समृद्ध र सुन्दर
आइतमान तामाङ
मेयर उम्मेदवार, कांग्रेस
वडैपिच्छे सम्भावना अध्ययन गरी पञ्चवर्षीय गुरुयोजना तयार गरिनेछ। गुरुयोजनाको मार्गचित्र अनुसार पूर्वाधार निर्माण गर्ने योजना छ। मेलम्चीलाई पर्यटकीय नगरी बनाइनेछ। समग्रमा सुन्दर र समृद्ध मेलम्ची बनाउने योजना छ।
तीन वर्षभित्र पुनर्निर्माण
डम्बर अर्याल
मेयर उम्मेदवार, एमाले
मेलम्ची खोला राजधानी लगेबापत लेबी लिइने छ र, त्यो नगर विकासमा लगाइनेछ। गुणस्तरीय शिक्षामा जोड दिँदै पर्यटन प्रवर्द्धन गरिनेछ। मेलम्चीका डाँडामा चिया खेती थालनी गर्दै उपयुक्त स्थानमा रुख, बिरुवा निकालेर फलफूल खेती गरिनेछ। यसरी कृषिलाई व्यावसायीकरण गर्दा रोजगारी सिर्जना हुनेछ। तीन वर्षभित्र सम्पूर्ण पुनर्निर्माण सक्ने र पाँच वर्षभित्र वडा कार्यालयसम्मका सडक कालोपत्रे गरिनेछ।
उपमहानगर बनाउन पूर्वाधार विकास
श्याम खड्का
मेयर उम्मेदवार, माओवादी केन्द्र
विकासको सम्भावना रहेको यो नगरलाई पाँच वर्षभित्र उपमहानगरपालिका बनाइनेछ। त्यसका लागि आवश्यक सडक, शिक्षा, खानेपानी, प्राविधिक शिक्षा, कृषि, पर्यटनलगायत पूर्वाधार विकास गरिनेछ। मेलम्ची सडकलाई कम्तिमा दुई लेनमा बिस्तार गर्ने योजना छ। नगरमा सबैले भत्केका घरका पुनर्निर्माण गर्दा नक्सा पासबापत ६० लाख रूपैयाँ संकलन हुन्छ। त्यो नगर विकासमा लगाइनेछ।
फणिन्द्र दाहाल
मेयर उम्मेदवार, राप्रपा
सानालाई ठूला र ठूलालाई बृहत सहरमा बिस्तार गर्दै सुन्दर मेलम्ची बनाइनेछ। राजधानी काठमाडौँबाट ३५ किमी दुरीमा मेलम्ची रहेकाले पर्यटन प्रवर्द्धन गरिनेछ। साँखुसम्मको सडकलाई पर्यटनमार्ग बनाइने छ। धौलेडाँडामा चिया फर्म स्थापना गरी चिया खेती विस्तार गरिनेछ। हरेक वडामा एक/एक मेडिकल डाक्टर र इन्जिनियर उत्पादन गरी पाँच वर्ष नगरमै बसेर काम गर्ने व्यवस्था मिलाइनेछ।
प्रस्तुति : ध्रुव दङ्गाल
प्रकाशित: २८ वैशाख २०७४ ०७:२५ बिहीबार