२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने

फाइल तस्बिर

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराए।

उनले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउने बताए। उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रवार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा दिन पनि आग्रह गरे।  

उनले भने, ‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम यही २०८० भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु। साथै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह २ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० भदौ ८ गते शुक्रवार दिनको ३ बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरा जानकारी गराउन चाहन्छु।’

त्यसैगरी सभामुखले समिति सभापतिहरुको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराए। प्रतिनिधि सभाको अर्को बैठक भदौ १२ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

प्रकाशित: ७ भाद्र २०८० ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App