९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सुन तस्करीमा राजनीतिको जलप

नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन। बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्। पछिल्लोपटक भारत लैजाने तयारीमा रहेको करिब सय किलो सुन बुधबार काठमाडौंको सिनामंगलबाट बरामद भए पनि राजनीतिको जलप लगाइएका कारण यसका वास्तविक खेलाडी पत्ता लाग्ने सम्भावना न्यून छ।  

विगतदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर तेस्रो मुलुकबाट अवैध रुपमा ल्याइने सुन भारत जाने गरेको छ। सुन तस्करी खुला सत्य भए पनि मौसमी रुपमा मात्र चर्चामा आउँछ। यसपटकको सुन बरामद पनि संयोग मात्र हो वा नियोजित, अझै खुलिसकेको छैन।  

केही दिनअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर आएका नवराज ढुंगानाले सुन तस्करीको सूचना सम्बन्धित निकायलाई दिए पनि कोही समातिएका थिएनन्। संयोगले यही विभागको सक्रियतामा बुधबार सुन बरामद भएको छ। आफू विभागमा आउनुअघि नै सुन तस्करीबारे सूचना पाएका उनले यसबारे सम्बन्धित निकायलाई जानकारी गराएको बताएका छन्। तैपनि यसमा कुनै कारबाही भएको थिएन। उनले त्यतिबेला भन्सार विभाग, विमानस्थल भन्सार कार्यालय, गृह मन्त्रालय र त्यस मातहतका निकायलाई पनि खबर गरेका थिए। तर उनी आफैं विभागको महानिर्देशक भएपछि मात्रै ठुलो परिमाणमा सुन बरामद भयो। प्रधानमन्त्री कार्यालयमा रहेका उनलाई गत असारमा मात्रै विभागको महानिर्देशक बनाइएको थियो। उनी महानिर्देशक भएपछि उनलाई आएको सूचना पुष्टि हुनेगरी मंगलबार साँझसम्म विमानस्थलमा ठूलो परिणाममा सुन आएको पत्ता लाग्यो र अप्रेसन सुरु भयो।

पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणबाहेक सुन तस्करीमा राजनीतिक नेतृत्व संलग्न भएको पुष्टि प्रहरी र राजस्व अनुसन्धान विभागले गर्न सकेको अवस्था छैन।

हङकङबाट काठमाडौंस्थित रेडी ट्रेडर्सका नाममा उक्त सुन ल्याइएको थियो। सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको बताइए पनि उनी को हुन् भन्नेबारे अन्योल छ। सुन तस्करीमा संलग्न संगठित गिरोहमा विभिन्न पार्टीका उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो हुनसक्ने अनुमान गरिएको छ। सुरक्षा अधिकारीहरू पनि राजनीतिक संरक्षण र सहयोगबिना यतिधेरै परिमाणमा सुन तस्करी गर्नसक्ने हिम्मत कोही कसैमा नहुने दाबी गर्छन्।  

पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणबाहेक सुन तस्करीमा राजनीतिक नेतृत्व संलग्न भएको पुष्टि प्रहरी र राजस्व अनुसन्धान विभागले गर्न सकेको अवस्था छैन। तर पनि विभिन्न समयमा बनेका आयोग र प्रतिवेदनमा भने राजनीतिक दल निकट नेता कार्यकर्ता सुन तस्करीमा संलग्न रहेको तथ्य कायमै छ।

पछिल्लोपटक तस्करले हङकङबाट काठमाडौं सुन ल्याए पनि यसमा कोको संलग्न छन् र यति ठुलो परिमाणको सुन कसले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले बताए। ‘अनुसन्धान भैरहेको छ। भर्खर सुन बरामद भएको छ। मान्छे पक्राउ गर्ने र अनुसन्धान गर्ने काम भैरहेको छ’, उनले नागरिकसँग भने। उनले सुन तस्करीमा राजनीतिक संलग्नता भएनभएको अनुसन्धानबाटै खुल्ने जानकारी दिए।  

विगतदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर तेस्रो मुलुकबाट अवैध रूपमा ल्याइने सुन भारत जाने गरेको छ । सुन तस्करी खुला सत्य भए पनि मौसमी रूपमा मात्र चर्चामा आउँछ । यसपटकको सुन बरामद पनि संयोग मात्र हो वा नियोजित, अझै खुलिसकेको छैन ।

पछिल्लोपटक बुधबार बरामद करिब एक सय किलो सुनको विषयमा विस्तृत खुल्न बाँकी छ। तर यसअघि २०७४ सालमा सनम शाक्य हत्या प्रकरण र ३३ किलो सुन तस्करी छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा २०७४ चैत २० गते मन्त्रिपरिषद्ले ३३ किलो सुन तस्करीबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा नौ सदस्यीय समिति बनाएको थियो। सो समितिले उठाएका कतिपय विषयमा सरकार मौन रह्यो भने एउटा चरणमा पुगेपछि अनुसन्धान नै रोकिएको थियो।  

त्यतिबेला तस्करीमा सुन व्यापारको आवरणमा देखिएका जग्गा कारोबारी भारतीय व्यापारी र कतिपय राजनीतिक व्यक्तिसमेत मुछिएका थिए। केही प्रहरीले सुन तस्कर गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि जागिरबाटै हात धुनुपरेको थियो। राजनीतिक दलका प्रमुख चन्दादातासमेत रहेका व्यापारीसमेत सुन तस्करीमा जोडिएपछि अनुसन्धान रोकिएको हो। हालसम्म रोकिएकै छ।

‘३३ किलो सुन तस्करीबारे अनुसन्धान गर्न बनेको समितिले त हाउजिङ व्यवसायीदेखि नेतासम्मको तस्करी धन्दालाई बाहिर ल्याउने कोसिस गरेको थियो तर त्यो अनुसन्धान कसको रुचिमा रोकियो भन्ने अहिलेसम्म खुलेको छैन’, अनुसन्धानलाई बाहिरबाट नियालिरहेका पूर्वडिआइजी हेमन्त मल्लले भने। मल्लका अनुसार धेरै नेता र व्यापारीको पोल खुल्ने भएपछि राजनाीतिको उपल्लो तहबाटै अनुसन्धान रोकिएको थियो। ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा विमल पोद्दार, महावीर गोल्यान, राजकुमार दारुका, सञ्जय खेतान, प्रभात अग्रवाललगायतका व्यापारी पक्राउ परेका थिए।  

केही प्रहरीले सुन तस्कर गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि जागिरबाटै हात धुनुपरेको थियो। राजनीतिक दलका प्रमुख चन्दादातासमेत रहेका व्यापारीसमेत सुन तस्करीमा जोडिएपछि अनुसन्धान रोकिएको हो। हालसम्म रोकिएकै छ।

यो समूहले मात्रै ३८ क्विन्टलसम्म सुन तस्करी गरेको खुलासा भएको थिया। यस समूहमा भुजुङ गुरुङसमेत जोडिएका थिए। तस्कर भरियाका नाइके चूडामणि उप्रेती गोरे देखिएका थिए। भुजुङ र पोद्दार सुन तस्करीमा पटकपटक जोडिने गरेका छन्। भुजुङ राप्रपा निकट रहेको त्यतिबेला खुलेको थियो। भुजुङ २०६९ असोज १९ गते सवा करोड विदेशी मुद्रासहित समातिएका भारतीय नागरिक विनोदकुमार सोनीको मुद्दामासमेत जोडिएका थिए। सोनी पक्राउ परेपछि उनले बोकेको रकम सुन तस्करीमा लगाइएको खुलेको थियो।

यो घटनामा सिल्भर सिटीका पोद्दार, दरबारमार्गमा रहेको तत्कालीन इविसु ज्वेलर्सका मुरारीलाल जमालियासमेत जोडिएका थिए। राजकुमार दारुका, आरके ज्वेलर्सका राजेन्द्र शाक्यसमेत उक्त सुन तस्करीमा जोडिएका थिए। ३३ किलो सुन तस्करीबारे अनुसन्धान अगाडि बढ्दै जाँदा पोद्दार पक्राउ परेपछि उच्च राजनीतिक तहबाटै समितिलाई अनुसन्धान रोक्ने निर्देशन भएको थियो। ‘अहिलेको अवस्था हेरौं न विमानस्थलमा भन्सार विभाग र सुरक्षा घेरा तोडेर सुन बाहिरिएको छ। एकपटक मात्र होइन, पटकपटक भन्ने आएको छ। यो काम एउटा व्यक्ति, एउटा व्यापारी, एउटा कर्मचारीले मात्रै गर्न सक्छ त भन्ने प्रश्न उठ्न थालेको छ’, पूर्वडिआइजी मल्लले भने।  

२०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा (सुर्खेत) र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य नरबहादुर गुरुङ (लमजुङ) ले हङकङबाट अवैध रूपमा सुन ल्याएका थिए। अवैध रूपमा सुन ल्याउँदाल्याउँदै उनीहरू समातिएका थिए। त्यसपछि नेपालमा सुन तस्करीको धन्दा उकालो लाग्दै गएको देखिन्छ। सुन तस्करीमा राजनीतिक नेतृत्व र शक्तिशाली व्यक्तिहरू संलग्न रहेको खुलेको थियो। २०४४ सालमा तत्कालीन अधिराजकुमार धीरेन्द्रका अंगरक्षक भरत गुरुङ र तत्कालीन आइजिपी डिबी लामा सुन तस्करीमा पक्राउ परेका थिए। यसले सुन तस्करीमा उच्च तहको संलग्नतालाई थप पुष्टि गरेको थियो। मुलुकमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि पनि त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको विषयमा पटकपटक समाचार आएका छन्। तर तस्करी घट्नुको साटो बढिरहेको छ।

तत्कालीन सञ्चार उद्यमी तथा व्यापारी जमिम शाह हत्याको छानबिन गर्न गठित आयोगमा प्रकाश टिवडेवालले सुन तस्करीमा उच्च पदस्थ व्यक्तिको संलग्नता रहेको बयान दिएका थिए। मोतीलाल बोहरा आइजिपी हुँदा (२०४९–५३) जमिमले विमानस्थलबाट सुन तस्करी गरेको टिवडेवालले बताएका थिए। अनिश इब्राहिम (दाउदका भाइ) ले दुबईबाट काठमाडौंमा सुन पठाउने गरेको र त्यसको व्यवस्थापन जमिमले गरेको बयानमा उल्लेख छ। तत्कालीन गृहमन्त्री वामदेव गौतमको नाम पनि उनले लिएका थिए। सेप्टेम्बर ३, २००८ मा पठाइएको अमेरिकी सरकारको केबलमासमेत गौतम सुन तस्करीमा संलग्न भएको उल्लेख गरिएको छ। टिवडेवालले सुनको लाइनवाला समूहले सरकार बनाउनेदेखि ढाल्नेसम्मको काम गरेको बयान दिएका थिए। त्यसपछि कांग्रेस नेता खुमबहादुर खड्कालाई समेत सुन तस्करीमा मुछिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की पनि सुन तस्करीमा मुछिएका थिए। उनले आफू अख्तियार प्रमुख भएपछि विमानस्थलमै टोली खटाएर तस्करीको सहजीकरण गरेका थिए।  

तत्कालीन गृहमन्त्री वामदेव गौतमको नाम पनि उनले लिएका थिए। सेप्टेम्बर ३, २००८ मा पठाइएको अमेरिकी सरकारको केबलमासमेत गौतम सुन तस्करीमा संलग्न भएको उल्लेख गरिएको छ।

त्यतिमात्र होइन, अर्थमन्त्री हुँदा विमानस्थलबाट सुन तस्करीमा संलग्न भएका रविन्द्रनाथ शर्मा मरणोपरान्त अदालतबाट दोषी ठहर भएका थिए। २०६२÷०६३ साको आन्दोलनपछि नेकपा माओवादी सरकार जाँदा त्यो पार्टीका नेता कार्यकर्ता पनि सुन तस्करीमा मुछिए। २०७४ भदौमा सिआइबीद्वारा १५ किलो सुन बरामद भएपछि सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका तत्कालीन प्रमुख राजकुमार पौडेल फरार भएका थिए। उनी माओवादी निकट थिए। उनी मात्र होइन, माओवादीका उपल्लो तहका नेताहरू पनि सुन तस्करीमा मुछिएका थिए। तर प्रहरीले प्रमाण अभावमा पक्राउ गर्न सकेको थिएन। गत पुस १० गते त्रिभुवन विमानस्थलमा ल्याइएको तस्करकिो ९ किलो सुनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको संलग्नता रहेको कुरा बाहिर आएको छ। तर प्रहरीले उनीहरूसँग बयानसम्म लिने आँट गरेको छैन।  

२०४८ सालमा भएको संसदीय निर्वाचनपछि बनेको सरकारले झिटीगुन्टा तथा भारी आदेशअन्तर्गत विदेशबाट फर्किंदा भन्सार छुटमा केही सुन ल्याउन पाउने व्यवस्था गरेपछि राजनीतिक आडमा सुन तस्करी मौलाएको घटनाक्रमबाट पुष्टि हुन्छ। त्यसयता विभिन्न समयमा झिटीगुन्टा तथा भारी आदेश संशोधन हुँदै आएको छ।।  

सुन तस्करी रोक्न सुरक्षाकर्मी परिचालन गरिए पनि भरियाबाहेक अरू पक्राउ परेका छैनन्। ३३ किलो सुन तस्करी गर्ने समूहका नाइके गुप्तलाल (रोशन), छवि भुसाल, हरि खड्का भएको सिआइबीले जनाएको थियो। भुसाल अहिले दुबईमा बस्दै आएका छन्। खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुनपसलका मालिक हुन्। लगानी गर्ने चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेल सुन तस्करका खेलाडी हुन्। गोरे अहिले केन्द्रीय कारागारमा छन्।  

हङकङबाट आएको सुन कहाँ जान्छ

चीनको हङकङ एयरपोर्टबाट नेपालको बाटो हुँदै भारततर्फ जाने सुन भारतीय व्यापारीले खरिद गर्छन् कि गर्दैनन् भन्ने प्रश्न उठेको छ। खासमा भारतीय व्यापारीहरूले पनि यसरी अवैध रूपमा भित्रिएको सुन खरिद गर्दैनन्। गत पुसमा भारतको राजस्व अनुसन्धान विभाग (डिआरआई) ले भारतमा सबैभन्दा बढी सुन म्यानमार र बंगलादेशबाट आउने भए पनि पछिल्लो समय भारतमा नेपाल स्थलमार्गबाट सुन ल्याउने क्रम बढेको जनाएको थियो। त्यसमा नेपाली सुरक्षा निकायले लापरबाही गरेको जनाइएको थियो।

त्यसपछि राजस्व छलीसम्बन्धी अनुसन्धान गर्ने डिआरआईले गत फागुन पहिलो साता चलाएको अपरेसन ‘गोल्डेन डाउन’मा नेपाल हुँदै गएको १०१ किलो सुन बरामद गरेपछि त्यो सिधै ‘अन्डरवल्र्ड’ समूहमा पुगेको संकेत गरेको थियो। त्यतिबेला डिआरआईका अनुसार झन्डै ५१ करोड भारतीय रूपैयाँ बराबरको सुन बरामद हुँदा यसमा संलग्न १० जना पक्राउ परेका थिए। तीमध्ये सात जना सुडानी नागरिक थिए। त्यो सुन नेपाली रुटबाट गएको थियो। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतसम्म पु¥याएको त्यो सुन सिधै मुम्बई लैजाने र त्यहाँ अन्डरवल्र्डसँग सम्बन्धित एक व्यक्तिलाई भेट्ने बताएपछि भारतीय अधिकारीहरू झस्किएका थिए।

उनीहरूले त्यसको जानकारी सिधै नेपालस्थित भारतीय दूतावासलाई गराएका थिए। त्यसयता भारतीय सुरक्षा अधिकारीहरूले नेपालबाट सुन तस्करी हुने विषयलाई चासोका साथ लिँदै आएको छ। यसपटकको यो बरामदी पनि आन्तरिक कारणले भन्दा पनि बाह्य दबाब हो कि भन्ने आशंका गरिएको छ। फागुनयता भारतले नेपाली सुरक्षा अधिकारीहरूसँग सो विषयमा चासो राखेका थिए। तर त्यसले कुनै परिणाम नदिएपछि प्रधानमन्त्रीकै तहमा पनि चासो राखेको स्रोतको दाबी छ। 

त्यसअघि विमानस्थल भन्सार कार्यालयले पुस ८ मा जाँचका क्रममा एक सुडानी नागरिकका साथबाट १९ किलो सुन बरामद गरेर अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई पठाएको थियो। फ्लाई दुबईको उडान नम्बर एफ २५३९ बाट आएका सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दनको साथमा अर्धठोस पदार्थका रूपमा रहेको सुन बरामद गरेपछि अनुसन्धानका लागि पठाइएको थियो। त्यही समूहका व्यक्तिलाई भारतीय अधिकारीहरूले १०१ किलो सुनसहित भारतमा पक्राउ गरेको थियो। इन्डियन रेभिन्यु इन्टेलिजेन्सले नेपालका अधिकारीहरूलाई सूचना दिइरहेका थिए।

चीनबाट नेपाल आएको सुनलाई भारतीय सीमा कटाएबापत नेपाली बिचौलिया र भरियाले प्रतिकिलो २ लाख पाउने गरेका छन्। उनीहरूले विमानस्थलबाट आएको सुनलाई थोरै थोरै परिणाममा भारत पुर्याउने गरेका छन्। नेपालबाट विमानस्थल हुँदै पोखरा, भैरहवा, सुनौली नाकासम्म पुग्ने गरेको जानकारहरूको दाबी छ। त्यति मात्र होइन, कञ्चनपुरबाट पनि भारततर्फ सुन जाने गरेको छ। उनीहरूले विमानस्थलदेखि नेपालको नाका कटाएबापत २ लाख पाउने भएकाले पनि नेपाली बिचौलिया र भरियाहरू सुन तस्करीको सहयोगी बन्ने गरेको प्रहरीले विभिन्न समयमा गरेको अनुसन्धानबाट देखिएको छ। यसमा भारतीय समूहमा नेपालमा सुन अनि घरजग्गा कारोबारमा संलग्नसँगै प्रहरीसमेत जोडिने गरेका छन्। राजनीतिक रूपमा भारतीय सुन तस्कर समूहसँग राजनीतिक दलका नेताहरूसँग जोडिने गरेको र भारतमा नोटबन्दी सुरु भएपछि भारतीय समूह तस्करीमा संलग्न भएको हो। उनीहरू पटकपटक तस्करी गर्छन् तर सानो परिमाणमा संगठित रूपमा भन्सारदेखि प्रहरीसम्म सेटिङ मिलाउँदै भारततर्फ सुन लैजाने गरेका छन्।

भारतमा घुस लिनेहरूले नगदभन्दा सुनमा रुचि राख्ने भएका कारण पनि यसको तस्करी बढेको जानकारहरू बताउँछन्। तस्करीमा चिनियाँ समूहको अधिकांश सुन तस्करी भएको तथ्य नेपाल प्रहरीले बाहिर ल्याए पनि यसपटक राजस्व अनुसन्धान विभागले त्यो काम गरेको हो। केही महिनाअगाडि इलेक्ट्रिक चुरोट (भेप) को आवरणमा भित्रिएको नौ किलो सुन भन्सार हुँदै प्रहरीमा आएका आधारमा सो तस्करी चिनियाँ नागरिकले गराएको प्रहरीको सिआइबीले खुलाएको थियो। नेपाली कम्पनी दर्ता गरेर हवाईमार्गबाट अन्य वस्तुको आयातको आवरणमा मंगलबार सुन भित्रिएको देखिँदा भन्सारमा मिलेमतो देखिनु, प्रहरी युनिटहरू बरामद र अनुसन्धानमा संलग्नै नहुनु, राजस्व अनुसन्धान विभागले प्रारम्भदेखि नै अनुसन्धान गर्नुले चिनियाँ समूहको संलग्नता रहेको पुष्टि भएको स्रोतको दाबी छ। विगतमा तस्करहरूले चीनको खासाबाट भित्रिने विभिन्न सामान र कपडाहरूमा लुकाएर सुन नेपाल ल्याउने गरेका थिए।

सिन्धुपाल्चोकको तातोपानी सुन तस्करहरूको ट्रान्जिट प्वाइन्टका रूपमा चिनिँदै आएको थियो। २०७१ मंसिरदेखि माघसम्म मात्र बरामद भएके झन्डै ४५ किलोभन्दा बढी अवैध सुन तातोपानीबाटै भित्रिएको भयो। पुरानो इतिहास हेर्ने हो भने तातोपानी नाका हुँदै नेपाल ल्याइएको अवस्थामा बाह्रबिसेबाट २०५८ पुस २३ गते पहिलोपटक एक किलो सुन प्रहरीले बरामद गरेको थियो। त्यसयता सोही नाकाबाट भित्रिएको सुन विभिन्न परिमाणमा पटकपटक बरामद भइसकेको छ। त्यस नाकाबाट २०७१ माघसम्म करिब २०० किलो सुन अवैध रूपमा नेपाल ल्याइँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। २०७१ सालपछि अहिलेसम्म सोही नाकाबाट थप १५० केजी सुन बरामद भएको छ।

त्यसैगरी २०७४ भदौ १९ गते तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीको नेतृत्वमा रहेको प्रहरी टोली ८८ केजी सुन बरामद भएको थियो। त्यसको अनुसन्धान अझै बाहिर आएको छैन। सो दिन राजधानीको क्षेत्रपाटीबाट उक्त परिमाणको सुनसहित बा१७च ६४२७ नम्बरका गाडी चालक मनोज अधिकारी पक्राउ परेका थिए। सो सुन रसुवाको केरुङ नाकाबाट ल्याइएको थियो।

प्रकाशित: ५ श्रावण २०८० ००:५९ शुक्रबार

सुन तस्करीमा राजनीतिको जलप सुन तस्करी