१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

दलभित्र असन्तुष्ट मिलाउन सकस

बुटवल- तिलोत्तमा नगरपालिकामा कांग्रेसले मेयरमा उम्मेदवार टुंगो लगाइसकेको थिएन। उम्मेदवारका आकांक्षीहरू काठमाडौंमा शीर्ष नेताको घरदैलो चहार्दै थिए। मेयरको टुंगो नलाग्दै कांग्रेसले एमालेलाई टक्कर दिन भन्दै राष्ट्रिय जनमुक्ति पाटीसँग तालमेल गर्ने निर्णय गर्‍यो। उपमेयर सहित चार वडाध्यक्ष राष्ट्रिय जनमुक्ति  पार्टीलाई दिँदा चुनावी  नतिजा आफ्नो पक्षमा पर्ने भन्दै मख्ख परेको काँग्रेसलाई अहिले आन्तरिक एकता कायम राख्न हम्मे—हम्मे परेको छ।

तिलोत्तमामा कांग्रेसलाई जनमुक्तिसँग तालमेल गर्न जति सहज भयो, आन्तरिक विवाद मिलाउन निकै अप्ठ्यारो भएको छ। तिलोत्तमा नगरपालिकामा मेयरमा रामकृष्ण खाँणलाई उम्मेदवार बनाउने निर्णय भएपछि कांग्रेसमा चर्को विरोध भएको छ। उम्मेदवारको टुंगो लागेपछि असन्तुष्ट समूहले छुट्टै भेला र विरोध जुलुस नै निकाल्यो।

कांग्रेस नेता बालकृष्ण खाँणले नातावाद र परिवारवाद लादेर पूराना र योग्य नेताको अपमान गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ। उनी नेता बालकृष्ण खाँणका भाइ हुन्।  कांग्रेसका पूराना नेता रोमणी पाठक वा कृष्ण पौडेललाई  मेयरको उम्मेदवार बनाउन माग गर्ने समूहको असन्तुष्टि निकै चुलिएको छ। नेता खाँणले भाइलाई मेयर बनाउन जनमुक्तिसँग तालमेल गरेर संगठनलाई ध्वस्त बनाएको आरोप छ। ‘परिवारवादको चंगुलमा पारेर काँग्रेस चलाउन खोजिएको छ, अब यस्तो मान्य छैन,' असन्तुष्ट समूहका गणेश पाठकले भने।

कांग्रेसका एक पूराना नेता भन्छन् 'योग्यता र क्षमता भन्दा परिवारवादकोे फेरोमा अवसरलाई सीमित गर्न खोजेकाले चुनावको मुखमा विरोध चुलिएको हो।’

तिलोत्तमाको आन्तरिक विवाद कांग्रेसमा मात्रै नभएर एमाले पनि  मुक्त हुन सकेको छैन। जेठ ३ गते एमाले पाँच नम्बर प्रदेशको उम्मेदवार चयन कार्यदलले गरेको निर्णयलाई जेठ १४ गतेको बैठकले दुई नगरपालिकामा मेयरका उम्मेदवार हेरफेर गर्‍यो। देवदह र तिलोत्तमा नगरपालिकामा मेयरका उम्मेदवार प्रचार प्रसारमा लागिरहेका बेला हेरफेर भएपछि चर्केको असन्तुष्टि अझै साम्य भएको छैन। तिलोत्तमामा  मेयरमा  नगर इञ्चार्ज मोहन चापागाई र उपमेयरमा जागेश्वरी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले अन्तरद्वन्द्व व्यवस्थापन गर्न भन्दै तिलोत्तमामा क्षेत्रीय इञ्चार्ज बासु घिमिरेलाई मेयरको उम्मेदवार बनाउने निर्णय गर्‍यो।

देवदहमा मेयरमा निलकण्ठ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको  एमाले यो निर्णयमा दुई साता टिक्न सकेन। देवदहमा जिल्ला कमिटी सदस्य टिकाराम चापागाईंलाई मेयरमा उम्मेदवार बनाउने निर्णयले मत्थर बन्दै गरेको विवादलाई झनै बल्झायो। पहिले गरेको निर्णयमा अडिन नसक्दा आन्तरिक विवाद छताछुल्ल भएको र गलत सन्देश गएको भन्दै यहाँका आधा  दर्जन जिल्ला कमिटी सदस्यहरूले नेतृत्व समक्ष असन्तुष्टि व्यक्त गरेका छन्। एमाले कार्यकर्ता टंक पाण्डेले निर्णयप्रति आपत्ति जनाउँदै तिलोत्तमा नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। नेताहरूलाई पाण्डेको उम्मेदवारी रोक्न हम्मे हम्मे परिरहेको छ।

एमाले रूपन्देहीका इञ्चार्ज लिला गिरीले आन्तरिक व्यवस्थापन मिल्दै गरेको र कार्यकर्ता एकतावद्ध भएर चुनावी अभियानमा लागिरहेको बताए।

कांग्रेस, एमाले र माओवादी केन्द्रका  जिल्ला र केन्द्रीय नेताहरू कुराकानीमा अरुसँग तालमेल मिलाउन भन्दा आन्तरिक व्यवस्थापन गर्न  सकस भएको बताउने गरेका छन्। रूपन्देहीमा अहिले उम्मेदवारी चयनमा  एमाले र कांग्रेसमा सबैभन्दा धेरै आन्तरिक समस्या देखिएको छ। प्रमुख प्रतिस्पर्धी काँग्रेस र एमाले भएकाले नै नेतृत्वमा पुग्न आन्तरिक प्रतिस्पर्धा चर्को भएकाले विवाद चुलिएको नेताहरूले बताउने गरेका छन्। माओवादी केन्द्र रूपन्देहीमा तेश्रो शक्ति भएकाले काँगे्रस एमालेमा झैं विवाद चर्को नदेखिएको हो।

बुटवल उपमहानगरपालिका, देवदह तथा सैनामैना नगरपालिकामा उपमेयर लिएर कांग्रेससँग तालमेल गर्ने तयारी गरेको माओवादी केन्द्रभित्र गठबन्धन गर्दा पहिले प्रस्तावित भित्रबाट उपमेयर बनाउने वा नयाँ व्यक्तिलाई लैजाने भन्ने विवाद चर्केको छ।

बुटवल उपमहानगरपालिकामा जेठ २१ गते माओवादी केन्द्रले उपमेयरमा कृष्ण पोखरेल, टिका वली र मञ्जु भुसालमध्येबाट उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गर्‍यो। गठबन्धन गर्दा यी बाहेकबाट उपमेयर बनाउनुपर्ने लविङ भएपछि प्रस्तावित उम्मेदवारहरू बिच्किएका छन्। 

कांग्रेसमा पनि उपमेयर खाली राखेर तालमेललाई जोड दिएपछि नेतृत्वप्रति कार्यकर्ताको आक्रोश छ। चुनाव जित्ने र प्रमुख प्रतिस्पर्धीलाई टक्कर दिने नाउँमा संगठन अस्तव्यस्त बनाउन खोजेको आरोप कार्यकर्ताले लगाउन थालेका छन्।

पहिलो चरणको चुनावमा तालमेललाई मतदाताले नरुचाएको भन्दै  यहाँ पनि तालमेल नगर्न कार्यकर्ता पंक्तिबाट सुझाव आएको थियो। यहाँ केही साताअघि कांग्रेसले कार्यकर्तासँग  मागेको सुझावमा धेरैजसोले तालमेल गर्न नहुने सुझाव दिएका थिए।

कांग्रेस बुद्धिजीवीको भेलामा काँग्रेस एक्लै चुनावी परीक्षामा सामेल भएर अब्बल सावित हुनुपर्ने आवाज उठेको थियो। कांग्रेस निकट बुद्धिजीवी नन्दराम भण्डारीले तालमेलले जनमतको वास्तविक परीक्षण हुन नसक्ने बताए। ‘एक्लाएक्लै चुनाव लड्दा नै राम्रो हो, कसैको साथ लिएर कसैलाई पछार्नुले तत्कालका लागि फाइदा गरेजस्तो देखिए पनि दीर्घकालमा घाटा गर्छ,' उनले भने।

प्रकाशित: ३० जेष्ठ २०७४ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App