९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

दुई महिनादेखि मन्त्रालयविहीन मन्त्री चित्राकार,राजीनामा दिने तयारी

तस्बिर विना विभागीय मन्त्री रामकृष्ण चित्राकार।

बागमती प्रदेशका एक मन्त्री विगत दुई महिना भन्दा बढी समयदेखि मन्त्रालय विहीन अवस्थामा रहेका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्राकारले जेठ ७ गते विभाग पछि तोकिने गरी मन्त्रीको सपथ लिएका थिए। उनले सपथ लिएको करिब ७० दिन कटिसकेको छ। तर उनी अझै मन्त्रालयविहीन अवस्थामा रुमल्लिरहेका छन्। सत्तारुढ दलबीच सहमती जुट्न नसक्दा उनले जिम्मेवारी पाउन नसकेका हुन्। बजेट प्रस्तुत हुनु अघि नै जिम्मेवारी दिने सहमति भएपनि उनले अझै मन्त्रालय पाउन सकेका छैनन्।

मुलुकमा नयाँ राजनीतिक समीकरण बनेसँगै प्रदेश सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि बागमतीका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आफ्नै पार्टी माओवादीसहित कांग्रेस र नेकपा एसका नेताहरुलाई मन्त्रीको जिम्मेवारी दिएका थिए। सत्ता गठबन्धनबाट सरकारमा कांग्रेसका ६, माओवादी केन्द्रका ४ र एकीकृत समाजवादीका २ जना मन्त्री नियुक्त भएका छन्। जेठ ७ मा चित्रकारसहित ४ जना मन्त्री सरकारमा नियुक्त भएका थिए। थप भएका ४ सहित प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीको संख्या ६ पुगेको थियो।

कांग्रेसबाट प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा संसदीय दलका नेता बहादुरसिं लामा, खानेपानी उर्जा तथा सिंचाईमा तीर्थबहादुर लामा, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा पुकार महर्जन, स्वास्थ्य मन्त्रालयमा उत्तम जोशी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मसिना खड्काले सम्हाल्दै आएका छन्। मन्त्रालय पछि तोकिने भनिएका चित्रकार अझै जिम्मेवारविहीन छन्। मन्त्री नियुक्त भएदेखि उनले हालसम्म न बजेट निर्माणमा सहभागी हुन पाए न त कुनै विषयमा निर्णायक भूमिकामा नै छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक कोठामा एकजना स्वकीय, एक अधिकृत स्तरका कर्मचारी (निजी सचिव) र सुरक्षाकर्मी लिएर बसिरहेका छन्। विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि प्रदेशमा एक मन्त्रालय थप्नुपर्ने अवस्था रहेको छ। एक त मुख्यमन्त्री जमरकट्टेलले मन्त्री सङ्ख्या बढाएर आफ्नै अडान र निर्णयको विरुद्ध गैसकेको अवस्थामा अब चित्राकारलाई कुन मन्त्रालयको जिम्मेवारी दिन्छन् भन्ने धेरैको चासो रहेको छ। जमरकट्टेलले मुख्यमन्त्री नियुक्त भएसँगै १४ वटा मन्त्रालयलाई घटाएर ११ बनाउने निर्णय गरेका थिए। अहिले एक विनाविभागीय सहित १२ मन्त्री रहेका छन्। कांग्रेसले मन्त्री चित्रकारको जिम्मेवारीका विषयमा कांग्रेसले भौतिक मन्त्रालयको विभाजनको प्रस्ताव अघि सारेको छ। कांग्रेसको यस प्रस्ताव माओवादी केन्द्रले नमानेको बताइएको छ।

राजीनामा दिने तयारीमा चित्राकार

केही दिन भित्रमा आफ्नो जिम्मेवारी नतोकिए मन्त्री चित्राकारले पदबाट राजीनामा दिने निकटस्थहरुलाई बताउँदै आएका छन्। करिब ७० दिनसम्म विना विभागीय बस्नु परेको भन्दै उनले नजिककाहरुसँग गुनासो गर्दै आएका छन्। आफू काम गर्नका लागि मन्त्री भएको दावी गर्दै उनले कामै गर्न नपाउने पदमा बसिरहनुको कुनै अर्थ नभएको बताउँदै आएका छन्। ‘मुख्यमन्त्रीले मन्त्रालयको विषयमा अझै निर्णय गर्नुसक्नु भएन। नाम मात्रको मन्त्री भएर बस्नुको कुनै अर्थ रहँदैन’, चित्राकारले भन्ने गरेका छन्, ‘केही दिनमै जिम्मेवारी दिने भनेकोले मैले मन्त्री पद स्वीकार गरेको थिएँ। केवल अल्झाउने काम मात्र भैरहेको छ। यस्तै अवस्था रहने र केही दिनमा जिम्मेवारी तोकिएन भने राजीनामा दिनेछु।’ कांग्रेसले दलीय सहमति बमोजिम गठबन्धनका बैठकमा चित्राकारको जिम्मेवारी तोक्न आग्रह गर्दै आएको छ। कांग्रेसले निर्णय गरेर पठाइसकेको भएपनि मुख्यमन्त्रीबाटै जिम्मेवारी दिन ढिलाई भएको बताइएको छ। यस विषयमा कांग्रेस संसदीय दलले समेत अडान लिन नसकेको भन्दै प्रश्न उठ्न थालेको छ। सपथको समयमै २÷४ दिनमा विभागीय जिम्मेवारी तोक्ने भनिएपनि त्यसो हुन नसकेको भन्दै चित्राकार रुष्ट भएका छन्।  

प्रकाशित: १६ श्रावण २०८० १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App