६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

म्यादी प्रहरीलाई खुल्ला चौरमा लिखित परीक्षा

म्यादी परीक्षाका लागि लिखित परीक्षा दिन तयार रहेका परीक्षार्थी । तस्विर : अनिल भण्डारी

सिन्धुली – सोमबार बिहान आठ बज्न नपाउँदै सदरमुकाम सिन्धुलीमाढीमा रहेको खुल्ला चौर भरिभराउ थियो । हातमा कलम बोकेर चौर दौडने धेरै देखिन्थे । आगामी वैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको जागिर खानका लागि लिखित परिक्षा दिन जिल्लाका युवायुवतीहरू चौरमै परीक्षा दिन उपस्थित भएपछि चौर भरिभराउ भएको हो । 
    खुल्ला आकासमुनी चर्को घाममा बसेर लिखित परीक्षा दिई म्यादीमा जागिर खान स्थानीय तम्सिएका थिए । बिहानै सुरु गर्ने भनिएको लिखित परीक्षा ९ बजेर १५ मिनेट जाँदा सुरु गर्दा चर्को घाम लागिसकेको थियो । झन्डै दुई हजार जनाले लिखित परीक्षामा भाग लिएपछि प्रहरीलाई चौरमै परीक्षार्थीको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।  स्थानीय निर्वाचनका लागि मतदानस्थलमा सुरक्षार्थ खटाइने म्यादी प्रहरी मागेको भन्दा तीन गुणा बढीले आवेदन दिएपछि प्रहरीले भर्ना छनौट प्रक्रियालाई समेत कडाई गरी छनौट अगाडी बढाएको थियो । जिल्लाबाट ९ सय ९७ जना म्यादी प्रहरी भर्ना गर्न आवेदन खुल्ला गरिएको भएपनि ३ हजार २ सय जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उत्तम बरालले जानकारी दिए । मागेको भन्दा तीन गुणा बढीको आवेदन परेको छ, उनले भने–‘म्यादी प्रहरीका लागि सेटअप,पुसअप मेडीकलजाँच लिखित मौखिक परीक्षा उर्तिण गर्नुका साथै शारीरीक परीक्षण समेत गरिने छ ।’ परीक्षा पास गर्ने अब्बल र योग्य व्यक्ति मात्र म्यादी बन्ने निश्चित छ, उनले भने, मागिएको भन्दा तेब्बर भएकाले पनि सक्षम छनौट हुनेमा कुनै शंका छैन ।’ चर्को घाममै सेटअप पुसअपबाट उर्तिण भएका युवायुवतीहरुलाई जिल्ला प्रहरी कार्यालयले खुल्ला चौरमै लिखित परीक्षा दिने व्यवस्था मिलाएको थियो ।
 लाइनबद्ध राखेर प्रहरीले प्रश्नपत्र दिएर परीक्षा गराएको हो । ठूलो संख्यामा आवेदन परेपछि प्रहरीले सबै प्रक्रिया पुरा गरेर छनौट गर्ने भनेपछि लिखित परीक्षा दिन चौरमै स्थानीय उपस्थित भएका हुन् । अन्य प्रक्रिया पार गरेर पनि १९ सय बढी परीक्षार्थी बाँकी छन्, यत्रो संख्यामा रहेका परीक्षार्थीलाई खुल्ला चौरमा राखेर परीक्षा दिन लगाउनुको विकल्प देखिएन, प्रहरी इन्स्पेक्टर बरालले नागरिकसँग भने अन्य स्थानमा अटाउने कुरै भएन ।
    थोरै समयमा पैसा र प्रहरी सरह सुविधा पाउने भएपछि स्थानीय युवा मात्र नभएर वृद्ध देखिने पुरुषहरूको समेत आवेदन परेको थियो । ५० वर्षदेखि माथिका पुरुषले पनि आवेदन दिएर परीक्षामा सामेल भएको प्रहरीले जनाएको छ । झन्डै डेढ महिनामै ३५ हजार रुपैँयाभन्दा बढी पैसा हात पर्ने भएपछि स्नातक उर्तिण गरेकासम्मले आवेदन दिएर म्यादी बन्ने इच्छा देखाएका हुन् । बेरोजगारी समस्या ठूलो छ एक स्थानीयले भने दुई महिनाको भएपनि जागिर खुलेकाले शिक्षित युवाहरु पनि आकर्षित भएका हुन् । गत संविधानसभाका दुईओटै निर्वाचनमा जिल्लामा म्यादी प्रहरीका लागि न्यून संख्यामा आवेदन परेको भएपनि यसपटक उत्साहजनक आवेदन परेको प्रहरीले जनाएको छ । निर्वाचनको मिति नजिकिएकाले छोटो समयमै दिन रात नभनी प्रहरी प्रशासन खटेर म्यादी प्रहरी भर्ना छनौट गरिरहेको प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले जनाए । म्यादी प्रहरीको लिखित परीक्षा निरीक्षण गर्न बिहानै खुल्ला चौरमै पुगेका प्रजिअ कार्कीले जिल्लाबाट गर्नुपर्ने तयारीका लागि आफुरू तिब्र रुपमा खटेको बताए । 
म्यादी प्रहरीका लागि नेताको सोर्स
मागेको भन्दा तीन गुणा बढी आवेदन परेपछि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायलाई छनौटमा समस्या भएको छ । म्यादी प्रहरीमा जागिर लगाइदिन भन्दै नेताहरु सोर्स लगाउन थालेपछि थप समस्या प्रहरीलाई परेको हो । प्रहरीकै माथिल्लो दर्जादेखि जिल्लाका ठूला दलका प्रमुख तथा चर्चित नेताहरूनै आफ्नो मान्छे छनौट गरिदिन भन्दै बिहानदेखि बेलुका सम्म प्रहरीकहाँ धाउँछन्, प्रहरीस्रोतले भन्यो, त्यसबाट झन् समस्या परेको छ । तर प्रहरीले भने आवश्यक भन्दा तेब्बर आवेदन परेपछि प्रहरीमा जागिर खान आवश्यक सम्पूर्ण प्रक्रियालाई अवलम्बन गरेर छनौट गरिने र निश्पक्ष छनौट हुने बताएको छ । 

 

प्रकाशित: २१ चैत्र २०७३ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App