१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको छ: गृहमन्त्री

काठमाडौँ- उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाएर काम गरिरहेको बताएका छन्।
आगामी निर्वाचन तयारीका सम्बन्धमा भइरहेको प्रगतिबारे राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री निधिले निर्वाचनका लागि सामान्य, संवेदनशील र अतिसंवेदनशील क्षेत्रका रुपमा किटान गरी त्यसैअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको बताउँदै निर्वाचनको सन्दर्भमा स्थानीय तहबाट प्राप्त सुझावका आधारमा जोखिम पहिचान, सुरक्षा विश्लेषण र रणनीति तय गरिएको जानकारी दिए।

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दुई लाख ३१ हजार सुरक्षा फौज खटिनेछन्। गृह मन्त्रालयले सुरक्षा निकायबीचमा समन्वय, चेन अफ कमान्डसहितको सुरक्षा योजना बनाएको छ।

गृहमन्त्री निधिले पछिल्लो संविधान संशोधन प्रस्ताव पारित गर्न नेकपा (एमाले)ले सहयोग गर्ने तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना मागका सम्बन्धमा अलिकति लचकता देखाउने हो भने एकैसाथ मुलुकभर निर्वाचनको वातावरण बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, “निर्वाचनमा कुनै पनि नागरिकलाई मतदान गर्ने अधिकार भएजस्तै दलबीचको सहमति र सहकार्यबाट निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान पुग्दछ । निर्वाचन आयोग र सुरक्षाबीचको प्रयोगले मात्रै सम्भव हुँदैन, बहुदलीय लोकतन्त्रमा दलको भूमिका निकै अहम् हुन्छ, राजनीतिक असहजता बाँकी नै छ, निर्वाचनका लागि सहज वातावरण होस् ।” उनले राजनीतिक विषयलाई वार्ता र संवादका आधारमा सम्बोधन गरेर निर्वाचनलाई सफल पार्नेतिर काम गर्नुपर्नेमा जोड दिए। रासस

 

 

प्रकाशित: ३ वैशाख २०७४ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App