२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

बैद्य माओवादीद्वारा पथरीशनिश्चरेमा मेयर उम्मेदवार घोषणा

विराटनगर- संविधान र निर्वाचन प्रकृयालाई बहिष्कार गर्दै आइरहेको मोहन बैध नेतृत्वको नेकपा–माओवादीले मोरङको पथरीशनिश्चरे नगरपालिकामा मेयरको उम्मेदवार घोषणा गरेका छन्।

                नेपाल पत्रकार महासंघको पथरीस्थित सम्पर्क कार्यालयमा शुक्रवार पत्रकार सम्मेलन गर्दै बैद्य माओवादीले सन्तोष गुरुङ(इतिहास)लाई मेयर पदमा टुंगो लगाएको घोषणा गरेका छन्। मेयरका उम्मेदवार गुरुङ बैद्य माओवादीको मोरङ क्षेत्र नम्बर २ का सदस्य हुन् । पत्रकार सम्मेलनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नाममा उम्मेदवारी तय गरिएको प्रेस बिज्ञप्ति बाँडिएको छ। प्रेस बिज्ञप्तिमा हस्ताक्षर गर्ने सुरेन्द्र चापागाँइ बैद्य माओवादीका क्षेत्र नम्बर २ का इन्चार्ज हुन्।

 ‘हाम्रो पार्टीभित्रको युवाहरुको मोर्चा हो यो,’ उनले भने, ‘स्थानीय चुनावको क्रान्तिकारी उपयोग गर्न हामी निर्वाचनमा सहभागि भएका हौं ।’ बैद्य माओवादीले मोरङको पथरी शनिश्चरे नगरपालिकामा उपमेयर र वडामा समेत उम्मेदवारी दिने तयारी गरेको छ । ‘हाम्रा बाँकी उम्मेदवार शहिद परिवारबाटै हुनेछ,’ चापागाँइले पत्रकार सम्मेलनमा भने, ‘संविधान फेर्न पनि चुनावमा सहभागि हुनु परेको हो ।’

                जनताको दैनिक समस्या र सरोकारका विषय, विपन्न वर्गको आर्थिक, समाजिक रुपान्तरण, सुकुम्वासी समस्या समाधानलगायतका विषयमा काम गर्न स्थानीय तहको निर्वाचनको ‘क्रान्तिकारी उपयोग’ गर्ने नीति अनुसार निर्वाचनमा सहभागि भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रकाशित: २६ जेष्ठ २०७४ १३:०७ शुक्रबार

बैद्य माओवादीद्वारा पथरीशनिश्चरेमा मेयर उम्मेदवार घोषणा