२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

खोटाङमा थपिए चार मतदान स्थल

खोटाङ– खोटाङमा चार वटा मतदान स्थल थपिएका छन्। जिल्लाका पुराना १३२ मतदान स्थललाई कायम राख्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, केपीलासगढी गाउँपालिका–१ फेदि र खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा एक–एक वटा मतदानस्थल थपिएको हो।

भौगोलिक बिकटताका हिसावले टाढा पर्ने ठाउँमा मतदानस्थल थप गर्न मतदान केन्द्र पुनरावलोकन समितिले सिफारिस गरेको आधारमा निर्वाचन आयोगले चार मतदान स्थल थप गरेको हो। यससँगै जिल्लामा मतदानस्थल संख्या १३६ पुगेको छ। दुरीका हिसावले गाउँबाट मतदानस्थल आउन र जानका लागि ५ किलोमिटरभन्दा बढी हिँड्नुपर्ने अवस्थाका ठाउँका मतदाताका लागि थप मतदानस्थल सिफारिस गरिएको मतदान केन्द्र पुनरावलोकन समितिले जनाएको छ।

खोटाङमा मतदान केन्द्रको संख्या पनि घटाइएको छ। २०७० सालमा १७४ मतदान केन्द्र रहेको जिल्लामा यसपल्ट १७३ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी खत्रीले बताए। ‘यसअघि एक हजारभन्दा बढी मतदाता भए मतदान केन्द्र थप हुन्थ्यो,’ खत्रीले भने, ‘यसपल्ट भने एक हजार ५० मतदाता भए मात्र अर्को मतदान केन्द्र थप हुने भएपछि मतदान केन्द्र घटेको हो।’

आगामी बैसाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। दिक्तेलमा जिल्ला न्यायाधीस शान्तिप्रसाद आचार्य मुख्य निर्वाचन अधिकृत रहेको कार्यालय स्थापना गरिएको हो। मतपत्र, मतपेटिका व्यवस्थापन, मतदान अधिकृत तोक्ने, कर्मचारी खटाउने, उम्मेदवारको मनोनयन गर्ने, मत गणना गर्ने, विजेता घोषणा लगायतका काम गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्वाञ्चल सिँचाई डिभिजन कार्यालयमा स्थापना गरिएको छ।

प्रकाशित: ४ वैशाख २०७४ ०५:४८ सोमबार

खोटाङमा थपिए मतदान स्थल