१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आज प्रधानमन्त्री निर्वाचन :देउवाको एकल उम्मेदवारी

काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचित हुनेछन् । एमालेले विगत केही दिनयता भरतपुर महानगरपालिकामा रोकिएको मतगणनालाई निरन्तरता दिनुपर्ने माग राखेर संसद् सञ्चालनमा अवरोध गर्दै आएको छ ।

कामचलाउ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेसनेता रामचन्द्र पौडेल, नेपाल लोकतानित्रक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंहलाई समर्थक राखेर देउवाले शनिबार प्रधानमन्त्री पदका लागि  उम्मेदवारी दर्ता गराएका छन् । आइतबार संसद्ले प्रधानमन्त्री चुन्ने कार्यक्रम छ ।

माओवादी केन्द्रसँग अघिल्लो असारमा भएको  पाँचबुँदे सत्ता साझेदारी समझादारीअनुसार देउवाले प्रधानमन्त्रीका लागि संसद् भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गराएका ह्न् । देउवा यसअघि तीनपटक प्रधानमन्त्री भइसकेका छन् । 

स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न गराएका प्रधानमन्त्री दाहालले स्थानीय तह दोस्रो चरण, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी  संविधान कार्यान्वयनको भारी देउवाको काँधमा बिसाउन लागेका हुन् । 

नयाँ प्रधानमन्त्रीका लागि बहालवाला प्रधानमन्त्री प्रस्तावक बसेको नेपालको इतिहासमा पहिलोपटक हो । दाहाल नेतृत्वको गठबनधन सरकारलाई निरन्तरता दिँदै देउवाले प्रधानमन्त्रीमा उम्मेदवारीको सूचना संसद् सचिवालयलाई दिएका हुन् । ‘गोइङ प्रधानमन्त्री प्रस्तावक बसेर पहिलोपटक प्रधानमन्त्री निर्वाचन हुनलागेको छ,’ कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘दुई दलबीच विगतका समझदारीअनुसारै नयाँ प्रधानमन्त्री छान्न निर्वाचन हुनलागेको हो ।’

सहमति र समझदारी कार्यान्वयन गर्दै वर्तमान गठबन्धन अघि बढ्ने दाबी उनले गरे । ‘अविश्वास हटाएर सहमति र सहकार्यको दिशामा मुलुक अघि बढेको छ,’ निधिले भने, ‘प्रधानमन्त्रीमा निर्वाचित हुन हामीसँग स्पष्ट बहुमत भए पनि सकेसम्म धेरै दलको समर्थन लिने प्रयास छ ।’

बहुमतबाट प्रधानमन्त्रीमा निर्वाचित हुन २ सय ९७ सांसदको समर्थन चाहिन्छ ।  वर्तमान सत्ता गठबन्धनसँग ३ सय ११ सांसद्को समर्थन रहेको निधिको दाबी छ । 
संसद् सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउन शनिबार अपराह्न ४ बजेसम्मको समय दिएको थियो । नयाँ प्रधानमन्त्रीका लागि देउवाको एकल उम्मेदवारी परेको छ । 

नयाँ प्रधानमन्त्री चुन्न आइतबार बिहान ११ बजे संसद् बैठक डाकिएको छ । बैठक सञ्चालनमा कुनै बाधा नआए सोही बैठकले देउवालाई मुलुकको ४०औं प्रधानमन्त्री निर्वाचित गर्ने निश्चितजस्तै छ । तर, प्रमुख प्रतिपक्षी एमालेले भरतपुर महानगरपालिकाको मतगणना गर्न माग गर्दै केही दिनयता संसद् चल्न दिएको छैन ।  मतगणना क्रममा माओवादी केन्द्र र  एमालेबीच भएको विवादमा ९० मतपत्र च्यातिएपछि गणना स्थगित छ ।
 
सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न प्रधानमन्त्री दाहालले जेठ १० गते पदबाट राजीनामा गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ११ गते सहमतीय सरकार गठनका लागि सात दिनको समय दिएर संसद्मा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेकी थिइन् । सात दिनको समय दलहरूले त्यसै गुजारेपछि बहुमतीय प्रक्रिया सुरु भएको हो । संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाएको हो ।

संविधानको धारा २९८ र संसद् नियमावली, २०७३ को दफा ४९ (१) मा सहमतीय सरकारको व्यवस्था छ । यसअन्तर्गत दलीय सहमति कायम हुन नसके के गर्ने भन्नेबारे सोही दफाको उपनियम २ मा उल्लेख छ, ‘उपनियम १ बमोजिम सहमति कायम हुन नसके प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ । त्यसको सूचना महासचिव वा सचिवले प्रकाशन गर्नेछन् ।’ धारा २९८ को (३) उपधारा (२) मा सहमति कायम हुन नसके संसद्को तत्काल कायम सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ । 

दुईतिहाइ पुर्याउन कसरत 
कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा दुईतिहाइ बहुमत पु¥याउन कसरत गरिरहेको छ । १ सय ८१ सांसद् रहेको एमाले, ४ सांसद् रहेको नेपाल मजदुर किसान पार्टी र ३ सांसद् रहेको राष्ट्रिय जन मोर्चाले विपक्षमा मतदान गर्ने निश्चित छ  । समर्थन जुटाउन ५ सांसद् रहेको मालेसहित केही दलसँग पनि छलफल जारी रहेको स्रोतको दाबी छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा संयुक्त, अखण्ड नेपाल, समाजवादी जनता पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक थरुहट, खुम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराई पार्टी, दलित जनजातिसहितका दलले देउवाको पक्षमा मतदान गर्ने कांग्रेस दाबी छ ।

संघीय सद्भावना, राजपासहितका दलसँग संविधान संशोधनलगायत विषयमा आइतबार बिहान लिखित सम्झौताको तयारी भइरहेको स्रोतको दाबी छ । कांग्रेस नेताहरूले ती दलका नेतासँग शनिबार छुट्टाछुट्टै छलफल गरे ।  राप्रपाको आइतबार बिहान बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने अध्यक्ष कमल थापा निकट एक नेताले जानकारी दिए । 

‘देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरीयोस् भन्ने सूचनाको पक्षमा दुईतिहाइ सांसद्को समर्थन पुग्ने हामीले विश्वास गरेका छौं,’ देउवा निकट एक नेताले भने, ‘सबै दलसँग कुरा भइरहेको छ ।’

यसैबीच, कांग्रेसले प्रधानमन्त्रीमा आफ्नो पार्टीका उम्मेदवार देउवाको पक्षमा मतदान गर्न आग्रह गर्दै शनिबार संसद्मा रहेका सबै दललाई पत्र लेखेको छ । संसद् भवन नयाँबानेश्वरमा शनिबार बिहान बसेको कांग्रेस कार्यसम्पदान समितिको बैठकले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहयोगको आग्रहसहित पत्र लेख्ने निर्णय गरेको हो । पत्रमा सबै दललाई प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्न र सरकारमा सहभागी हुन पनि अनुरोध गरिएको छ । 

सानो मन्त्रिपरिषद्
प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । शपथकै दिन कांग्रेससहित सत्तासाझेदार दलका केही नेतालाई देउवाले सरकारमा सहभागी गराउने छन् । 

स्थानीय तह निर्वाचनपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने रणनीतिमा रहेका देउवाले गृहमन्त्रालयको जिम्मेवारीसहित कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री बनाउने सम्भावना रहेको स्रोतको दाबी छ । दाहाल नेतृत्व सरकारका ऊर्जामन्त्री जनार्दन शर्मा पनि देउवा नेतृत्व सरकारमा दोहोरिने सम्भावना छ । 

केही दिनअघि दाहाल नेतृत्व सरकारमा सहभागी विजयकुमार गच्छदारले पनि देउवासँगै उपप्रधानमन्त्रीको शपथ लिनेछन् । उनको दलबाट अहिले सरकारमा सहभागीले पनि निरन्तरता पाउने एक नेताले बताए । 

कांग्रेसमा लस्कर 
देउवा नेतृत्व सरकारमा सहभागी हुन कांग्रेसभित्र धेरै आकांक्षी छन् । संवैधानिक व्यवस्था अनुसार संसद्को आयु माघ ७ गते सकिने भएकाले कांग्रेस सांसद् मन्त्री बन्न लबिङमा छन् । उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन कांग्रेस नेताहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, रामशरण महत आकांक्षी छन् । त्यस्तै, नेताहरू महेश आर्चाय, मीनेन्द्र रिजाल, नारायण खड्का, बलबहादुर केसी, मीन विश्वकर्मा, रामकृष्ण यादव, भरतबहादुर शाह, बीरबहादुर बलायर, एनपी साउद, भीष्मराज आङ्दम्बे, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय, फर्मुल्ला मन्सुर, पदमनारायण चौधरी, धु्रव वाग्ले, चीनकाजी श्रेष्ठ, किरण यादव, भीमसेनदास प्रधान, उदय समशेर राणा, मोहनबहादुर बस्नेत पनि मन्त्रीका आकांक्षी छन् । 

त्यस्तै, बद्री पाण्डे, मानबहादुर विक, जीवन परियार, ध्यानगोविन्द रञ्जित, महेन्द्र यादव, अर्जुनप्रसाद जोशी, रामहरि खतिवडा, बहादुरसिंह थापा, बहादुरसिंह लामा पनि मन्त्री बन्न लागिपरेका छन् । 

त्यस्तै, दाहाल नेतृत्व सरकारमा सहभागी बालकृष्ण खाँण, प्रकाशशरण महत, नवीन्द्रराज जोशी, दीपक गिरी, गगनकुमार थापा पनि पुनः मन्त्री बन्न चाहन्छन् । 

मिलेरै चुनौती सामना : दाहाल
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनलाई निरन्तरता दिँदै स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराएर संविधान कार्यान्वयन र आर्थिक विकासलाई अघि बढाउने दाबी गरे ।

नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति देउवालाई प्रस्ताव गरेपछि संसद् भवन परिसरमा दाहालले मुलुकमा प्रचुर सम्भावना र चुनौती पनि उत्तिकै रहेकाले सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘यो व्यक्तिविशेषको कुरा होइन,’ उनले भने, ‘हामी सबै मिलेर बाँकी चुनौती सामना गर्नेछौं ।’

सत्ता हस्तान्तरणका क्रममा हुने दलीय तिक्तालाई आफूले अन्त्य गरेको दाबी उनले गरे । ‘विगतमा सत्ता हस्तान्तरणमा जुन खालको राजनीतिक ध्रुवीकरणको स्थिति हुन्थ्यो,’ दाहालले भने, ‘त्यसको अन्त्य गरेर देखाइदिएको छुँ ।’

केका लागि सरकार? : पौडेल
कांग्रेस कार्यसम्पदान समितिको बैठकमा नेता पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका थिए । निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसरी र कसले चलाउने भन्ने प्रश्न गरेका थिए । 

कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक आचरण र पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने भन्ने अहिलेको चासो र चिन्ताको विषय भएको जनाउँदै पौडेलले भने, ‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने ? कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने ? के गरी जनतामा आशा र भरोसा जगाउने भन्नेर्फ हाम्रो ध्यान जानुपर्छ ।’

पौडेलले पार्टीले ठीक समयमा ठीक निर्णय लिन नसक्दा समर्थकहरूले छाड्दै जान थालेको भन्दै नेतृत्वलाई सचेत गराए । नयाँ प्रधानमन्त्री चयन, सरकार गठन र पार्टी सञ्चालनका विषयमा आन्तरिक छलफल नभएको भन्दै उनले असन्तुष्टि पनि पोखे । 

‘अहिलेको सन्दर्भमा पहिलो कुरा त प्रधानमन्त्री किन हुने ? के का लागि हुने ? मलाई सधैं पार्टी संगठनको चिन्ता छ,’ उनले भने, ‘जनताले कांग्रेसको विकल्प खोज्न थालेका हुन् कि ? अलिकति गहिरिएर सोच्नुपर्छ । कांग्रेसको विकल्प कांग्रसभित्रै खोज्नुपर्छ । कांग्रेसले सही बाटो लिन्छ भन्ने सन्देश दिनुपर्छ । चुरो कुरा यही हो ।’
दाहाल नेतृत्व सरकारमा रहेर पार्टीले फाइदा उठाउन नसकेको धारणा राख्दै पौडेलले जनताको विश्वास जित्न नेतृतवले त्याग गर्नुपर्ने धारणा पनि राखेका थिए । ‘यो बेलामा जनतालाई विश्वास दिलाउन त्याग गरेर देखाउनुपर्छ । दलको नेता आफैं (देउवाप्रति लक्षित) हुनुहुन्छ । बहुमत पनि छ,’ पौडेलले भने, ‘तपाईं त्याग गर्न सक्नुहुन्न भने म नै त्याग गर्छु ।’

कार्यसम्पादन समितिको बैठकमा जानुअघि पौडेलले आफूनिकट नेतालाई अनामनगरस्थित सम्पर्क कार्यालयमा बोलाएर पछिल्लो अवस्थाको जानकारी गराएका थिए । त्यहाँ पनि उनले सभापति देउवाले एकलौटी गरेको भन्दै गुनासो गरेका थिए ।

प्रकाशित: २१ जेष्ठ २०७४ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App