१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'आन्दोलनले चुनावी रङ भंग नहोस्'

फाइल तस्बिर

लहान- प्रदेश नम्बर २ अन्तर्गतका जिल्लालाई बढ्दो तापमानले मात्र होइन, चुनावी वातावरणले पनि तताएको छ। स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणको मिति नजिक आउँदै गर्दा यस क्षेत्रमा उम्मेदवार छनोट, घरदैलो, चुनावी समीकरणको बहस तीव्र भएको छ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्रका मतदातामा बेजोड उत्सुकता र उत्साह देखिन्छ। मतदातामा देखिएको उत्साहसँगै उम्मेदवार र दलहरूको चुनावी अभियान पनि तीव्र बनेको छ।

‘अधिकारका ठूला कुरा गरेर पेट भरिँदैन, पेट भर्न मजदुरी गर्नुपर्छ। चुनाव भए विकास हुन्छ जसले हामीलाई रोजगारीको अवसर दिन्छ।'

दिउँसोको चर्को घामको पर्वाह नगरी उम्मेदवारहरू मतदाताको घर–घर पुगेर आफ्नो पक्षमा भोट मागिरहेका भेटिन्छन्। उम्मेदवार र दल चुनावी दौडमा होमिएपछि गाउँ–सहर चुनावमय बनेको सीमावर्ती बरियारपट्टी गाउँपालिका ४ तेनुवापट्टीका सुमन यादवले बताए।

 मधेसमा लामो समयदेखि संघर्ष गर्दै आएको संघीय समाजवादी फोरमका स्थानीय नेता पनि केन्द्रीय नारा 'बुलेटको जबाफ ब्यालेट'बाट दिने भन्दै दोस्रो चरणको चुनावमा होमिइसकेका छन्। 'हाम्रो घरदैलो अभियानसमेत सुरु भइसकेको छ,' रिपोर्टिङका क्रममा भेटिएका फोरमबाट बरियारपट्टी गाउँपालिका प्रमुखका प्रत्यासी अजय यादवले भने, ‘गाउँघरमा मोटरसाइकलमा झन्डा बाँधेर कार्यकर्ता घुम्न थालेका छन्।’

 असार १४ मा हुने प्रदेश नम्बर १, २, ५ र ७ मध्ये धेरैको चासो प्रदेश नम्बर २ मा देखिन्छ। मधेस केन्द्रित दलको आधार क्षेत्र रहेका कारण पनि यो क्षेत्रको चुनावप्रति विशेष चासो जागेको हो। एक महानगरपालिका, तीन उपमहानगरपालिका, ४५ नगरपालिका र ७८ गाउँपालिका गरी एक सय २७ स्थानीय तहका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र गरी तीन ठूला दल र संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरमलगायत मधेस केन्द्रित दलबीच चुनावी भिडन्त हुनेछ। ६ वटा मधेस केन्द्रित दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने चुनावी मैदान छोडेर आन्दोलन रोजेकोे छ।

 राजपाले आन्दोलन घोषणा गरेपछि मतदातामा अन्योल थपिएको छ। 'राजपा आन्दोलनका कारण फेरि पनि चुनावको मिति पर धकेलिने त होइन?' सिरहा मिर्जापुरका बालेश्वर सदायले भने, ‘चुनाव सारेर चुनावको रङ फिका नगरियोस्। ‘अधिकारका नाममा जनतालाई आन्दोलनको अँध्यारोेमा कहिलेसम्म धकेलिरहेने?'

‘अधिकारका ठूला कुरा गरेर पेट भरिँदैन, पेट भर्न मजदुरी गर्नुपर्छ। चुनाव भए विकास हुन्छ जसले हामीलाई रोजगारीको अवसर दिन्छ,' सदायले भने, ‘हामीलाई रोजगारीको अवसर चाहियो।’

गाँउमा दस कक्षा पास गरेका एक्लो युवा लक्ष्मण सदाय भन्छन्, ‘गाउँघरमा विकास र रोजगारीको पर्खाइमा बसेका विपन्नको एउटै स्वर छ –ढाडस होइन रोजगारीको ढोका खोल्नुस्।’ उनी भन्छन्, 'यो चुनावपछि स्थानीय तहमा रोजगारका प्रसस्तै अवसर पाइन्छ। मजदुरदेखि कर्मचारीसम्मले रोजगारको अवसर पाउँछन्, यो त राम्रो हो नि!'

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्ला समेटिएको प्रदेश नम्बर २ जनसंख्याका हिसाबले दोस्रो हो। यो प्रदेशमा ५४ लाख चार हजार एक सय जनसंख्या छ।

एकातिर चुनावी प्रचार अर्कोतिर बन्दको प्रचार

 स्थानीय तह निर्वाचनमा दलहरू होमिएका बेला राजपाले निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेको छ। यसअन्तर्गत सोमबार राजपाले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लामा मसाल जुलुस निकाल्यो।

चुनावी रङमा होमिएका दलका नेताकार्यकर्ता मोटरसाइकल र गाडीमा झन्डा टाँगेर आफ्नो पक्षमा जनमत बटुल्न प्रचार अभियानलाई जारी राखेका छन्। यसैबीच,  सोमबार नेकपा एमालेबाट लहान नगरपालिकाको मेयर उम्मेदवार रामनारायण साह (मुनी साह) ले नगरको २४ वटै वडामा मोटरसाइकल र्‍यालीको आयोजना गरेर पहिलो चरणको प्रचार अभियान लगभग सकेका छन्। 'अब छुटेका वडामा घर घर पुगेर मत माग्न सुरु गर्छु,' साहले भने।

 नेपाली कांग्रेसले उम्मेदवार टंुगो लगाउन नसक्दा नगरपालिकामा प्रचारप्रसारले गति लिन सकेको छैन। संघीय समाजवादी फोरमले पनि उम्मेदवार टुंग्याउन सकेको छैन। यद्यपि गाउँपालिकाका प्रत्यासी उम्मेदवार सामूहिक रूपमै प्रचारप्रसारमा छन्।

प्रकाशित: ३० जेष्ठ २०७४ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App