विरगञ्ज – राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका राजेन्द्र महतोले मधेसी लगायत उत्पीडत जनताको हक अधिकार मिचेर संविधान ल्याइएको र त्यसमा ठप्पा लगाउनैका लागि निर्वाचन थालिएको भन्दै यसलाई सफल हुन नदिने बताएका छन्।
‘हामी चुनावमा जान चाहिरहेका छौं, हाम्रो आग्रह हो, सरकार हाम्रो लागि निर्वाचनको ढोका खोल !’ वीरगन्जको घण्टाघर चोकमा सो पार्टीले आयोजन गरेको खुल्ला पत्रकार सम्मेलनमा बुधवार बोल्दै महतोले भने, ‘सरकारले र सतारुढ गठबन्धनले एमालेले मानेन् भन्ने बाहाना बनाई रहेको छ, विभेदकारी संविधान ल्याउने गल्ती तीनै दल मिलेर गरेका हुन, अब सच्याउने काममा पनि तीनै दल मिल्नु पर्छ ।’ आफ्नो पार्टीले मधेसी जनतासँग मिलेर थालेको आन्दोलनलाई बेवास्ता गर्दै सरकारले असार २ मा बलजफ्ती उम्मेदवारी मनोनयन गराए त्यही दिनदेखि देश एउटा ठूलो द्वन्द्वमा धकेलिने उनले चेतावनी दिए ।
‘त्रुटीपूर्ण संविधानको विरोधमा सुरु भएको आन्दोलन लक्ष्यमा पुगेको छैन्, संविधानमा सुधारका लागि हामीले संघर्ष गरिरहेका छौं,’ महतोले थपे, ‘जनता हामीसंग छन्, उता काठमाडौं केन्द्रीत मिडिया मधेस चुनावमय भइसकेको भनी गलत प्रचार गरीरहेको छ, ।’
राजपा बटमलाइन
राष्ट्रिय जनता पार्टको बटमलाईन नफेरिएको महतोले बताए । ‘संविधानभित्र हक माग्दै सुरु भएको आन्दोलन नै अहिले चलिरहेकोले संविधान संशोधन नै प्रमुख बटमलाइन हो,’ महतोले भने, ‘आन्दोलनकारीहरु उपरलगाइएको झुठो मुद्दा फिर्ता लिएर टिकापुरदेखि झापासम्मका सयौं विस्थापित थारु र मधेसीहरुलाई सरकारले घर फर्किने आधार बनाइदियोस, आन्दोलनमा सरकारी सुरक्षाकर्मीले घाइते बनाइदिएको हजारौंको बिच्चली छ, उनीहरुको उपचार र भरणपोषको व्यवस्था सरकारले गरोस् र, यसमा संसदको दुई तिहाइ पनि चाहिदैन्, सरकारले नै गरिदिए हुन्छ ।’ त्यस्तै स्थानीय तहको निर्धारण जनसंख्याको आधारमा नगरी बेइमानी गरिएको भन्दै त्यसलाई सच्याउन आफूहरुको मागमा सामेल रहेको महतोले बताए । आफूहरुले चुनाव लक्षित आन्दोलन गरीरहेकोले सरकारले निर्वाचनको कार्यक्रम रोकेमा आफूहरुको आन्दोलनको कार्यक्रम पनि फेरिने उनले बताए ।
‘असार १४ मा निर्वाचन नहुदैमा केही बिग्रिदैन्, देउवा जीको सरकार पनि खस्दैन्, बरु देश बाँच्छ, तीनै तहको निर्वाचनको लागि अन्तिम मिति भनेको २०७४ माघ ७ हो, असार १४ होइन्,’ महतोले भने, ‘हामी चुनावबाट भागेका होइनौ, न चुनाव बिरोधी हौं, मधेसका मागहरुको सुनुवाई गरिदिएर संगसैगै हामीलाई पनि लिएर हिड्नु पो भनेका हौं ।’
उपेन्द्र यादव निशानामा
पछिल्लो समयमा राजपाका कार्यकर्ताले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललक्षित बिरोध गरीरहेकोलाई महतोले स्वभाविक भने । ‘यो स्वभाविक हो, हिजोसम्म संविधान संशोधन होइन, पुर्नलेखन चाहिन्छ भन्ने आज गएर केपी ओलीको नयाँ अवतारको रुपमा देखा पर्ने ? आन्दोलनमा होमेर मधेसी जनतालाई गोलीले मर्न लगाएर, बीचैमा भागेपछि आक्रोश त भइहाल्छ नी ? केका लागि जनताले सहादत दिए, मेयर र गाउँपालिका प्रमुख भएर मालाई खानको लागि ?’
उपेन्द्र यादवले मुद्दा छोडी अहिले आन्दोलनको विरोधमा बोल्न थालेको भन्दै उनको मानसिक सन्तुलन बिग्रेको राजेन्द्रले आरोप लगाए । ‘एउटा राम्रो मानसिक स्वास्थ्य भएका मधेसी नेताले त्यसता कुरा गर्दै–गर्दैन । हिजो केपी ओलीले मधेसी जनतालाई पारीबाट आएको भने आज उपेन्द्रले भन्दैछन्,’ महतोले जोडे, ‘बद्मासी गर्नेलाई जनताले छोड्दैन् ।’
प्रकाशित: ३१ जेष्ठ २०७४ १२:३९ बुधबार