५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

साझामा अख्तियारको छानबिन

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनमा भएको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ। साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थामा आर्थिक अनियमितता तथा मनपरी गरेको विषयमा नागरिक तथा रिपब्लिका दैनिकमा समाचार प्रकाशित भएपछि अख्तियारले चासो देखाएको हो।

'हामीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेका छौं,' नागरिकसँग अख्तियारका प्रवक्ता जीवराज कोइरालाले भने। प्रारम्भिक अनुसन्धानमा कागजात संकलन तथा अनियमिततासम्बन्धी प्रमाण खोज्ने काम भइरहेको जानकारी कोइरालाले दिए।

साझामा भएको अनियमितता छानबिन गर्न साझाकै कर्मचारीले पनि बुधबार अख्तियारमा उजुरी दर्ता गराएका छन्। साझा प्रकाशन कर्मचारी संघका अध्यक्ष हरिभद्र घिमिरे तथा कर्मचारी संगठनबाट प्रभा घिमिरेको हस्ताक्षरमा उजुरी दर्ता गरिएको हो। उजुरीमा महाप्रबन्धक शर्माले गरेका अनियमितताका प्रमाणसमेत पेस गरिएको छ।

उजुरीपत्रमा साझामा भएका अनियमितता तथा बेथितिलाई बुँदागत रूपमा उल्लेख गर्दै छानबिन गरी दोषीमाथि कारबाही माग गरिएको छ। साझामा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको सहमतिमा अख्तियारमा उजुरी दिइएको बताइएको छ।

साझामा भएका अनियमितता छानबिनका लागि शिक्षा मन्त्रालयले पनि तीन सदस्यीय समिति बनाएर अनुसन्धान सुरु गरेको छ। त्यस्तै संसद्को सार्वजनिक लेखा समितिले पनि यस विषयमा छानबिन थालेको छ।

महाप्रबन्धक शर्माले जिम्मेवारी सम्हालेयता विवादित काम गर्दै आएका छन्। उनीमाथि सरकारले उपलब्ध गराएको सहयोग रकम दुरुपयोग गरेको, संस्थाको लेखा परीक्षण नगराएको, राजनीतिक दलका नेतानिकट व्यक्ति, पत्रकार र उनीहरूका आफन्तलाई प्रक्रिया मिचेर जागिरमा भर्ना गरेको, वार्षिक आम्दानी, खर्च तथा पुस्तक प्रकाशन विवरण चुस्त नराखेको, नक्कली कागजात बनाएको, साझाको लोगो दुरुपयोग गरेर अवैध रूपमा पुस्तक प्रकाशन गरेको जस्ता आरोप लागेका छन्। 

यसैबीच साझाका महाप्रबन्धक शर्मासहित सञ्चालक समिति सदस्य दीनानाथ शर्मा र प्रदीप नेपालले जापान भ्रमण स्थगित गरेका छन्। उनीहरू साझाकै खर्चमा बुधबारदेखि साताव्यापी जापान भ्रमणमा जाने कार्यक्रम तय भएको थियो। नागरिकले साझामा अनियमिततासम्बन्धी समाचार प्रकाशित गरेपछि उनीहरूले भ्रमण स्थगित गरेका हुन्।

प्रकाशित: २६ श्रावण २०७४ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App