७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस बैठकमा आरोप–प्रत्यारोप

शुक्रराज शर्मा,

नेपाली कांग्रेसका नेताहरू बदलिएको अवस्थामा पार्टीलाई कसरी नयाँ ढंगबाट सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित हुनुको साटो एकअर्काप्रति आरोप–प्रत्यारोपमा सक्रिय भएका छन्। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन भएको आठ महिनापछि मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार धारणा राख्ने क्रममा सदस्यहरू आरो–प्रत्यारोपमा उत्रिएका हुन्। आफूलाई अब्बल र अरूलाई कमजोर साबित गर्ने प्रयासमा सदस्यहरू प्रस्तुत भए। सदस्यहरूले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न पनि माग राखे।

पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको जनाउँदै केन्द्रीय सदस्यहरूले यस्तै अवस्था रहिरहे संस्था होइन, व्यक्ति मात्र बाँकी रहने र संगठन कमजोर बन्ने धारणा राखे। उनीहरूले सभापति शेरबहादुर देउवासँगै पदाधिकारीहरूको पनि आलोचना गरे। गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अहिले संस्था होइन, व्यक्तिलाई मात्र बलियो बनाउने प्रयास भएको बताए। आन्तरिक द्वन्द्व र टाउको गन्ने प्रवृत्तिले कांग्रेस संगठन कमजोर भएको आरोप उनले लगाए। ‘संस्था बलियो नभएसम्म व्यक्ति बलियो भएर केही हुँदैन,’ उनले भने, ‘पार्टी संस्थागतरूपमा नचलेसम्म कुनै व्यक्तिको पछाडि हुल लागेर केही हुँदैन।’

सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीमा संगठन निर्माण गर्नेभन्दा आफू र आफ्नो मान्छे बनाउने प्रवृत्ति बढेको आरोप लगाए। यो प्रवृत्तिले पार्टी संगठन कमजोर हुँदै गएको धारणा राख्दै बलायरले केन्द्रीय सदस्य र पदाधिकारी अनुशासनमा बस्नुपर्ने कि नपर्ने भन्ने प्रश्न गरे। पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै बलायरले भने, ‘एकअर्कालाई हिलो छ्याप्ने प्रवृत्ति अन्त्य नभएसम्म पार्टी संगठन बलियो हुन सक्दैन।’

केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले पार्टीका कार्यक्रमसम्बन्धी जानकारी सञ्चारमाध्यमबाट थाहा पाउनुपरेको गुनासो पनि गरे। केन्द्रीय सदस्य नैनसिंह महरले महामन्त्री र केन्द्रीय कार्यालयले आफूखुसी जिल्ला सभापतिहरूको भेला गरेको आरोप लगाए। पदाधिकारीसहित पार्टीका विभिन्न संरचनाहरूबीच समन्वय अभाव रहेको उनले औंल्याए।  

‘कोसी प्रदेश नामकरणका विषयमा पार्टी किन मौन ? त्यहाँ किराँत जागेका छन्, उनीहरूले पहिचानसहितको प्रदेश नाम मागिरहेका छन्।’

बैठकमा सभापति देउवा निकट केन्द्रीय सदस्यहरू महामन्त्रीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए। केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले दोषजति सबै सभापतिलाई मात्रै थोपरेर उम्कने काम नगर्न आग्रह गरे। सबैले आ–आफ्नो काम कर्तव्यप्रति हेक्का राख्नुपर्ने धारणा राख्दै उनले भने, ‘दोषजति सबै सभापतिको टाउकोमा थोपरेर बाँकी सबै निर्दोष भन्ने हुँदैन कि?’

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयलाई आफ्नो कार्यशैली सुधार गर्न आग्रह गरिन्। कांग्रेसलाई सुधार्नेगरी अभियान चलाउन आग्रह गर्दै उनले भनिन्, ‘दायरा फराकिलो बनाउनुहोला, सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूको पनि विकल्प खोज्न नपरोस्।’

बैठकमा पार्टीका भ्रातृ संगठनहरू गठनका विषयमा केन्द्रीय सदस्य र प्रदेश सभापतिलाई कुनै पनि जानकारी नदिइएकाप्रति पनि असन्तुष्टि पोखियो। पार्टीका तहगत संरचनालाई बेवास्ता गर्दै नेताहरूले आफ्ना खल्तीका मान्छेलाई जिम्मेवारी दिएको गुनासो केन्द्रीय सदस्यहरूले गरे। मधेस प्रदेशका सभापति रामकृष्ण यादवले पार्टी संगठन र आफूविरुद्ध सक्रिय रहेका व्यक्तिलाई भ्रातृ संगठनका कार्यसमितिमा राखिएको भन्दै आपत्ति जनाए।  

भ्रातृ संगठनहरूलाई तत्काल पूर्णता दिन आग्रह गर्दै केन्द्रीय सदस्य उर्मिला थपलियाले भनिन्, ‘भ्रातृ संगठनलाई पूर्णता दिँदा, पद दिँदा घरको अंश काटेर दिएँ भन्ने सोचबाट माथि उठ्नुपर्छ। हरेक कुरामा पारदर्शी भएमात्र पार्टी चलायमान र बलियो हुन सक्छ।’  

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कोसी प्रदेशको नामकरणका विषयमा पार्टीको मौनताप्रति असन्तुष्टि जनाए। ‘त्यहाँ किराँत जागेका छन्, उनीहरूले धेरै केही मागेका छैनन्,’ उनले भने,  

‘आफ्नो पहिचानसहितको प्रदेशको नाम मागिरहेका छन्। कांग्रेस चुप्प छ। अहिलेकै अवस्थामा कांग्रेस चुनाव नलडे हुन्छ, भोट पनि पाउँदैन।’

केन्द्रीय सदस्य रामहरि खतिवडाले संसद्मा पार्टीका शीर्ष नेताहरूको उपस्थिति पातलो हुँदा प्रतिनिधिसभामा विपक्षी हाबी भएको जस्तो देखिएको टिप्पणी गरे। केन्द्रीय सदस्य राधा घलेसहित केहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणको बचाउमा धारणा राखेका थिए।  

कर्णाली प्रदेश सभापति ललितजंग शाहीले निर्वाचनमा अनुशासन उल्लंघन गरेकालाई विधानअनुसार कारबाही हुनुपर्नेमा जोड दिए। केन्द्रीय सदस्य जीवनबहादुर शाहीले २००७ र २०१७ सालको इतिहास बेचेर कांग्रेसलाई युवा पुस्ताले नपत्याउने बताए। उनले युवा पुस्तालाई आकर्षित गर्न पार्टीले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताए।

प्रदेश सभापति रुष्ट

बैठकमा प्रदेश सभापतिहरूले संघीयताको वकालत गर्ने पार्टीले विधान र संविधानको मर्मअनुसार संघीयताको अभ्यास नगरेको गुनासो गरेका छन्। पार्टी केन्द्रीय समितिले तल्लो तहसम्म काम गर्ने भए प्रदेश संरचना खारेज गर्न पनि उनीहरूले आग्रह गरे। लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले मुलुकको संघीय व्यवस्थामै प्रश्न उठिरहेका बेला पार्टीमा समेत त्यसको असल अभ्यास हुन नसकेको आरोप लगाए। संघीयताकै विषयमा प्रश्न उठिरहेको अवस्थामा पार्टीले प्रदेश संरचनालाई भुलेको गुनासो गर्दै उनले भने, ‘प्रदेशलाई अधिकार दिन, भूमिका दिन नचाहेको हो वा विश्वास नभएको हो? त्यसो हो भने प्रदेश संरचना खारेज गरौं, होइन भने तहगत संरचनाका अधिकारलाई स्थापित गरौं।’

पार्टीका तर्फबाट महामन्त्री गगन थापाले मंगलबार प्रस्तुत गरेको एक वर्षे कार्यक्रममा प्रदेश संरचनालाई कतै नसमेटिएको भन्दै प्रदेश सभापतिहरूले असन्तुष्टि पोखे।  

‘तीन तहका सरकार र पार्टीबीचमा समन्वय अभाव छ। संविधान र विधानअनुसार गठन भएको प्रदेश संरचना कांग्रेसको प्राथमिकतामा परेन,’ वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले भने, ‘प्रदेश संरचना आवश्यक छैन भने खारेज गरौं, होइन भने विधानअनुसारका संरचनालाई कामकाजी बनाऊँ।’ बुधबारको बैठक ४६ जनाले धारणा राखेका छन्। बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने छ।

प्रकाशित: ४ श्रावण २०८० ०१:०४ बिहीबार

कांग्रेस बैठकमा आरोप–प्रत्यारोप