१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मधेसवादी दलसँग सहमति गरेर निर्वाचनमा जान सुझाव

काठमाडौँ- प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका नेताहरुले मधेसवादी दलसँग सहमति गरेर मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित २ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद र पार्टी जिल्ला सभापतिबीचको छलफलबाट यस्तो सुझाव आएको हो।

केन्द्रीय सदस्य अजयकुमार चौरसियाले मधेसका समस्या समाधान गरेर मात्र निर्वाचनमा जान पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको बताए। समस्या समाधान गर्न एमाले लचक नभएको र मधेसवादी दल आफूले उठाएका विषय टुङ्गो नलागी निर्वाचनमा नजाने अडानबाट बीचको बाटो निकालेर स्थानीय तहको निर्वाचन गरिनुपर्नेमा उनले जोड दिए।

अहिलेकै अवस्थामा २ नं प्रदेशमा निर्वाचन गरिए जनधनको क्षति हुनेतर्फ आठवटा जिल्लाका पार्टी सभापतिले नेतृत्वलाई जानकारी गराएका छन् । प्रदेशका जनता र मधेसवादी दलका नेता पनि निर्वाचनका लागि सकारात्मक रहेकाले छिटो सहमति गरी निर्वाचनको वातावरण बनाइनुपर्ने धेरैको माग रहेको सर्लाहीका पार्टी सभापति नागेन्द्रकुमार रायले बताए।
छलफलमा महोत्तरीका सभापति महेन्द्रकुमार राय, पर्साका अजय द्विवेदी, रौतहटका कृष्ण यादव, धनुषाका रामसरोज यादव, सप्तरीका दिनेश यादव, बाराका जयचन्द्र चौरसिया, सिराहाका सभापति रामचन्द्र यादव, केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सांसद सुरेन्द्र चौधरीलगायतले २ नं प्रदेशका गाउँपालिका र नगरपालिकाको निर्वाचन यथास्थितिमा गर्न नसकिने भएकाले निर्वाचनको वातावरण बनाउन सहमति गरिनुपर्नेमा जोड दिएका थिए ।

बैठकको सुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् केन्द्रीय सदस्य रमेश लेखकले सहमतिका लागि मधेसवादी दलकै सहमतिमा संशोधन प्रस्तावलाई परिमार्जन गरी व्यवस्थापिका–संसद्मा दर्ता गरिएको जानकारी गराए। रासस

 

प्रकाशित: २ वैशाख २०७४ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App