१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राजपाले बारा र रौतहटमा टुंगो लगायो

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालले सोमबार बारा र रौतहटमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको अध्यक्ष मण्डलको सोमबारको बैठकले ती जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । अध्यक्ष मण्डलका सदस्यहरूले टुंगो लगाइएको उम्मेदवारको नाम भने गोप्य राखेका छन् ।

अध्यक्ष मण्डलको बैठक स्थलमा राजपाका कायकर्तालाई प्रवेश दिइएको छैन । टिकटका आकांक्षीहरूले अध्यक्ष मण्डलको बैठक बसिरहेका बेला पार्टी कार्यालयअगाडि नाराबाजी गरेका थिए । पार्टी कार्यालयमा हुलहुज्जत बढ्दै गएपछि  सुरक्षा व्यवस्थाका लागि प्रहरी बोलाइएको थियो । 

स्रोतका अनुसार बाराको कलैया उपमहानगरपालिकाको मेयर उम्मेदवारमा जयप्रकाश साह र रौतहटको गौर नगरपालिकाको मेयरमा अजय गुप्ताको नाम टुंगो लागेको छ । गुप्ता राजपाका महासचिव हुन् । पार्टीका प्रवक्ता सन्तोष मेहताले बारा र रौतहटमा उम्मेदवारको टुंगो लागेको बताए । ‘तर कसकसको टुंगो लाग्यो भन्नेबारे मलाई पनि जानकारी गराइएको छैन,’ उनले भने ।

अध्यक्ष मण्डलका सदस्यहरूले कम विवादित जिल्लाबाट उम्मेदवारको टुंगो लगाउने प्रक्रिया थालेका छन् ।

अध्यक्ष मण्डलका सदस्यहरूले पार्टी कार्यालयको दोस्रो तलामा बैठक गरिरहेका छन् । कार्यकर्तालाई पहिलो तलाबाट दोस्रो तलामा जान दिइएको छैन ।

बैठकमा दोस्रो तहका नेताहरूलाई पनि जान दिइएको छैन । दोस्रो तहका नेताहरूले पनि आफू निकटका कार्यकर्तालाई उम्मेदवार बनाउन लबिङ गर्न थालेपछि उनीहरूलाई बैठकमै नराखिएको हो । जनकपुर, वीरगन्ज, मलंगवा, राजविराजलगायतका सहरी क्षेत्रमा उम्मेदवारको टुंगो लगाउन राजपा नेतृत्वलाई सकस परेको छ ।

प्रकाशित: २० भाद्र २०७४ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App