खोटाङ – स्थानीय तहको कार्यान्वयनसँगै खोटाङको खोटेहाङ गाउँपालिकामा एकैसाथ मालपोत र नापी कार्यालय स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहापोखरी गाउँपालिकाका स्थानीयलाई लक्षित गरेर खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो । नेपाल सरकार मन्त्री परिषदको २०७२ साल असोज १४ गतेको निर्णय अनुसार भदौ ५ गते खोटाङबजारमा मालपोत कार्यालय स्थापना गरिएको हो। दिक्तेलबाट प्रवाह भइरहेका सम्पूर्ण सेवा प्रवाह गर्नेगरी खोटाङबजारमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो।
खोटेहाङ गाउँपालिकामा मालपोत र नापी कार्यालय स्थापना भएपछि तीन गाउँपालिकाका २१ वडाका सर्वसाधारण लाभान्वित भएको जिल्ला मालपोत कार्यालय खोटाङकी प्रमुख कोपिला राईले बताइन्। मालपोत र नापी कार्यालय स्थापनासँगै खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहापोखरी गाउँपालिकाका स्थानीयलाई जग्गा सम्बन्धी कामका लागि सदरमुकाम दिक्तेल धाउन नपर्ने भएको छ। मालपोत कार्यालय नजिकको गाउँपालिकामा स्थापना भएपछि स्थानीय हर्षित छन्।
दुई/तीन दिन लगाएर दिक्तेल पुगेर जग्गा पास, जग्गा नामसारी, दाखिल–खारेज, रोक्का–फुकुवा लगायतका काम खोटाङबजारबाटै सुरु भएको छ। सदरमुकामको मालपोत र नापी कार्यालय गाउँमा सरेपछि जग्गा पासका लागि दिक्तेल धाउनुपर्ने बाध्यता हटेको सांसद विशाल भट्टराईले बताए।
प्रकाशित: ९ भाद्र २०७४ १०:१३ शुक्रबार