१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

तालमेलको तेस्रो दिनमा कांग्रेस-माओवादी एकै मञ्चमा

चितवन- सत्ता साझेदार दल कांग्रेस र माओवादी केन्द्रबीच भरतपुरमा चुनावी तालमेल गर्ने केन्द्रीय तहमा सहमति भएको तीन दिनपछि शनिबार चितवनमा पार्टीका जिल्ला तहका नेता र उम्मेदवार एकै मञ्चमा देखिएका छन्। उनीहरूले भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर केन्द्रीय नेतृत्वबीच भएको सहमति र निर्देशन कार्यान्वयन गर्ने बताए।

 केन्द्रीय तहमा भएको सहमतिअनुरूप भरतपुरमा मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई कांग्रेसले र उपमेयरमा कांग्रेसका उम्मेदवारलाई माओवादीले सघाउनुपर्नेछ। सोहीअनुरुप कांग्रेसका मेयर पदमा उम्मेदवार दिनेश कोइराला र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता भएको छ। मेयर फिर्ता लिन भनेपछि कांग्रेसभित्र स्थानीय तहमा असन्तोष देखिएको थियो।

 पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले नै बिहीबार भरतपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पठाएको निवेदनका आधारमा कोइरालाको उम्मेदवारी फिर्ता भएको थियो। कांग्रेसका कार्यकर्ताले पार्टी सभापति देउवाविरुद्ध नाराबाजीसमेत गरेका थिए।

एमालेले कांग्रेसको मत तान्ने प्रयास थालिसकेको छ। अवस्था सामान्य बनाउन शनिबार दिउँसो कांग्रेस र माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेका हुन्। सो पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले मेयरमा कांग्रेसका उम्मेदवार रेणु दाहाल हुने र कांग्रेसले उनलाई विजयी बनाएरै छाड्ने घोषणा गरे।

 माओवादीबाट मेयर उम्मेदवार रहेकी रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। मतदाता नामावलीमा उनीसहित प्रधानमन्त्री दाहाल परिवारको नाम भरतपुर महानगरपालिका वडा नं. ४ मा छ। तर उनको चितवनमा स्थायी बसोबास भने छैन। रेणुले काठमाडौंमा राजनीति गर्दै आएकी छन्। कांग्रेसले पार्वती शाहलाई उपमेयरको उम्मेदवार बनाएको छ।

 'अब मेयर र उपमेयरको संयुक्त रूपमा प्रचारप्रसार हुनेछ। सम्भव भएसम्म दुवै उम्मेदवारहरूले संयुक्त रूपमा स्वयं उपस्थित भएर अधिकतम कार्यक्रम गर्ने छन्,' माओवादी केन्द्र चितवनका संयोजक ईश्वरी भट्टराईले भने। मेयरउपमेयरमा तालमेल भएर उम्मेदवारी फिर्ता लिए पनि वडाहरु हुने तालमेलका सम्बन्धमा अझै निर्णय आएको छैन।

 'वडाका विषयमा समन्वय गर्ने अधिकार वडा इकाइहरुलाई नै दिएका छौं। एक दुई दिनभित्र केही सहमतिहोला,' कांग्रेस चितवनका पार्टी सभापति जितनारायण श्रेष्ठले भने।

राष्ट्रिय रूपमा देखापरेका राजनीतिक घटनाक्रमका कारण कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुन आवश्यक भएको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताएका छन्। बिहीबार मात्रै उनै सभापति श्रेष्ठले चितवनमा काँग्रेस बलियो भएका कारण कसैसँग चुनावी तालमेल नहुनेभन्दै प्रेस विज्ञप्ति निकालेका थिए। बिहान उनले यस्तो विज्ञप्ति निकाले पनि दिउँसो केन्द्रीय रूपमा तालमेल भएको थियो।

 'लोकतन्त्रका लागि आन्दोलन गर्दा हिजो हामीलाई गोली हान्ने कमल थापा र एमालेबीच जसरी चुनावी तालमेल भएको छ त्यसले गम्भीर आशंका पैदा गरेको छ। पूर्व राजा ज्ञानेन्द्र, कमल थापा र एमाले अध्यक्ष ओली मिल्दैछन्। यो अनिष्टको संकट हो' सभापति श्रेष्ठले भने। त्यस कारण लोतान्त्रिक गणतन्त्रका पक्षधर माओवादी र कांग्रेस मिल्नुपरेको उनले बताए।

 एमालेले पनि शनिबार बिहानै पत्रकार सम्मेलन राखेर माओवादी कांग्रेस गठबन्धनविरोधी जनमत तान्ने प्रयासस्वरूप धारणा ल्याएको छ। पत्रकार सम्मेलनमा एमाले नेता सुरेन्द्र पाण्डेले एक्कासि भएको यो गठबन्धन अनौठो भएको बताए।

 'अहिले एकाएक अनौठा गठबन्धनहरु हुने गरेका छन्। बाबुराम जी र उपेन्द्रजी एउटै चुनाव चिह्न लिएर उठ्नुभएको छ। छ छवटा मधेसी दल एकीकरण भए। चितवनमा स्थानीय नेतृत्वको चाहना र मतदाताको भावनाविपरीत कांग्रेस–माओवादीको गठबन्धन भयो। मलाई लाग्छ यी सबै गर्ने कुनै एकै खालको अदृश्य शक्ति नै हुन्,'  पाण्डेले भने।

प्रकाशित: २४ वैशाख २०७४ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App