१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावमा देखिएका चाखलाग्दा पक्ष

काठमाडौं – करिब २० वर्षपछि आइतबार ३४ जिल्लाको २ सय ८१ स्थानीय तहमा स्थानीय चुनाव भयो । यतीबेला मतगणना गर्ने कार्य जारी छ । वडादेखि गाउँपालिका, नगरको नतिजा धमधम आउन थालेको छ । चुनावदेखि नतिजा आउँदासम्म केही रोचक पक्ष देखिएका छन् । 

छ उम्मेदवार, छैन् चुनाव चिन्ह
आइतबार अन्य मतदान केन्द्र जस्तै भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ मा पनि मतदान भइरहेको थियो । एकपछि अर्काे मतदाताले मतदान गरिरहेको बेला २३ औं नम्बरका मतदाता मतदानको लागि मतपत्र लिएर गोप्य मतदानमा पुग्दा थाहा भयो आफुले खोजेको चुनाव चिन्है छैन् । नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह् ‘मादल’ नभएपछि विवाद चर्कियो । पार्टीले निर्वाचन आयोगमा उजुरी गरेपछि मतदान नै रद्द भयो । उक्त ठाउँमा बुधबार पुनः मतदान भयो ।

१ सय १५ वर्षीयाद्वारा मतदान
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ की १ सय १५ वर्षीया दमन्ती थापा मतदान गरिन् । अमरदीप आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । आधा घण्टा दुरीमा पर्ने मतदान केन्द्रसम्म पनाति भुवन थापाले बोकेर पुराएका थिए । स्थानीय तहको निर्वाचनमा भोट खसाल्ने सम्भवतः उनी नेपालकै जेठी महिला हुन् । उनी १९५९ भदौ १० गते पाल्पाको दमकडामा जन्मिएकी हुन् ।    

लाइनमै मतदाताको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदान गर्न लाइन बसेका मतदाताको मृत्यु भयो । इन्द्रसरोवर ३ का २२ वर्षका विरमान पाख्रीनको मतदान लाइनमै मृत्यु भएको हो । लाइनमा ढलेका उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । उनलाइ पेट दुख्ने समस्या देखिएको थियो ।

किरियापुत्रीद्वारा मतदान
काभ्रेको मण्डन देउपुर नगरपालिका वडा ११ जैसिथोकमा किरियापुत्रीले मतदान गरेका छन् । ऋषि प्रसद तिवारी, कमल प्रसाद तिवारी, नारायण प्रसाद तिबारी तीन दाजुभाईले मतदान गरेका हुन् । जैसिथोकमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।

गोलाप्रथाबाट विजय
सल्यानको ढोरचौर गाउँपालिका वडा नं ४ मा एमाले र कांग्रेसका वडाध्यक्षले बराबरी मत ल्याए । कांग्रेसका उम्मेदवार दिनेश बिएम र एमालेका उम्मेदवार देवेन्द्र रोक्काले ३ सय २१ मत प्राप्त गरेका थिए । बरबरी मत आएपछि दोर्याएर पनि मतगणना भयो । त्यसमा पनि फरक नदेखिएपछि गोलाप्रथाबाट विजेता छानियो । गोलप्रथा गर्दा कांग्रेसका उम्मेदवार बिएम भाग्यामानी ठहरिए । एमालेका उम्मेदवार देवेन्द्र रोक्का भने गोलप्रथाबाट पराजय स्वीर्कान बाध्य भए ।

बागीको जित
मुस्ताङमा दालोमे गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका उम्मेदवार राजु बिष्ट बिजयी भएका छन् । कांग्रेसका तेन्जिङ छिरिङ गुरुङलाई पछि पार्दै उनले जित हासिल गरेका हुन् ।

विष्टले ७ सय ५५ ल्याएका थिए । गुरुङले २ सय ३ मत प्राप्त गरेका थिए । विष्ट पनि कांग्रेसकै बागी उम्मेदवार हुन् । कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पति वडाध्यक्ष, श्रीमती उपमेयर
एउटै घरका श्रीमान्–श्रीमती नै स्थानीय निकायको निर्वाचनमा विजयी भएका छन् । यो घटना, हो मुसिकोट नगरपालिकाको वडा नं १० को वडाध्यक्षमा श्रीमान् गोपेश्वर केसी निर्वाचित भएका छन् । सोही नगरपालिकाको उपमेयरमा भने प्रेमकुमारी सुनार केसीले ४ हजार ५ सय ११ मत ल्याएर विजयी भएकी छन् । दुवै जना माओवादी केन्द्रमा उम्मेदवार हुन् । 

पार्टी त्यागेको सातामै जनप्रतिनिधि
रसुवाको कालिका गाउँपालिकाको अध्यक्षमा सिता पौडेल विजय भएकी छिन् । उनी नेपाली कांग्रेसबाट अघिल्लो साता मात्रै एमाले प्रवेश गरेकी हुन् । कांग्रेसमा टिकट नपाएपछि एमालेबाट टिकट लिएर पार्टी त्यागेको साताभित्रै गाउँपालिकाकोे जनप्रतिनिधि बनेकी छिन् । 

त्यसैगरी टिकट नपाएपछि आफ्नो पार्टी नेपाली कांग्रेस छोडेका तनहुँ व्यास नगरपालिका–४ का विश्वराज न्यौपाने पार्टी छोडेकै साता वडाध्यक्ष भएका छन् ।

कांग्रेसमा टिकट नपाएपछि एमालेबाट वडा अध्यक्षको टिकट लिएका थिए । साताअघि एमाले प्रवेश गरेका न्यौपानेले ९ सय ३ मत ल्याएर वडाध्यक्ष बनेका हुन् । उनका प्रतिदन्दी कांग्रेसका उम्मेदवार बुद्धिकुमार श्रेष्ठले ४ सय ५५ मत प्राप्त गरेका थिए ।

दाईको जित, भाईको हार
दक्षिणकाली नगरपालिका – ४ को वडाध्यक्षमा दाजुको जित भएको छ । वडाअध्यक्षमा नेपाली कांग्रेसबाट उठेका पुष्कर खड्काको विजयी भएको हो । भाइ दिवाकर खड्कालाई ६० मतले हराएका हुन् । भाई दिवाकर एमालेबाट उम्मेदवारी दिएका थिए । उनीहरु ९० वर्षीय लीलाबहादुर खड्का जेठ छोरा पुष्कर र माइला छोरा दिवाकर हुन् ।

मतपत्रमा औठाछाप
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मतगणना गर्दा चुनाव चिन्हमा औंठाछाप लगाएको भेटिएको छ । मतदाता शिक्षा अभावको कारण चुनाव चिन्हमा लगाउनुपर्ने स्वस्तिक छापको सट्टा औंठाछाप लगाएको पाइएको हो । मतगणनाको क्रममा ७ वटा मतपत्रमा औठाछाप भेटिएको थियो ।

मत पेटिकामा ‘नो भोट’
काठमाडौं महानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मार्करले लेखिएको सेतो कागज भेटियो । त्यसमा लेखिएको थियो, ‘राइट टुव रिकल –प्रत्याह्वान) र रिजेक्टको व्यवस्था गर्न अनुरोध छ ।’
यो कागज भेटिएपछि निर्वाचन अधिकृतले मतगणनामा बसेका सबै दलका प्रतिनिधि र उम्मेदवारलाई देखाएका थिए । उम्मेदवारहरु मुसुमुसु हाँसे । 

वडा एमाले, मेयरमा काँग्रेस
म्यादीको बेनी नगरपालिकामा १० मध्ये ८ वडामा नेकपा एमालेको प्यानलैले विजय हासिल गरेको छ । एउटा वडामा स्वतन्त्र उम्मेरदारले जितेका छन् भने वडा नम्बर १० मा कांग्रेसले वडा जितेको छ । रोचक पक्षचाँही नौ वटा वडाको मत गन्दा समेत मेयरमा एमाले अगाडि थियो । वडा नम्बर १० को मतले भने एमालेलाई पछि पार्दै कांग्रेसको जित भयो । नौ वटा वडामा पछि परेका कांग्रेसका उम्मेरदार हरि कुमार श्रेष्ठ १० नम्बर वडाको मतले मेयरमा विजय भएका हुन् । उनले एमालेका प्रमोद श्रेष्ठ भन्दा ३३ मत बढी ल्याएर विजय हासिल गरेका हुन् ।

उम्मेरदार नभएका चिन्हमा मत
राप्रपासँग तालमेल गरेका कारण ललितपुर महानगरपालिकामा उपमेयरमा एमालले उम्मेरदार राखेन् । तर, महानगरपालिकाको वडा नम्बर १ को मतगणना गर्दा उपमेयरमा एमाले मत पाएको थियो । उपमेयर सूर्य चिन्हमा मत पाएको हो । राप्रपाका उपमेयर उम्मेदवार बाबुकाजी प्रधानले ८९ मत पाउँदा सूर्यले १ सय ३३ मत पाएा  थिए ।

८० वर्षमा वडाध्यक्ष
सिन्धुपाल्चोकमा ८० वर्षका व्यक्ति वडाध्यक्षमा निर्वाचित भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा  ८० वर्षीय कर्णबहादुर खड्का निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए । नाति उमेरका माओवादी केन्द्रका उम्मेदवार कुमार खत्रीलाई पराजित गर्दै दुई सय ७३ मत ल्याएर खड्काले विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खत्रीले एक सय ६० मत प्राप्त गरेका थिए ।

मंसिरदेखि ८० वर्ष लागेका कर्णबहादुरका चार छोरा र चार छोरीका गरी नातिनातिना २१ जना छन् । पनातिपनातिना १० जना छन् । उनको नाति नै ३० वर्षका छन् । 

८६ वर्षमा वडा सदस्य
धादिङमा ८६ वर्षीया एक महिला वडा सदस्यमा निर्वाचित भएकी छिन् । थाक्रे गाउँपालिका वडा नम्बर ५ बाट दलित महिला सदस्यमा ८६ वर्षीया चन्द्रमाया विश्वकर्मा निर्वाचित भएकी हुन् । 

निकटतम प्रतिद्वन्द्वी माआवादी केन्द्रकी २५ वर्षीय सबिना विश्वकर्मालाई पछि पार्दै दलित महिलातर्फबाट ४ सय ९५ मत ल्याएर चन्द्रमायाले विजयी हासिल गरेकी हुन् । सबिनाले ४ सय ७३ मत पाएर पराजय बेहोरिकी छिन् । नेकपा एमालेतर्फबा दलित महिला आरक्षणमा उम्मेरदार नपाएपछि चन्द्रमाया उम्मेरदार बनेकी थिईन् । ‘म राजनीति गर्छु भनेर उठेको होइन, पार्टीले विश्वास गरेर टिकट दियो, जितियो,’ विजयी भइसकेपछि नागरिकसँग उनले भनिन्, ‘बुढेसकालमा मैजस्ताका लागि अब केही गरेर देखाउने धोको छ ।’ 

प्रकाशित: ६ जेष्ठ २०७४ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App