१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

इटहरी उपमहानगरपालिकामा ठूला दलद्वारा उम्मेदवारको टुंगो

इटहरी- इटहरी उपमहानगरपालिकामा संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम नेपालबाहेक अन्य दलले उम्मेदवारको टुंगो लगाएका छन्। शनिबार मात्र नेकपा एमालेले द्दारिकलाल चौधरीलाई मेयर र उपमेयरमा लक्ष्मी गौतमलाई टुंगो लगाएको छ।  चौधरी एमालेका सुनसरी जिल्ला अध्यक्ष हुन् । उनी पार्टीमा छोटै अवधिमा जिल्ला नेतृत्वमा पुगेका हुन् । पछिल्लो दस बर्षयता उनी जिल्ला सचिब, उपाध्यक्ष, कार्यबाहक अध्यक्ष हुदैं जिल्ला नेतृत्वमा पुगेका हुन्।

उपमेयरको उम्मेदवार गौतम एमालेमा संगठन विभाग प्रमुख, जिल्ला पार्टीको प्रचार संयोजकलगायतका जिम्मेवारी पुरा गरी सकेकी छन्।

नेपाली काँग्रेसले इटहरीमा मेयरका उम्मेदवार टुंगो लगाएपनि असन्तुष्ट पक्षले शनिबार दोस्रो दिन पनि प्रदर्शन गरेका छन् ।

काँग्रेस केन्द्रीय कमिटीले दुई दिनअघि मात्र रोहितकुमार प्रसाईंलाई मेयरमा टुंगो लगाएको छ । काँग्रेसको उपमेयरको भने टुंगो लाग्न सकेको छैन् ।

काँग्रेसका मेयरका उम्मेदवार प्रसाईं २०४६ सालदेखि नेविसंघबाट राजनीति थालेका हुन् । उनी २०५० सालमा नेपाल विद्यार्थी संघको सभापति चुनिएका थिए । पछिल्लो समय प्रसाईँ उद्योगी–व्यापारीको संस्था उद्योग वाणिज्य संघ र सामाजिक गतिविधीमा सक्रिय छन् । उद्योग वाणिज्य संघ इटहरी वरिष्ठ उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भएका उनी अहिले प्रदेश नं. १ बाट केन्द्रीय सदस्य छन् ।

यहाँ राप्रपाबाट मेयरका लागि रोहित कार्की र उपमेयरमा माया रायमाझीलाई टिकट दिएर चुनाबी अभियानमा सक्रिय छन् । माओवादी केन्द्रबाट हरीमाया जिमी  मेयर र उपमेयरमा सागर सुवेदी चुनाबी अभियानमा छन् ।

निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल र कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक सम्बद्द संघीय लिम्बुवान मञ्चबीच तालमेल हुने पक्कापक्की भएको छ । यो गठबन्धनबाट मेयरका लागि देवी खनालको पक्का भएपनि औपचारिक घोषणा हुन बाँकी छ । लोकतान्त्रिक फोरम नेपालबाट पनि मेयर–उपमेयरसँगै वडाका उम्मेदवारको तय हुन बाँकी  छ।

दुई बर्षअघि हाँसपोसा, एकम्बा, पकली र खनार गाबिस गाभिएर उपमहानगरपालिका बनेको हो । इटहरी उपमहानगरपालिका क्षेत्र नं. २ मा पर्छ । इटहरी रामधुनी नगरपालिकाको वडा नं. १ र ५ पनि क्षेत्र नं. २ मै पर्छ । रामधुनीको वडा नं. ३ र २ को आधा भाग क्षेत्र नं. २ मा पर्छ ।

इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा एमालेले जितेको थियो । त्यतिबेला २३ हजार हाराहारी मतदाता थिए । यसपटकको स्थानीय निकायको निर्वाचनमा भने इटहरीमा कुल मतादाता ७७ हजार ६७७ छन्  । जसमा पुरुष ३५ हजार १४९ र महिला ४२ हजार ५२८ छन् ।

प्रकाशित: २७ जेष्ठ २०७४ १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App