८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

उम्मेदवारीपछिको बखेडा

दाङ- सल्यान, बागचौर नगरपालिकामा दिइएको उम्मेदवारीप्रति माओवादी केन्द्रको ठूलो खेमा असन्तुष्ट बनेको छ। लोकमान बुढाथोकी (मेयर) र कल्पना पुन (उपमेयर) को उम्मेदवारी मापदण्डबाहिर गएर तय गरिएको भन्दै माओवादीका सात केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। पार्टीको कुनै जिम्मेवारीमा नरहने गरी प्रदेश कमिटीसमक्ष केन्द्रीय सदस्य ज्ञानबहादुर वली, टीकाराम वली, सेतीराम वली, हरिलाल डिसी, टंकप्रसाद शर्मा, सुम्निमा डिसी र कमला वलीले प्रदेश कमिटीसमक्ष सामूहिक राजीनामा दिएका छन्। 'उम्मेदवार चयनमा ठूलो अन्याय भएको छ,' राजीनामा दिएका केन्द्रीय सदस्य ज्ञानबहादुर वलीले नागरिकसँग भने, 'उम्मेदवारी चयन पार्टीको मापदण्डबाहिर गएर गरिएको छ।' उम्मेदवारी चयन माओवादीको प्रदेशस्तरीय कमिटीले गरेको थियो।

पार्टी जिम्मेवारीमा फर्कन उनीहरूको एकमात्रै सर्त छ– उम्मेदवार चयनको निर्णय पुनरावलोकन होस्।

केन्द्रीय सदस्य वलीले भने, 'आसन्न निर्वाचनका लागि यो निर्णय पार्टीको हितमा पक्कै हुनेछैन।' पार्टी जिल्ला कमिटीले भने यसलाई उम्मेदवार चयनका बेला देखिने सामान्य विवादका रूपमा अर्थ्याउँदै समस्या समाधान हुने दाबी गरेको छ। 'उहाँहरूको राजीनामापत्र प्रदेश कमिटीसम्म पुगेको छ,' पार्टी जिल्ला इन्चार्ज नेबबहादुर कुँवरले भने, 'उहाँहरूको असन्तुष्टि सामान्य हो र यसलाई पार्टीले मिलाएर लैजान्छ।'

यस्तो विवाद माओवादी केन्द्रमा मात्रै होइन, अन्य प्रमुख दलमा पनि देखिएको छ।

उम्मेदवारीप्रति एमालेभित्र पनि अहिले आन्तरिक विरोध चुलिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिकाको उम्मेदवारी चयनको विरोधमा त्यहाँको ठूलो खेमा विरोधमा उत्रिएको छ। 'बहुमत निर्णयलाई उल्ट्याएर उम्मेदवार चयन गरिएको छ,' गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी पवित्रा केसीले भनिन्, 'हामीहरू यो निर्णयको विरोधमा उत्रिएका छौं।' पवित्रालाई मेयरमा नतोकी पार्टीले लोकेन्द्र खड्कालाई उम्मेदवार बनाएको छ।

उक्त गाउँपालिकामा उपमेयरको उम्मेदवारी चयनको विषयमा मुख्य विवाद देखिएको छ। उपमेयरमा एमालेले कलावती बोहरालाई तोकेको छ। पार्टीको वडा कमिटीमै नरहेका व्यक्तिलाई उपमेयरको टिकट किन दिइएको भन्दै यो गाउँपालिकाका सय बढी एमाले कार्यकर्ताले कडा विरोध गरेका छन्। ' निर्णय सच्चिएन भने हामी स्वतन्त्र टिम तयार पारेर निर्वाचनमा जान्छौं,' केसीले भनिन्, 'जनमतको कदर नगरेर उम्मेदवार चयन गरिएकोमा हाम्रो कडा आपत्ति हो।' २० सदस्यीय त्रिवेणी गाउँ कमिटीमध्ये १५ सदस्यले उपमेयरका लागि फरक व्यक्तिलाई निर्णय गराएर सिफारिस गरेको भए पनि बहुमतको निर्णय उल्ट्याएर पार्टी गतिविधिमै नरहेका व्यक्तिलाई उम्मेदवार चयन गरिएको केसीले बताइन्। उम्मेेदवार चयन भएकी बोहरा शिक्षिका हुन्। 'राजनीतिमै नरहेको मान्छेलाई टपक्क टिपेर उम्मेदवार बनाउने निर्णय न्यायोचित होइन,' उनले भनिन्।

यस्तै विरोधकै कारण फालावाङ गाउँमा एमालेको चुनावी प्रचार अभियानमा असन्तुष्ट समुहले आक्रमण गरेको थियो। चुनावी कार्यक्रम चलिरहेकै बेला त्यहाँ एमालेका कार्यकर्ताले पार्टीको झन्डा च्यातिदिएका थिए।

यस्तै अन्तरविरोध नेपाली कांग्रेसमा पनि तीव्र देखिएको छ। छत्रेश्वरी गाउँपालिकाका तेजबहादुर बिष्ट कांग्रेस महासमिति सदस्य हुन्।  गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारको 'रेस' बाट बाहिरिएपछि उनले पनि टिकट वितरण न्यायोचित नभएको भन्दै पार्टी निर्णयको विरोध गरेका छन्। उनले आसन्न निर्वाचनमा पार्टीलाई सहयोग नगर्ने घोषणा गरिसकेका छन्। 'उहाँ टिकटको आकांक्षी हुनुहुन्थ्यो,' कांग्रेसका पूर्व केन्द्रीय सदस्य डिल्ली रेग्मीले भने, 'उहाँले टिकट नपाएपछि अहिले विज्ञप्ति प्रकाशित गरेर असहयोगको चेतावनी दिनुभएको छ।' निर्वाचनका बेला यस्ता विवाद सामान्य भए पनि समाधान तत्काल हुनुपर्ने कांग्रेस पूर्वकेन्द्रीय सदस्य रेग्मी बताउँछन्। 'अहिले सल्यानका हरेक पार्टीमा आन्तरिक विवाद छ,' उनले भने 'टिकट वितरणपछि देखिने यस्ता असन्तुष्टिका स्वर समयमै बन्द हुनुपर्छ।' तीन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानमा अधिकांश दलले उम्मेदवार टुंगो लगाइसकेका छन्।

प्रकाशित: १९ वैशाख २०७४ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App