४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रैथाने दलहरुलाई चाहिए जनताः नयाँ दलको डरले की संगठन विस्तार र सुदुढिकरणले

सबै दलले भन्छन, ‘जनताबाटै आएका हौं, जनता माँझ जान्छौ’

भर्खरै सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकियो। त्यस्तै नेकपा माओवादीको केन्द्रीय कार्य समितिको बैठक पनि हालै मात्र सकिएको छ।

यी दुवै दलले आफ्नो बैठकमा जोडदार तरिकाले ‘जनता’को आवश्यकता महशुस भएको निष्कर्ष निकालेका छन्। आ–आफ्ना राजनीतिक लक्ष्य, उद्देश्य र कार्यनीति जनतालाई बुझाउन जनतालाई गाँउघरमै गएर भेटनु पर्ने निष्कर्ष निकालेका छन्। र, घरघरमा पुग्ने र परिवारका सबै सदस्यलाई भेटन अभियान घोषणा गरेका छन्। अभियानको नाम फरक–फरक भएपनि यी दुवैको उद्देश्य भने एउटै छ। संगठन विस्तार र पार्टी सुदृढिकरण।

यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि गत वर्ष फागुन/चैतमा ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको थियो। एमालेले केन्द्रीय सचिवालयको बैठक डाकेर यो अभियान संचालन गर्ने निर्णय गरेको थियो। त्यसो त नेकपा एमालेले अहिले पनि पालिका स्तरीय अभियान संचालन गरिरहेको छ। नाम जे सुकै राखेपनि सबैको उद्देश्य एउटै देखिन्छ। र, अहिले सबै रैथाने दलहरुमा ‘नागरिक’ चाहिएको छ।

प्रधानमन्त्री एवं नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिएका थिए। उनले प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका हुन्। यसै सन्दर्भमा माओवादी केन्द्रले तीनमहिने अभियान सञ्चालन गर्दैछ। सात प्रदेशका सात वडामा अध्यक्ष दाहाल आफैँ जादैछन्। उनले अहिले पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको उल्लेख गर्दै जनताको घरदैलोमा पुग्न निर्देशन दिएका हुन्। 

अध्यक्ष दाहालले अभियानका क्रममा सरकारका तर्फबाट भएको काम कारबाहीका बारेमा समेत जनतालाई जानकारी दिन आग्रह गरेका छन्। केन्द्रीय कमिटी बैठकको सुरुमा पनि दाहालले माओवादी केन्द्र पुनर्निर्माण आवश्यक भएको बताएका थिए। पार्टीभित्र नेता कार्यकर्ता र विशाल समिति संरचना भए पनि माओवादी पार्टी पार्टीजस्तो नभएको गुनासो गरेका थिए।

केहि समय अघि सबैभन्दा पुरानो र ठूला दल नेपाली कांग्रेसले पनि सांगठनिक सुदृढिकरणका लागि भन्दै ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। पार्टी केन्द्रिय कार्य समितिको बैठकले भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान चलाउने र त्यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खटिने निर्णय गरेको छ। त्यस्तै भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय बैठकले गरेको थियो।

अहिले आएर एकाएक सबै रैथाने दलहरुलाई ‘गाँउघर केन्द्रित’ राजनीति गर्न किन आवश्यक पर्‍याे ? आफूहरु जनता माझ अलोकप्रिय हुदै गएको तथ्य यी दलहरुले आत्मसात गरेकै हुन त? कि यी अभियान पछिल्ला स्थानीय, प्रादेशिक र संघिय निर्वाचनको परिणामको विश्लेषण र निष्कर्षबाट तयार गरिएका हुन?

तर एकथरीले भन्दैछन, ‘नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन–२०८४’ बाट अतालिएका छन्। यति मात्र होइन, आफ्ना विगतका क्रियाकलापबाट पनि आत्तिएका छन्। त्यसैले उनीहरुलाई ‘जनता’ केन्द्रित राजनीति चाहिएको छ।  

नेपाली कांग्रेसका प्रवक्ता मिन विश्वकर्मा भने कुनै नयाँ दल वा त्यसको मिसनले गर्दा जनतासँग जान लागेको भन्ने तर्क गलत भएको दाबी गर्छन। ‘नेपाली कांग्रेस जनताबाटै जन्मेको हो। नयाँको डरले जनतासंग गएको भन्न मिल्दैन’, उनले नागरिकन्यूजसँग भने।

विश्वकर्मा भन्छन्, ‘कांग्रेस भनेको जनताको पार्टी हो। नागरिककै स्वतन्त्रता, न्याय, समानता र समृद्धिका लागि बनेको पार्टी हो। कांग्रेस मुलुकको आवश्यकताका लागि जहानीय निरंकुशता फाल्नका लागि र नेपाली नागरिकको हक अधिकारका लागि पार्टी भएकाले हामी अहिले मात्र होइन, जहिल्यै  जनतासंगै छौं।’  

उनका अनुसार जनताका समस्याहरु के–के छन? भनेर बुझन, उनीहरुको दैनिकी कसरी बितिरहेको छ? कांग्रेसले बुझने, अध्ययन गर्ने र त्यसलाई नै पार्टीको मुद्दा बनाउने उद्देश्यले जनतासँग कांग्रेस अभियान सञ्चालन गरिएको हो।  

‘यस अभियानमा गाउँघरमा जाने समस्याहरु के के छन्? बुझने, समाधानका लागि गर्न सकिने कामहरु गरिन्छ’, प्रवक्ता विश्वकर्माले भने।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नयाँ पार्टीका कुराहरु सहरमा मात्रै भएको तर गाउँ–गाउँमा नपुगेको बताउँछन्।

उनले भने, ‘नयाँ हुँ भन्नेहरुले आफ्नो कार्यक्रम नीति प्रष्ट गर्नुपर्यो। कुन सिद्धान्तबाट हिडेको कहाँ हिडेको त्यो प्रष्ट गर्नुपर्यो। त्यो प्रष्ट गर्ने काम उहाँहरुले प्रष्ट नगरेसम्म उहाँहरुको डरले हामीले कार्यक्रम गर्‍यौ भन्न मिल्दैन्।’

गौतमले जनतासँगको कार्यक्रम पार्टीको नियमित कार्यक्रम रहेकाले र त्यसलाई कसैको डरले सिर्जना गरेको वा तयार गरेको कार्यक्रम भन्न नमिल्ने दाबी गरे।

उनका अनुसार अभियानका क्रममा विचारसहितको पार्टी निर्माण गर्ने, त्यसका लागि जिल्ला स्तरसम्म व्यवस्थित गर्ने, पार्टीले स्थानीयस्तरदेखि जिल्ला, प्रदेश र संघसम्म गरेको कामहरुलाई प्राथमिकता दिने, जनसंगठनका कामहरु व्यवस्थित गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई अझै अगाडि बढाउने, पार्टी सदस्यताको कुराहरुलाई अभिलेखन गर्ने काम हुनेछ। 

यता नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पार्टी जनतामुखी भन्दा पनि सहरमुखी भएका कारण अभियान संचालन गर्न लागेको तर्क गर्छन्। उनी भन्छन्, ‘पार्टी जनतामुखी भन्दा पनि सहरमुखी धेरै भयो, त्यही कारणले अभियान गर्न लागेका हौं। आम कार्यकर्ता नेताहरु जनतासँग जोड्निुपर्छ भनेर हामीले अभियान थालेका हौं।’

उपाध्यक्ष महराका अनुसार जनतासँगको अभियानमा आठौं महाधिवेशन, केन्द्रीय समितिमा भएका छलफल र गणतन्त्रको बिषयमा छलफल गरिदैछ। ‘केन्द्रिय समितिको बैठकले पार्टीको कमी–कमजोरी के–के रहेछन् भन्ने महसुस गराएको र सोही अनुरुप जनता माँझ जान लागेका हौ’, उनले भने।  

तर नयाँ पार्टीहरुको डरले जनता माँझ जान लागेको भन्ने कुरा गलत भएको महरा बताउँछन्। ‘हामी जनताबाट नै आएका पार्टी हौं। यो बीचमा जनतासामु नगएको हो की भन्ने अनुभूति भयो त्यसैले जान लागेका हौं,’ उनले भने।

प्रकाशित: २५ श्रावण २०८० ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App