काठमाडौं- ७१ वर्षीय राम तामाङलाई यतिखेर गाउँगाउँमा मान्छे भेला भएको देख्दा रमाइलो लागेको छ। तर, उनी किन यसरी मानिस भेला भएका हुन् भनेर आफूलाई राम्ररी थाहा नपाएको बताउँछन्। 'गाउँमा सबै भेला भएर कुराकानी गरेको देख्छु, सबैले चुनाव आयो, चुनाव आयो भनेको मात्र सुन्छु,' भक्तपुर र काभ्रेको सिमाना नगरकोटको बसपार्कनजिकै भेटिएका उनले भने, 'तर हामी बूढाबूढीलाई चुनावबारे कसैले केही बुझाउँदैनन्।'
मतदाता शिक्षक सहरमै केन्द्रित हुँदा ग्रामीण मतदातालाई कसरी भोट हाल्ने भन्ने सामान्य जानकारीसमेत छैन।
वैशाख ३१ नजिकिँदै गर्दा चुनावी रौनक पनि उत्कर्षमा पुगेको छ। होटल, चिया पसलदेखि चोकचोकमा चुनावी चर्चा छ। जसरी चुनावी चर्चा बढेको छ त्यसरी नै गाउँगाउँमा मतदाता शिक्षा भने पुगेको छैन। मतदाता शिक्षक सहरमै केन्द्रित छन्। ग्रामीण भेगका अधिकांशलाई चुनावमा कसरी भोट हाल्ने भन्ने सामान्य जानकारीसमेत छैन। यो विषयमा पढेलेखेका पनि अलमलमै छन्।
यता निर्वाचन आयोगले भने मतदाता शिक्षा दिनकै लागि भनेर देशभर १९ हजार मतदाता शिक्षक तोकेको छ। तर, मतदातालाई मतदान शिक्षा बुझाउन खटाइएका स्वयंसेवक गाउँमै नगएको पाइएको छ। काठमाडौं उपत्यकाकै तीन जिल्लाका ग्रामीण तथा काठ क्षेत्रमा मतदाता शिक्षक पुगेका छैनन्। स्वयंसेवक सहर केन्द्रित हुँदा गाउँगाउँमा स्थानीयले मतदान प्रक्रियाबारे आफूलाई थाहै नभएको गुनासो गरेका छन्।
'चुनावमा भोट हाल्ने रहर त छ तर कसरी हाल्ने हो, थाहा छैन,' भक्तपुर सुडालका सन्तोष तिमिल्सिनाले भने, 'नबुझेर भोट हाल्दा खेर जान्छ भन्ने डर पनि छ, निर्वाचन आयोगले खटाएका स्वयंसेवक गाउँ आएर जानकारी गराए हामीले हालेको भोट खेर जाँदैनथ्यो।' ललितपुर खोकनाकी मीरा श्रेष्ठले पनि मतदाता शिक्षा दिन स्वयंसेवक नआएको बताइन्। उनले भनिन्, 'आयोगले सबैतिर मतदाता शिक्षक खटाएको छ तर सबै शिक्षक सहरमा केन्द्रित हुँदा हामीले भोट कसरी हाल्ने भन्ने थाहै पाएनौं। हारजितका लागि एक भोटको पनि ठूलो महŒव हुन्छ तर मतदाता शिक्षा नबुझेर भोट बदर हुने सम्भावना बढी छ।'
निर्वाचन आयोगले भने उपत्यकाका तीनै जिल्लाका निर्वाचन कार्यालयलाई मतदाता शिक्षक ग्रामीण भेगमा खटाउन निर्देशन दिएको छ। मतदाता शिक्षाबारे जानकारी दिनकै लागि भनेर भक्तपुरमा २ सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका १ सय ९१ मतदान केन्द्रमा मतदाता शिक्षा सञ्चालन भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेश राईले प्रत्येक मतदान केन्द्रमा एकजनाका दरले स्वयंसेवक खटाएको जानकारी दिए। 'जिल्लाका सबै मतदान केन्द्रमा मतदान शिक्षा सञ्चालन गरिरहेका छौं,' उनले भने, 'नमुना मतपत्र, पुस्तिका, पर्चा बनाएर गाउँगाउँमा स्वयंसेवक खटाएका छौं।' उनले गाउँ केन्द्रित भएर मतदाता शिक्षा दिन स्वयंसेवकलाई निर्देशन दिएको बताए। ७८ वटा मतदान स्थल रहेको भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ मतदाता छन्।
काठमाडौंमा पनि मतदातालाई सुसूचित गराउन ६ सय ८७ मतदान केन्द्रमा एकजना पर्नेगरी ७ सय ४२ स्वयंसेवक खटाइएको क्षेत्रीय निर्वाचन अधिकारी चन्द गौतमले बताए। 'स्वयंसेवकले गाउँगाउँ पुगेर मतदातालाई शिक्षा दिनुपर्छ,' उनले भने, 'नगएको पाइएा कारबाही गर्छौं।'
जिल्ला निर्वाचन कार्यालय ललितपुरले पनि मतदातालाई शिक्षा दिन जिल्लाका २ सय ६५ मतदान केन्›मा स्वयंसेवक परिचालन गरेको छ। तर उनीहरू गाउँसम्म नपुग्दा कसरी भोट हाल्ने भनेर सर्वसाधारणले थाहा पाएका छैनन्। प्रत्येक मतदान केन्द्रमा एकजना पर्नेगरी २ सय ६५ जना स्वयंसेवक खटाइएको निर्वाचन कार्यालय ललितपुरकी सूचना अधिकारी सरस्वती शर्माले जानकारी दिइन्। उनले स्वयंसेवकलाई सहरभन्दा ग्रामीण क्षेत्र केन्द्रित हुन निर्देशन दिएको बताइन। 'मतदानबारे जानकारी गराउन जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा पुग्न स्वयंसेवकलाई निर्देशन दिएका छौं,' उनले भनिन्, 'खटाएको ठाउँमा नजाने स्वयंसेवकलाई कारबाही गर्छौं।'
भोट हाल्ने यसरी
निर्वाचन आयोगकी कम्प्युटर अपरेटर लक्ष्मी गैरेले वडा सदस्यमा दुईजनालाई भोट हाल्न पाइने, दुईतिर भएको छापमा एकएकवटा रोजे पनि हुने र तलमाथि क्रस गरेर दल फरक पारेर भोट दिँदा पनि मत बदर नहुने बताइन्। 'मतपत्रमा दुइटा चिह्न राखेको एउटै पार्टीका दुईजना उठ्न सक्ने सुविधाका लागि हो,' उनले भनिन्, 'एकातिर एकजना वडा सदस्यका लागि एउटा चिह्न र अर्कोतिर अर्को वडा सदस्यका लागि दुइटा चिह्न हो।’
भोट कसरी हाल्ने भनेर थाहा पाउन निर्वाचन आयोगको निर्वाचनसम्बन्धी मोबाइल एप्स इसिएनले पनि सहयोग पुर्याउँछ। यो एप्स पाँच हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन्। यो एप्समार्फत मतदाता शिक्षा लिन सकिन्छ। भोट कसरी हाल्ने भनेर निर्वाचन आयोगको टोल फ्री नम्बर १६६००१४४२२२ मा फोन गरेर पनि थाहा पाउन सकिने आयोगले जनाएको छ।
प्रकाशित: २९ वैशाख २०७४ ०२:३५ शुक्रबार