५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेसँग नाम जोडिएका फाइल खाेल्न सरकारलाई एमालेको चुनौती

नेकपा एमालेले आफ्ना पार्टीसँग नाम जोडिएका सबैको फाइल खोलेर अनुसन्धान गर्न सरकारलाई चुनौती दिएको छ।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रतिपक्षलाई आरोप लगाएर सरकारले आफ्ना गल्ती ढाकछोप गर्न खोजेको भन्दै एमालेसँग नाम जोडिएका सबै फाइल खोलेर अनुसन्धान गर्न सरकारलाई चुनौती दिएको हुन्।

एमालेसँग नाम जोडिएका जुनसुकै फाइल खोलेर अनुसन्धान गर्न पार्टीले खुल्ला रुपमा माग गरिरहेको भएपनि केही हात नलाग्ने भएपछि सरकार डराएर पछि हटेको उनको दाबी छ। 

पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको सन्दर्भमा सोमवार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेलाई समाप्त पार्ने मात्रै गठबन्धनको मुख्य उद्देश्य रहेको दाबी गरिन्।

‘भ्रष्टाचारीले कहिल्यै पनि आफूमाथि अनुसन्धान गर गल्ती भए कारबाही गर भनेर हुँकार गर्न सक्छ ? सक्दैन। तर, नेकपा एमालेले हामीमाथि लगाइएको आरोपबारे  अनुसन्धान गर, फाइल खोल र सत्य तथ्य बाहिर ल्याऊ भनेर हुँकार गरेको छ’ नेता अर्यालले भनिन्, ‘तर केही हात नलाग्ने भएपछि सरकार फाइल खोल्न डरायो।’

एमालेका नेताहरू कुनैपनि किसिमको भ्रष्टाचारमा नमुछिएको दाबी गर्दै नेतृत्वलाई जोडेर बजारमा आएका सबै कुराहरू झुठा भएको पनि दाबी गरिन्। बरु सरकार नै भ्रष्टाचार नियन्त्रणमा इमानदार नभएको भन्दै उनले ६० किलो सुनसम्म आइपुग्दा सरकारप्रति जनताको आशा र विश्वास ग्वार्लाम्म ढलेको बताइन्।

‘सुरुमा साख जेगाउन पनि केही गर्छन् की भन्ने थियो तर ६० केजी सुनसम्म आइपुग्दा आफ्नै पार्टीका, खल्तीका मान्छे जोगाउन प्रतिपक्षलाई दोष लगाएर जुन खालको फण्डा गरियो त्यसले गठबन्धनको वास्तविकता उदाङ्गो भएको छ’ अर्यालले भनिन्।

निहित स्वार्थकालागि अपवित्र गठबन्धन गरिएको भन्दै उनले वर्तमान सरकारबाट मुलुकको हित हुनै नसक्ने बताइन्। ‘राज्य सञ्चालकहरू गैर जिम्मेवार बन्दा मुलुकमा अराजकता बढेको छ। सङ्गठित भ्रष्टाचारलाई प्रशय दिँदा जनतामा निराशा छाएको छ’ अर्यालले भनिन्।

कोभिड कालमा एमालेले जोगाएर ल्याएको अर्थतन्त्र गठबन्धन सरकारकै कारण उठ्नै नसक्ने गरी थला परेको दाबी गरिन। विभिन्न सुचाङ्कहरुले नै देशको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको देखाइरहेको उनको भनाइ थियो। नेता अर्यालले सङ्घीयतालाई बलियो बनाएर लैजानु पर्छ भन्नेमा एमाले स्पष्ट रहेको पनि उल्लेख गरिन्।

भदौ १६ र १७ गते बुटवलमा हुन गइरहेको एमाले लुम्बिनी प्रदेश अधिवेशनको सम्बन्धमा उनले पहिलो प्राथमिकता सर्वसम्मती भएपनि सहमति नभए लोकतान्त्रिक विधि र प्रकियाबाट स्वच्छ प्रतिस्पर्धा हुने बताइन्।

लुम्बिनीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटबीच कडा प्रतिस्पर्धा हुन गइरहेको भन्ने विषयलाई उनले वाहियात हल्लाको संज्ञा दिइन्।

‘नेताका नाम जोडेर गुटको प्रतिस्पर्धा हुदैँछ भनेर हल्ला चलाइएको मैले पनि सुनेको छु। तर, ती सब वाहियात हुन। शीर्ष नेतृत्व कसैको पक्ष÷विपक्षमा लाग्नुहुन्न। सके सर्वसम्मत नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ’ सचिव अर्यालले भनिन्। पार्टीका शीर्ष नेताहरु कुनै गुट उपगुटमा नलागे पनि तल्लो तहका केही व्यक्तिहरुले आफ्नो स्वार्थ अनुकूल उम्मेदवारको लविङ गर्ने गरेको बताइन्।

एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ जिल्लाबाट १ हजार ४ जना प्रतिनिधि चयन भइसकेका छन्। अधिवेशनले २ सय ५ सदस्यीय लुम्बिनी प्रदेश कमिटी चयन गर्नेछ।

प्रकाशित: ११ भाद्र २०८० १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App