१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

बजेटबारे गोकर्ण बिष्टको टिप्पणीः जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन्।

उनले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै रहेको टिप्पणी गरेका हुन्।

आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संसद्मा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका हुन्। उनले बजेट औपचारिकतामा मात्रै सीमित भएको टिप्पणी समेत गरे।

आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको उनको भनाइ थियो। सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको उल्लेख गरे। बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतिलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने उनको दाबी थियो।

उनले अर्थमन्त्री डा.प्रकाश शरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको जिकिर गरे।

उनले विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन नसकेको बताए। सचिव बिष्टले न्याय स्थापित गर्ने गरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहुँच भएका जिल्ला मात्रै बजेट जाने उल्लेख गरे।

सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आस गर्ने भन्दै उनले प्रश्न गरेका छन्। सचिव विष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताए।

उनले वर्तमान सरकार न्यून आय भएका गरिब जनताप्रति संवेदनशील नभएको आरोप लगाएका छन्।

प्रकाशित: २८ जेष्ठ २०८० ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App