१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश नम्वर २ मा चुनावको रौनक, दलका मुख्य नेता केन्द्रीत

रौतहट- विभिन्न पार्टीका केन्द्रीय नेताहरुको प्रदेश दौडाहामा तीव्रता आएको छ । ठूला राजनीतिक दलका नेताहरु प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको क्रममा जनमत तान्न दौडाहामा व्यस्त देखिएका छन् । देशको सबैभन्दा बढी नगरपालिका रहेको रौतहट जिल्लामा पनि नेताहरुको आवतजावत ह्वात्तै बढेको छ।

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष अशोककुमार राई लगायतका नेताहरुले रौतहटका मतदाताको नाडी छाम्ने काम सम्पन्न गरेका छन्।

दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा कुनै पनि पार्टीले आफ्नो उम्मेदवारको घोषणा गरिसकेको छैन । उम्मेदवार घोषणामा एमाले अगाडि रहे पनि केही नगरपालिकामा अझै टुंगो लगाउन बाँकी रहेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको छिनोफानो गर्न सकेको छैन । संघीय फोरम र राजपा नेपालको हालत पनि उस्तै छ ।

निर्वाचनको तिथि नजिकिँदै जाँदा पनि कुनै पनि दलले सम्पूर्ण रुपमा उम्मेदवारको टुंगो लगाउन नसक्नु प्रायः सबै दलभित्र उम्मेदवार बन्ने चाहना धेरै हुनु हो । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय फोरम तथा राजपा नेपालभित्र टिकटको लागि हानथाप गर्ने आकांक्षीको संख्या ठूलो रहेको छ । धेरैले उम्मेदवार बन्न चाहेकाले सबैलाई चित्त बुझाउन समस्या रहेको नेताहरु बताउँछन् ।

उम्मेदवारको टुंगो नलागिकनै ठूला दलका केन्द्रीय नेताहरुको दौडाहाले कुन उम्मेदवारको पक्षमा कति मतदाता छन् र कसलाई टिकट दिएर कसको चित्त कसरी बुझाउन सकिन्छ भनेर मतदाता र उम्मेदवार दुवैको नाडी छाम्ने काम भएको छ । केन्द्रीय नेताहरु जिल्लामा आउँदा विभिन्न पार्टी परित्याग गरी अर्को पार्टीमा टीका लगाउनेको संख्या पनि बढ्ने गरेको छ । एउटा दलमा टिकट पाउने सम्भावना कम भएपछि अलि हैसियतवालाले अर्को दलको सहारा लिन थाल्ने प्रवृत्ति ह्वात्तै बढेको छ ।

पूर्व प्रधानमन्त्री नेपालले पाँच दिनको रौतहट बसाइँमा एक हजारभन्दा बढीलाई पार्टीलाई भित्र्याएका छन् । यसै गरी पूर्व प्रधानमन्त्री दाहालले यसै साता करिब तीन हजारलाई पार्टीमा प्रवेशको टीका लगाएका छन् । संघीय फोरमका सहअध्यक्ष राईले पनि करिब सय जनालाई एकै दिन पार्टी प्रवेश गराएका छन् । राजपा नेपालमा पनि प्रवेश गर्नेको लर्को ठूलो रहेको महासचिव अजय गुप्ताले दाबी गरेका छन् ।

एउटा पार्टी छोड्ने र अर्को पार्टी प्रवेश गर्ने क्रम उम्मेदवारले नाम दर्ता गर्ने दिनसम्म अलि तीव्र गतिमा र निर्वाचनको दुई दिनअघिसम्म अलि अलि चल्दै गर्ने नागरिक समाज रौतहटका सचिव विजय किशोर झाले अनुमान गरेका छन् ।

प्रकाशित: १६ भाद्र २०७४ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App