१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कारबाही गर्न मन्त्रीको आलटाल

काठमाडौं- उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बेथितिको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वनयमा आलटाल गरेका छन्। 

मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकालको नेतृत्वमा साउन १२ गते गठन भएको छानबिन समितिले एक साता पहिले साझाका अध्यक्ष शर्मा तथा सञ्चालक बोर्डलाई हटाउनुपर्ने रिफारिससहितको प्रतिवेदन मन्त्री श्रेष्ठलाई बुझाएको थियो । प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीले नै आलटाल गरिरहेको मन्त्रालय स्रोतले जानकारी दियो । ‘मन्त्री आफैंले गठन गरेको छानबिन समितिले दिएको रिपोर्ट अनुसार शर्मालाई कारबाही गर्न उहाँले बेवास्ता गरिरहनुभएको छ,’ स्रोतले भन्यो । 

स्रोतका अनुसार केही दिनपहिले महाप्रबन्धक शर्माले पूर्वशिक्षामन्त्री चित्रलेखा यादवसहित मन्त्री श्रेष्ठलाई भेटेर कारबाही अघि नबढाउन आग्रह गरेका थिए । सोही कारण मन्त्री श्रेष्ठले साझाको अनियमिततामा मुछिएका शर्मामाथि  कारबाही प्रक्रिया अघि बढाउन आलटान गरेका हुन् । पूर्वशिक्षामन्त्री यादवले नै शर्मालाई २०७१ माघ ५ मा साझाको महाप्रबन्धक नियुक्त गरेकी थिइन् । यादवमाथि ३० लाख रुपैयाँ लिएर शर्मालाई साझाको महाप्रबन्धक तथा अध्यक्ष नियुक्त गरेको आरोप छ । 

छानबिन समितिको प्रतिवेदन विषयमा मन्त्री श्रेष्ठसँग जानकारी लिन खोज्दा कार्यव्यस्तता देखाउँदै सम्पर्कमा आउन चाहेनन् । कांग्रेस नेता श्रेष्ठ र यादव पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् ।

शिक्षासचिव शान्तबहादुर श्रेष्ठले छानबिन समितिको रिपोर्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा संसदीय समितिमा पठाइसकेकाले बाँकी अनुसन्धान त्यहींबाट हुने बताए । ‘हामीले रिपोर्ट अख्तियारलाई बुझाइसकेका छौं, अख्तियारको निष्कर्षपछि मात्र कारबाही अघि बढ्छ,’ सचिव श्रेष्ठले भने । ‘अख्तियारको छानबिनभन्दा पहिले मन्त्रालय कारबाही गर्ने पक्षमा छैन,’ उनले भने । 

शिक्षासचिव श्रेष्ठले छानबिन रिपोर्ट संसद्को सार्वजनिक लेखा समितिमा पठाएको बताए पनि समितिले नपाएको जनाएको छ । लेखा समितिका सदस्य धनराज गुरुङले समितिलाई रिपोर्ट आइनसकेको भन्दै तत्काल ताकेता गरिने बताए । ‘रिपोर्ट समितिमा अझै आएको छैन, तत्काल मगाएर छानबिन गर्छौं’ गुरुङले नागरिकसँग भने । छानबिनबाट प्राप्त हुने तथ्यका आधारमा साझामा कारबाही प्रक्रिया अघि बढाइने गुरुङले बताए ।

प्रकाशित: १४ भाद्र २०७४ ०१:०८ बुधबार

कारबाही गर्न मन्त्रीको आलटाल