१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बागमतीमा सत्तापक्ष र प्रतिपक्षकाे टकराव बढ्दै

बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन्।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारको आगामी आवको बजेट असन्तुलित र पक्षपाती भएको भन्दै बजेटप्रति असन्तुष्टि व्यक्त गरे। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि बागमती प्रदेशसभाको बैठक पुनः स्थगन गरिएको छ।

मंगलबारको बैठकमा एमाले र राप्रपाको अवरोधपछि सूचना टाँस गरेर स्थगन गरिएको बैठक बुधबार बिहान ११ः०० बजेका लागि बोलाइएको थियो। दलहरूकाे सहमति नजुटेपछि विशेष कारणवश भन्दै दिउँसो १ः३० बजे बैठक बस्ने गरी समय निर्धारण गरिएकामा सो समयमा पनि बैठक बस्न सकेन। दिउँसो ३ः३० बजे बैठक बस्ने समय निर्धारण गरिए पनि सो समयमा पनि बैठक नबसेपछि पुनः साँझ ५ः०० बजे बैठक बोलाइएकामा करिब आधा घन्टा ढिला गरी बैठक भएको थियो।

बैठक सुरु भएलगत्तै प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभा सदस्यलाई समय दिने जानकारी गराएलगत्तै प्रदेशसभा सदस्यहरूले उठेर बैठक अवरोध गरेपछि बैठक अघि बढ्न सकेन। एमाले र राप्रपाले प्रदेश सभाको बैठकमा आफ्ना माग सत्ता पक्षले सम्बोधन नगरेसम्म बैठक चल्न नदिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको बैठक यही असार १७ गते आइतबार दिउँसो २ः०० बजेसम्मका लागि स्थगन गरिएको बताए।

अहिले बागमती प्रदेशमा सत्तापक्ष र प्रतिपक्षको टकराब बढ्दै गएको छ। आगामी आर्थिक वर्षको बजेट सम्बोधनमा प्रतिपक्षी दललाई पूरै निषेध गरिएको भन्दै सत्तापक्ष र प्रतिपक्षी दलका बीचमा टकराब बढ्दै गएको हो। बजेट पुनःलेखन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

बजेटमा सरकारले आफूखुसी गरेको भन्दै निरन्तर रूपमा विरोध गर्दै आएको एमालेले बागमती प्रदेशसभा चल्न दिएको छैन। बागमती प्रदेश सभाको बैठक एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि पुनः स्थगन गरिएको हो। सरकारले ल्याएको बजेट जस्ताको तस्तै सके सहमतिमा नसके बहुमतका आधारमा पारित गरिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।

प्रकाशित: १५ असार २०८० ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App