१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेसमा सुरु भयो चुनावी तयारी

जनकपुर- तराई–मधेसका राजनीतिक दलहरू आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन्। यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको अजेन्डा सम्बोधन गराउन चुनावलाई पनि संघर्षकै रूपमा बुझेर अघि बढिरहेको बताए। यादवले राजपालगायत मधेसका अन्य पार्टीसँग छलफल गरेर साझा उम्मेदवार चयन गर्ने बताए।

कांग्र्रेस, एमाले र माओवादी केन्द्रले पनि जोडतोडका साथ चुनावी तयारीमा जुटिसकेका छन्। अधिकांश स्थानमा उम्मेदवारको टुंगो लागिसके पनि केही स्थानमा टुंगो लगाउन बाँकी रहेको दलहरूले जनाएका छन्।

कांग्रेसले जेठ १२ गतेसम्म सबै तहमा उम्मेदवार तय गर्ने भएको छ। 'जेठ १० सम्म सबै तहबाट उम्मेदवार सूची पेस हुने र १२ सम्ममा टुंगो लगाइसक्ने तयारी छ,' कांग्रेसका धनुषा सचिव सन्तोष यादवले भने।

एमालेले भने मधेसमा स्थानीय तहको संख्या थप्ने सरकारको तयारी चलिरहेको हुँदा उम्मेदवारको टुंगो लगाउन नसकिरहेको जनायो। 'मधेसका केही जिल्लामा स्थानीय तहको संख्या बढ्ने सम्भावना भएकाले उम्मेदवारी टुंगो नलागेको हो,' एमाले वैकल्पिक केन्द्रीय सदस्य शत्रुधन महतोले भने, 'एकदुई दिनभित्रै बैठक बसेर उम्मेदवारी टुंग्याउँछौं।'

माओवादीले गाउँ तहमा धेरै उम्मेदवार तय गरिसकेको तर नगरमा भने खोजी भइरहेको जनाएको छ। पार्टीका जिल्ला अध्यक्ष झल्कु यादवले यसै साताभित्र सबै तहमा उम्मेदवार चयन गरिसक्ने तयारी भएको बताए।

संविधान संशोधन नभएसम्म चुनावमा जान नसकिने बताउँदै आएको राजपाले पनि गाउँ तथा नगरपालिकाका लागि धमाधम उम्मेदवार छनोट गर्न थालेका छन्। राजपा जिल्ला अध्यक्ष मण्डलका संयोजक परमेश्वर साहले भने संविधान संशोधन नभएसम्म चुनावीमा जान नसकिने बताए।

प्रकाशित: ९ जेष्ठ २०७४ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App