५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सर्वोच्चको मुद्दा पेसीमा स्वचालित प्रणाली

प्रविधिमा आधारित हुने भएकाले कर्मचारीले चलखेल गर्न नपाउने

सर्वोच्च अदालतमा सोमबारदेखि मुद्दाको पेसी तारेखमा कर्मचारीले चलखेल गर्न नपाउने भएका छन्। अदालतमा हुने भ्रष्टाचार र अनियमितता रोक्न सोमबारदेखि सर्वोच्चमा मुद्दाको पेसी स्वचालित (अटोमेसन) प्रणालीबाट तोकिने भएको छ। पेसी तोक्दा कर्मचारीले आफूखुसी गरेको गुनासो आएपछि स्वचालित प्रणाली सुरु गर्न लागिएको हो। स्वचालित प्रणाली लागु भएपछि महिनौंसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भ्रष्टाचार, अनियमितता रोक्न अदालतलाई प्रविधिमैत्री बनाउन लागिएको बताए। उनका अनुसार मुद्दा दर्ता भैसकेपछि पेसी तोक्दा पनि चलखेल हुने गरेको भन्ने जनगुनासो सम्बोधन गर्न स्वचालित प्रणाली अपनाउन लागिएको हो। ‘न्यायपालिकाभित्रका अनियमितता हटाउन विधि र प्रणालीबाट सम्बोधन गर्नुपर्ने भएको छ’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘पेसी तारेख सोमबारदेखि स्वचालित प्रणालीमा जाँदैछ।’ दैनिक सुनुवाइ हुने मुद्दाको पेसी तोक्दा मानव हस्तक्षेप नहुने गरी प्रविधिमा जान थालिएको उनले बताए।  

हालसम्म पेसी कर्मचारीले तोक्दै आएका छन्। कर्मचारीमै भर पर्नुपर्ने भएकाले महिनौंसम्म मुद्दा पेसीमा चढ्न नसकेको सेवाग्राहीको गुनासोतर्फ संकेत गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘म प्रविधिमा भरोसा गर्छु। अनियमितता रोक्न यसले मद्दत पुग्नेछ।’

अदालतमा मुद्दा दर्ता भएपछि पेसी तोक्दा कर्मचारीले मनोमौजी गर्ने र कतिपय पहुँच भएका कानुन व्यवसायीले कर्मचारीसँगको मिलेमतोमा पेसी अगाडि सार्ने गरेको गुनासो सुनिँदै आएको छ। महिनौंसम्म मुद्दा पेसीमा नचढ्दा सर्वसाधारण अदालतमा धाउनुपर्ने बाध्यता छ। यस्ता समस्या अन्त्य गर्न स्वचालित प्रणालीबाट पेसी तोक्न लागिएको हो।  

प्रारम्भिक चरणमा सर्वोच्च अदालतमा मात्रै पेसी तारेखका लागि स्वचालित प्रणाली लागु गरिनेछ। त्यसपछि क्रमशः उच्च र जिल्ला अदालतमा पनि स्वचालित प्रणाली लागु हुने बताइएको छ। ‘सर्वोच्च अदालतपछि सबैभन्दा पहिले धेरै मुद्दा भएको काठमाडौं जिल्ला अदालतमा यो प्रणाली सुरु गर्ने तयारीमा छौं’, प्रधानन्यायाधीश श्रेष्ठले भने। स्वचालित प्रणाली लागु भएपछि पुराना मुद्दालाई हरेक दुई महिनामा पेसी सूचीमा चढाइनेछ। पाँच वर्ष नाघेका मुद्दालाई दुई महिना नाघ्न नपाउनेगरी स्वचालित प्रणालीमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। उनले मुद्दाका विषयगत फाँटहरू रहेकाले सोहीअनुसार पेसी सूचीमा चढ्ने जानकारी दिए। सर्वोच्च अदालतमा भ्रष्टाचार, बैंकिङ, संवैधानिक, रिटलगायत छुट्टाछुट्टै विषयमा मुद्दा दर्ता फाँट छन्।

प्रवक्ता पौडेलका अनुसार स्वचालित प्रणाली लागु भएपछि कुनै पनि मुद्दालाई पेसीमा चढ्न ६ महिनाभन्दा बढी समय लाग्ने छैन। उनले भने, ‘मुद्दा प्रकृति र संख्याका आधारमा पेसीमा चढ्नेछन्।’ कहिलेकाहीं अकस्मात् पर्ने बिदाका कारण पनि पेसी तोकिएका मुद्दामा सुनुवाइ हुन नसक्दा लामो समय लाग्ने गरेको उनले बताए।  

कुनै मुद्दाका पक्षलाई विपक्षले दुःख दिनु पर्यो भने पनि पेसी तारेखमा असहयोग गरिँदै आएको छ। हालसम्म तारेख लिन वादी प्रतिवादी दुवै उपस्थित हुनुपर्ने व्यवस्था छ। स्वचालित प्रणालीमा गएपछि पेसी तारेख लिन दुवै पक्ष उपस्थित हुनुपर्ने छैन। यसबाटे एकले अर्कालाई दुःख दिन नसक्ने दाबी सर्वोच्च अदालत प्रशासनको छ।

न्यायाधीश नियुक्ति छिट्टै हुने

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया पनि छिट्टै अगाडि बढाइने बताएका छन्। न्याय परिषद्का अध्यक्षसमेत रहेका श्रेष्ठले छिट्टै परिणाम दिनेगरी पारदर्शी ढंगले नियुक्ति प्रक्रिया अघि बढाइने बताए। न्यायाधीश नियुक्ति सधैंभरि विवादित बन्ने गरेको छ। सर्वोच्च अदालतमा समेत लामो समयदेखि इजलास खाली हुँदा मुद्दाले सुनुवाइको पालो पाउन नसकेको अवस्था छ। पेसी सूचीमा चढेका मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएका छन्। यिनै अप्ठेरालाई सम्बोधन गर्न न्यायाधीश नियुक्ति छिट्टै हुने प्रधानन्यायाधीश श्रेष्ठले बताए। तर उनले यति दिनभित्र न्यायाधीश नियुक्तिका लागि सिफारिस हुन्छ भन्ने तोकेनन्।

सर्वोच्च अदालतमा सात न्यायाधीशको पद रिक्त छ। सर्वोच्चमा मात्रै होइन, उच्च अदालतहरूमा पनि मुख्य न्यायाधीश र न्यायाधीश नियुक्ति हुन सकेका छैन। कायममुकायम मुख्य न्यायाधीशका भरमा उच्च अदालत चलेका छन्। उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ जना न्यायाधीशको पद रिक्त छ। त्यसैगरी ३८ जना जिल्ला न्यायाधीशको पद खाली छ।

प्रकाशित: ११ भाद्र २०८० ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App