४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाँकेका स्थानीय सरकारको साढे ६ अर्ब बढी बजेट

खजुरा गाउँपालिकाको गाउँसभामा बजेट प्रस्तुत गर्ने तयारी गर्दै उपाध्यक्ष मञ्जु मल्ल। तस्बिर: नागरिक

बाँकेका स्थानीय तह(सरकार)ले साढें ६ अर्ब बढी बजेट प्रस्तुत गरेका छन्। सबै स्थानीय तहले असार १० गतेभित्रमा आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने नीतिगत ब्यवस्था रहेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका ८ वटै स्थानीय तहले ६ अर्ब ५३ करोड १७ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्। सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाले एक अर्ब ६७ करोड ५६ लाख १ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। १३ औं नगर सभामा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्धिन राईले बार्षिक बजेट प्रस्तुत गरेका थिए।

जिल्लाकै कोहलपुर नगरपालिकाले पनि एक अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। नगर सभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख संगिता कुमारी सुवेदीले बजेट प्रस्तुत गरेकी थिइन्। नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिइएको जनाएको छ।

यस्तै राप्ती सोनारी गाउँपालिकाले कुल ८० करोड ९१ लाख २८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ। गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे, भने उपाध्यक्ष मनिषासिंह थारुले उक्त बजेट प्रस्तुत गरिन्। बैजनाथ गाउँपालिकाले ६९ करोड ९९ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्यो। उपाध्यक्ष निर्मला रोकायले उक्त बजेट प्रस्तुत गरेकी हुन्। १३ औंँ सभामा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

जिल्लाको जानकी गाउँपालिकाले ४६ करोड १० लाख ८९ हजार बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले १३ औं गाउँसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्।  

बजेटमा सबैभन्दा बढी शिक्षातर्फ १४ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले पूर्वाधार विकासतर्फ १२ करोड ९१ लाख बजेट विनियोजन गरेको छ। संस्थागत क्षमता विकासतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। यसैगरी स्वास्थ्यतर्फ ५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ। उक्त सभामा गाउँपालिका अध्यक्षको तर्फबाट वडाअध्यक्ष टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

यसैगरी खजुरा गाउँपालिकाले कूल ८३ करोड ३९ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। १३ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले उक्त बजेट प्रस्तुत गरिन्। सोही सभामा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले नीति तथा कार्यक्रम प्रस्तुत गरे। गाउँपालिकाले सामाजिक विकासतर्फ ५ करोड ४५ लाख ९८ हजार, शिक्षातर्फ ३ करोड ५१ लाख ४६ हजार, आर्थिक विकासमा ३ करोड १४ लाख ६० हजार, कृषि तथा सिँचाइतर्फ १ करोड १२ लाख, स्वास्थ्यतर्फ ८५ लाख ५२ हजार बजेट विनियोजन गरेको जनाएको छ।

त्यस्तै नरैनापुर गाउँपालिकाले ४८ करोड ६२ लाख २ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ। उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवका तर्फबाट वडाअध्यक्ष एवम कार्यपालिका सदस्य कृष्णचन्द्र मौर्यले उक्त बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आगामी आर्थिक वर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। गाउँपालिकाले सामाजिक विकास क्षेत्रको लागि २० करोड, पूर्वाधार विकासका लागि १० करोड विनियोजन गरेको छ।

जिल्लाकै डुडुवा गाउँपालिकाले ४८ करोड ८४ लाख ३४ हजार बराबरको बजेट प्रस्ताव गरेको छ। गाउँपालिका उपाध्यक्ष साहिदा बानोले उक्त बजेट प्रस्तुत गरिन्। गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माण, चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना लगायत पूर्वाधार निर्माण गर्ने नीति ल्याएको छ।  

प्रकाशित: ११ असार २०८० १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App