाबी गरे । ‘मधेसको अधिकार मात्र होइन कांग्रेस त्यहाँ समुन्नति र कृषि क्रान्ति पनि गर्न चाहन्छ,’ पौडेलले भने, ‘तराईमधेसका जनतालाई अधिकार सम्पन्न बनाउने र विकास गर्ने पार्टी कांग्रेस हो ।’

निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यस प्रदेशका केन्द्रीय सदस्य र सांसदमात्र होइन पार्टी शीर्ष नेताहरू पनि चुनावी सभालाई सम्बोधन गर्न मधेस झर्ने तयारीमा छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता मधेस झर्ने तयारीमा छन् ।

पहिलो संविधानसभामा ठूलो दल बनेको माओवादी केन्द्र दोस्रो संविधानसभामा धेरै अन्तरले तेस्रो स्थानमा झरेको थियो । अहिले एमालेलाई पछि पार्न कांग्रेसले गर्न सक्ने सहयोगलाई सकेसम्म सदुपयोग गर्ने दाउमा माओवादी छ । आफ्नो उम्मेदवार निकै कमजोर रहेका तहमा कांग्रेसलाई समर्थन गर्ने र प्रतिस्पर्धामा रहेका स्थानमा सहयोग लिएर परिणाम आफ्नो पक्षमा पार्ने सुरमा माओवादी छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले जनताले अब कुरा बुझिसकेको बताउँदै प्रदेश दुईको परिणाम आफ्नो पार्टीको पक्षमा आउने दाबी गर्छिन् । ‘जनताको मुक्ति र अधिकारका लागि कसले काम गर्दोरहेछ भन्नेमा मतदाताले अब बुझेका छन्,’ उनले भनिन्, ‘आफ्नो अधिकारको पक्षमा लड्ने दललाई जनताले न्याय गर्छन् ।’

निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न प्रदेश नम्बर दुईअन्तर्गत आठै जिल्लामा केन्द्रीय नेता खटाएको छ माओवादीले । पार्टी अध्यक्ष पुष्पकमल दाहाल यसअघि विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइसकेका छन् । चुनावी सभालाई सम्बोधन गर्न दाहाल पुनः दुई नम्बर प्रदेश आउने तयारीमा छन् ।

पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनबाट एमाले पहिलो दल बनेपछि कांग्रेस र माओवादी तेस्रो चरणको निर्वाचनमा उसकाविरुद्ध मोर्चाबन्दीमा जुट्नु अस्वाभाविक होइन । तर, मधेसी जनताको अधिकार स्थापित गर्न संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावको विपक्षमा एमाले उभिएको नारा मधेस केन्द्रित राजपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरम, नेपाल मात्र होइन कांग्रेस र माओवादीले लगाएका छन् ।

मधेस केन्द्रित दलहरूले संविधान संशोधन प्रक्रियामा मुख्य बाधकका रुपमा एमालेलाई देखाउँदै आएका छन् । जसका कारण धनुषामा मात्र होइन प्रदेश नम्बर दुईमा एमाले एक्लिएको विश्लेषण गर्न थालिएको छ । तर, एमालेले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न महासचिव ईश्वर पोखरेलको नेतृत्वमा पदाधिकारीलाई नै जिल्लाजिल्लामा  चुनावी कमान्डर बनाएर खटाएको छ ।

एमाले रौतहट जिल्ला चुनाव परिचालन कमिटी संयोजक एवं पार्टी  उपमहासचिव घनश्याम भुसालले विभिन्न दल आफ्नो पार्टीलाई मधेस र मधेसी विरोधी भनेर सिध्याउन लागिपरेको बताउँछन् । ‘अरु दल एमालेलाई कमजोर देखाउन लागिपरेका छन्,’ उनले भने, ‘हामी मधेस बिरोधी होइनौं । र, अन्य दलभन्दा कमजोर छैनौं भनेर प्रमाणित गरेर देखाउनु छ ।’

राष्ट्रिय एकतालाई मजबुत बनाउने कुरालाई लिएर नै आफ्नो दल चुनावी प्रचारमा जुटेको दाबी गर्दै भुसालले भने, ‘विभिन्न दलले मधेसको मात्र कुरा गरेका छन् । हामी हिमाल, पाहाड र तराईको एकता चाहन्छांै । हिमालविरुद्ध पहाड वा तराई, तराईविरुद्ध हिमाल वा पहाड र पहाडविरुद्ध तराई वा हिमालको पक्षमा छैनांै । हामी सबैलाई एकताबद्ध गर्ने पक्षमा छौं ।’

एमाले वैकल्पिक सदस्य श्रीप्रसाद साहले प्रदेश नम्बर दुईको चुनावमा पनि आफ्नो पार्टी पहिलो हुने बताए ।  यस क्षेत्रमा कांग्रेसले एक सय सिट जित्ने कुरा हावादारी भएको जिकिर गर्दै उनले भने, ‘बाजेले पालेको हात्तीको सिक्री लिएर नातिले दम्भ गरेजस्तै हो अहिलेको कांग्रेसको अवस्था । हामी नै पहिलो हुन्छौं ।’ तर, साहले कांग्रेस एमालेकै हाराहारीमा आउने स्वीकार गरे । उनले तेस्रो स्थानका लागि माओवादी र मधेस केन्द्रित दलहरूबीच निकै प्रतिस्पर्धा हुने बताए ।

त्यस्तै, राजपा, संघीय समाजवादी र फोरम लोकतान्त्रिक पनि आफूलाई मधेसको मुख्य शक्ति बनाउन सक्रिय छन् । मधेसी जनताको हक अधिकारलाई संविधानले नसमेटेको भन्दै पहिलो र दोस्रो चरणको निर्वाचन बहिस्कार गरेको राजपा त्यहीं मुद्दालाई आधार बनाउँदै चुनावी प्रचारमा जुटेको छ । राजपा सके अधिकतम स्थान जित्ने नभए संघीय समाजवादी र फोरम लोकतान्त्रिकले भन्दा बढ स्थान जित्ने रणनीतिमा छ । मधेसी जनतालाई हक अधिकार दिलाउने र समस्या समाधान गर्ने दल राजपा हो भन्ने स्थापित गर्न नेताहरू लागिपरेका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपाल राजपालेभन्दा बढी स्थानमा चुनाव जितेर आफूलाई मधेसको एक्लो शक्ति साबत गर्ने रणनीतिमा छ । फोरम लोकतान्त्रिक पनि यी दुई दलले भन्दा बढी स्थान जित्न चाहन्छ ।

राजपा नेता परमेश्वर साहले पार्टीको पक्षमा जनलहर आएको दाबी गर्दै आफ्नो दलले चुनाव जित्ने बताए  ‘चुनाव अधिकार प्राप्तिका लागि एउटा माध्यम मात्र हो,’ उनले भने, ‘यो प्रयोग हो साध्य होइन । आन्दोलनलाई निर्णायक मोडमा पु¥याउन उपयोग गर्नेछौं ।’

मधेसका पुराना नेता भरतविमल यादवले संविधान संशोधनबिना नै राजपा निर्वाचनमा सहभागी भएपछि उसको पोजिसन प्रदेश दुईमा फेरिएको विश्लेषण गर्छन् । संविधान संशोधनबिना नै निर्वाचनमा सहभागी हुने हो भने पहिलो र दोस्रोमा किन सहभागी नभएको भन्ने औंला जनताले ठड्याउन थालेको सुनाउँदै उनले भने, ‘कांग्रेस र माओवादीको कुरै छाडौं । एमाले र राजपामा पनि अब के फरक भयो ?’

प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादबीच नै प्रदेश दुईमा प्रतिस्पर्धा हुने विश्लेषण गर्दै उनले भने, ‘चुनावमा सबैले जित्न खोज्ने र जित्ने दाबी गर्नु अस्वाभाविक होइन तर समग्रमा ठूला पार्टीहरूबीच नै प्रतिस्पर्धा हुन्छ ।’

प्रकाशित: २४ भाद्र २०७४ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App