२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

परराष्ट्रमा सरकारी गाडी दुरुपयोग

काठमाडौं – मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीनवटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । परराष्ट्रमन्त्री भएपछि उनले दुइटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कारपियो’ गरी तीनटा सरकारी गाडी प्रयोग गरिहेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कारपियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन् । अहिले स्कारपियो गाडीको नम्बर प्लेट ‘रातो’ बनाइएको छ । निजी सवारी साधनमा रातो नम्बर प्लेट प्रयोग हुन्छ । सरकारी नम्बर प्लेटको स्कारपियो गाडीलाई निजीमा परिवर्तन गरी उनले निवासको प्रयोजनमा राखेको स्रोतले बतायो । 

‘परराष्ट्रमन्त्रीज्यूले आफ्नो प्रयोजनका लागि तीनटा गाडी राख्नुभएको छ– दुईटा मर्सिडिज बेन्ज र एउटा स्कारपियो । मर्सिज गाडी कार्यालय प्रयोजनमा प्रयोग गर्नुभएको छ भने स्कारपियो गाडी निवासमा राख्नुभएको छ,’ स्रोतले भन्यो । २०६८ भदौमा सरकारले प्रधानमन्त्री, मन्त्री, सहायक तथा राज्य मन्त्रीको सेवासुविधा निर्धारण गरेको थियो । जसमा मन्त्रीलाई मासिक ६० हजार ९ सय ७० रुपैयाँ, एउटा गाडी, मासिक २ सय ७ लिटर पेट्रोल, वार्षिक २० लिटर मोबिल, सञ्चार सुविधा मासिक ३ हजार रुपैयाँ, मासिक मसलन्द खर्च ३ हजार ५ सय रुपैयाँ र जिल्ला भ्रमणमा जाँदा दैनिक ३ हजार रुपैयाँ भत्ता दिने उल्लेख छ । यस्तै, मन्त्रीको पारिश्रमिक र सुविधा ऐन,  २०४९ मा पनि सवारीका निमित्त एउटा मोटर उपलब्ध गराइने उल्लेख छ । 

नियमअनुसार एउटा गाडी पाइने भए पनि मन्त्री प्रकाशशरण महतले तीनटा गाडी प्रयोग गरिरहेका छन् ।

‘मन्त्रीज्यूले तीनवटा गाडी प्रयोग गर्नुभएको छ भन्ने गलत हो । मन्त्रीज्यूले एउटा मात्र मर्सिडिज बेन्ज गाडी प्रयोग गर्नुभएको छ । जिल्लातिर जाँदा मर्सिडिजको झन्डा निकालेर स्कारपियो गाडीमा राखेर जानुहुन्छ,’ परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले भने, ‘एक साथ दुइटा गाडी प्रयोग गर्नुभएको छैन । जिल्लातिर जाँदा बाटो खराब हुने भएकाले स्कारपियो गाडीमा जानुहुन्छ ।’ परराष्ट्र स्रोतका अनुसार मन्त्री महतले बा२झ १९३८ र  बा२झ १९३३ नम्बरको मर्सिडिज गाडी प्रयोग गरेका छन् । ‘दुइटा मर्सिडिज गाडी कार्यालय प्रयोजनमा आलोपालो प्रयोग गर्नुहुन्छ,’ स्रोतले भन्यो । मन्त्री महतले प्रयोग गरेका दुवै मर्सिडिज बेन्ज गत वर्ष कतार सरकारले नेपाललाई उपलब्ध गराएका ९ वटा बुलेट प्रुफमध्येका हुन् । 

कतार सरकारले २०७३ वैशाख २२ गते उपहारस्वरुप ९ वटा बुलेट प्रुफ मर्सिडिज बेन्ज नेपाललाई उपलब्ध गराएको थियो । ती गाडी तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले बुझेका थिए । सन् २०१४ मा काठमाडौंमा भएको सार्क १८औं शिखर सम्मेलनअघि कतारसँग मर्सिडिज बेन्ज किन्ने कुरा चलाइएको  थियो । सार्क सदस्य राष्ट्रप्रमुखको सवारीका लागि आवश्यक बुलेट प्रुफ गाडी नभएपछि कतारसँग गाडी खरिद गर्ने कुरा अघि बढाइए पनि पछि खरिद भने गरिएन ।

त्यतिबेला भारतबाट केही दिनका लागि मर्सिडिज बेन्ज ल्याई काम चलाइएको भए पनि पछि कतारले उपहारस्वरुप ९ वटा गाडी नेपाललाई दिएको थियो । सन् २०१७ मा काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनमा ती ९ वटा मर्सिडिज बेन्ज प्रयोगमा ल्याइने त्यतिबेला बताइएको थियो । तर गाडी उपहारस्वरुप पाएको केही महिना नबित्दै नौमध्ये दुइटा मर्सिडिज बेन्ज परराष्ट्रमन्त्री महत र एउटा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रयोग गर्न दिइएको हो । 

यस्तै, मन्त्री महतले निवासको प्रयोजनमा चलाउँदै आएको स्कारपियो गाडी त्यसअघि राहदानी विभागमा थियो । गत कात्तिकमा राहदानी विभागबाट उक्त गाडी मन्त्रालय लगिएको हो । स्रोतका अनुसार विभाग मातहत हुँदा उक्त स्कारपियो गाडीको नम्बर बा२झ १५२७ (सेतो प्लेट) थियो । पछि उक्त गाडीको नम्बर प्लेट परिवर्तन गरियो । अहिले उक्त गाडीको नम्बर बा१३च ४३७० (रातो प्लेट) छ । ‘स्कारपियो गाडी अधिकांश समय मन्त्रीज्यूको निवासतिरै हुन्छ । कहिले  सेतो प्लेट त कहिले रातो प्लेटमा यो गाडी कुद्छ,’ स्रोतले भन्यो । 

बा१झ ५४५४ नम्बरको अर्को निसान गाडी पनि मन्त्रीको निर्देशनमा त्रिशूली पठाइएको छ । त्यो गाडी त्रिशूलीमा कसले प्रयोग गरिरहेको छ परराष्ट्रलाई नै पत्तो छैन । मन्त्रीका तीनजना सल्लाहकार तथा पिएलाई पनि छुट्टाछुट्टै गाडी उपलब्ध गराइएको छ । मन्त्रीका सल्लाहकार तथा पिएलाई बा१झ ५३५४, बा२झ ५४७४ र बा२झ ५४७२ नम्बरको निसान गाडी उपलब्ध गराइएको छ । 
 
सरुवामा काखापाखा

मन्त्री महतले ‘परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगमा पदस्थापना तथा सरुवा निर्देशिका, २०६९’ को प्रावधान मिच्दै आफूनिकट परराष्ट्रका दुई कर्मचारीलाई आकर्षक नियोगमा पोस्टिङ (सरुवा) गरेका छन् । परराष्ट्र प्रशासनले तयार पारेको सरुवा सूचीलाई लत्याएर उनले आफूनिकट दुई कर्मचारीलाई ‘क’ वर्गको नियोगमा पठाउने निर्णय गराएका हुन्।

मन्त्रीका पिएका रुपमा कार्यरत परराष्ट्रका सहसचिव प्रकाश अधिकारीलाई क्यानडास्थित नेपाली दूतावास र हाल साउदी अरबको जेद्दास्थित वाणिज्य दूतावासमा कार्यरत परराष्ट्रका नायबसुब्बा अरेन्द्र महर्जनलाई फ्रान्सस्थित नेपाली दूतावासमा सरुवा गरिएको छ । अधिकारी मन्त्री महतका गृहजिल्लावासी हुन् ।  महर्जनका दाजु मन्त्री महतका साथी हुन्।

‘परराष्ट्रका कर्मचारीको विदेशस्थित नियोगमा निर्देशिका अनुसार सरुवा  हुन्छ । तर मन्त्रीले निर्देशिका मिच्दै आफ्नालाई ‘क’ वर्गको नियोगमा पठाउनुभएको छ । त्यो पनि जबरजस्ती टिप्पणी उठाई सहसचिवलाई हस्ताक्षर गर्न लगाएर,’ मन्त्रालय स्रोतले भन्यो। 

परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगमा पदस्थापना तथा सरुवा निर्देशिका, २०६९ मा सरुवा सम्बन्धमा स्पष्ट लेखिएको छ । जसमा ‘क’ र ‘ख’ वर्गका नियोगमा काम गरेर फर्केकालाई पुनः सरुवा गरी पठाउँदा ‘ग’ वा ‘घ’ वर्गका नियोगमा पठाउने, ‘ग’ वर्गको नियोगमा काम गरेर फर्केकालाई पुनः सरुवा गर्दा ‘क’ वा ‘ख’ वर्गका नियोगमा र ‘घ’ वर्गका नियोगमा काम गरेर फर्केकालाई पुनः सरुवा गर्दा ‘क’ वर्गका नियोगमा सरुवा गर्ने उल्लेख छ । 

निर्देशिकामा सार्क सचिवालय, न्युयोर्क, वासिंटन डिसी, क्यानवेरा, टोकियो, ओटावा, लन्डन र कोपनहेगनस्थित नेपाली नियोगलाई ‘क वर्गमा राखिएको छ । यस्तै, ‘ख’ वर्गमा ब्रसेल्स, नयाँदिल्ली, जेनेभा, वर्लिन, पेरिस र सिओलस्थित नियोग पर्छन् । ‘ग’ वर्गमा हङकङ, कोलकाता, इस्लामाबाद, बैंकक, क्वालालम्पुर, प्रिटोरिया, तेलअबिब, बेइजिङ, रियाद, अबुधाबी, दोहा, कोलम्बो, कुबेत सिटी, ब्रासिलिया, ढाका, मस्को, कायरो, मनामा, मस्कट, जेद्दा र याङ्गुनस्थित नियोगलाई राखिएको छ । चीनको ल्हासास्थित नियोगलाई ‘घ’ वर्गमा राखिएको छ । 

अधिकारी यसअघि न्युयोर्क र डेनमार्कमा पोस्टिङ भएको थियो, जुन ‘क’ वर्गमा पर्छन् । केही समय पहिला परराष्ट्रको कन्सुलर विभागमा काम गर्दा महर्जनले राम्रोसँग काम नगरेपछि उनलाई कारबाहीका लागि विभागले मन्त्रालयमा पत्र पठाएको थियो । त्यसपछि उनलाई साउदीको जेद्दामा पठाइएको थियो । उनलाई जेद्दा पठाइएको केही महिनामै पुनः पेरिस सरुवा गरिएको हो । 

निर्देशिका अनुसार सरुवा सूची परराष्ट्र प्रशासनले बनाएको थाहा पाएपछि मन्त्री महतले जेठ ३ गते एक बजे अचानक मन्त्रालयका सचिव र सम्पूर्ण सहसचिवलाई आफ्नो कार्यकक्षमा बैठक बोलाएर झपारेका थिए । प्रशासनले आफ्ना निकटलाई ‘क’ वर्गको नियोगमा सरुवा नगरेपछि सचिवसहित सम्पूर्ण सहसचिवलाई बोलाएर उनले हकारेका थिए ।  सहसचिवहरूको समितिले सरुवा सूची तयार पार्छ । 

‘विभागीय मन्त्रीले भनेको नर्टेने । जान लागेको भनेर हेपेको । म यहाँ पछि आउन सक्दिनँ भनेर मैले भनेको नमानेको । तपाईंहरू यो कोठाबाट बाहिर निस्कनोस्,’ मन्त्री महतलाई उद्धृत गर्दै सहभागी एक सहसचिवले भने । मन्त्रीको यस्तो व्यवहारले सबैको शिर गिरेको ती सहसचिवले बताए । त्यसपछि मन्त्री महतले परराष्ट्र प्रशासनलाई ठाडो निर्देशन दिई टिप्पणी उठाउन लगाएर अधिकारी र महर्जनको सरुवा क्यानडा र पेरिस गराएका थिए । सरुवा टिप्पणी फाइल प्रत्येक सहसचिवको टेबुलमा लगेर हस्ताक्षर गर्न लगाइएको थियो । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०१:४१ शुक्रबार

परराष्ट्रमा सरकारी गाडी दुरुपयोग