१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मित्रमुलुक नचिन्ने परराष्ट्र नीति

सत्तारुढ नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाइँले पुरानो दौत्य सम्बन्ध भएको मुलुक इजराइलको विरुद्धमा संयुक्त राष्ट्रसंघको साधारण सभा*मा मतदान गरेकोप्रति सरकारको आलोचना गरेका छन्।

प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको कार्यकालमा १९ जेठ २०१७ मा नेपाल र इजरायलबीच दौत्यसम्बन्ध कायम भएको हो। त्यो बेला इजरायललाई मान्यता दिनेमा नेपाल दक्षिण एसियाकै पहिलो मुलुक रहेको हो।

यस्तो ऐतिहासिक सम्बन्ध भएको देशसँगको सम्बन्धलाई बेवास्ता गर्दै नेपालले कहिले विपक्षमा मतदान गर्ने र कहिले अनुपस्थित हुने नीति अँगाल्दै आएको छ। ‘आज मैले परराष्ट्रमन्त्री (नारायणप्रसाद साउँद) लाई पनि देखेँ,’बजगाईंले प्रतिनिधिसभाको बुधबारको शून्य समयमा बोल्दै इजरायलसँगको सम्बन्धलाई बेवास्ता गरिएकोमा ध्यानाकर्षण गर्दै भने, ‘सन् २०१२ देखि सुरक्षा परिषद्मा लगातार २०२३ सम्म र २०१७ सालमा अनुपस्थित भएर इजरायलको विपक्षमा हामीले मतदाता गरिरहेका रहेछौं।’

उनले अगाडि भने, ‘हामीले कहिले सिरियालाई पनि मतदान गर्नुपर्ने अवस्था छ। इजरायलको विपक्षमा हामीले इरानलाई पनि मतदान गर्दा रहेछौं। हामी यस्तो दुःख (एडभसरी)बाट निस्कनु पर्नेछ। यस्तो भौगोलिक परिस्थितिबाट गुज्रेका देश इजरायल र नेपाल यस्तो लामो दौत्य सम्बन्ध छ।’

सांसद बजगाईंले परराष्ट्र नीतिमा नेपालले मित्र मुलुकलाई बिर्सेर निर्णय गर्ने गरेकोमा समेत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए। ‘हामीले आजसम्म पनि हाम्रो परराष्ट्र नीतिमा मित्रराष्ट्र र नजिकका मित्रलाई बिर्सदै गयौं,’उनले नेपाल सरकारको विरोधाभाषपूर्ण निर्णयबारे उजागर गर्दै भने, ‘त्यस्तै २०१० मा जर्मनीलाई मत नहालेर हामीले एरिना कन्भेन्सनमा युएईको पक्षमा मत दियौं।’

नेपालसँग दौत्य सम्बन्ध राखेर रक्षादेखि कृषिसम्मका वहुआयामिक क्षेत्रमा सहयोग गर्ने मित्र मुलुक इजरायलको विरुद्धमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा मतदान गरेकोप्रति चित्त दुखाउँदै आएको छ। भारतले बरु इजरायलसँगको सम्बन्धलाई ध्यानमा राखेर मतदान गर्दा विचार पु¥याउन थाले पनि नेपालको मतदान प्रक्रियाले उसलाई नमिठो लाग्ने गरेको छ।  

*सच्याइएकाेः संयुक्त राष्ट्रसंघको साधारण सभा हुनु पर्नेमा अन्याथा भएकाेले सच्याएकाे छ,मिति २०८०, असार १४ गते, बिहान १०ः४३ मा- प्रधान सम्पादक

प्रकाशित: १४ असार २०८० ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App