२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर १- उपमहानगरपालिकामा नेतृत्वका आकांक्षी

उम्मेदवार बन्न होडबाजी

विनोद सुवेदी/विराटनगर

स्थानीय तहको निर्वाचनमा विराटनगर उपमहानगरपालिकाको प्रमुखका लागि प्रमुख दलहरूमा होडबाजी सुरु भएको छ। आकांक्षी धेरै भएपछि पार्टीका कार्यक्रममा उम्मेदवारी घोषणा गर्ने र नेतृत्व रिझाउने होड सुरु भएको हो।

मेयरका लागि हालसम्म कांग्रेसबाट एक दर्जन बढी आकांक्षी देखिएका छन्। कांग्रेस नेताहरूले औपचारिक कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन्। मेयरका लागि मोरङ कांग्रेसका सचिव नागेश कोइराला केन्द्रीय नेतृत्वस“ग लबिङमा छन्। पटकपटक पार्टीको महŒवपूर्ण जिम्मेवारीसमेत सम्हालिसकेका कोइरालाले विराटनगर उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिन लागेका हुन्।

प्रदेश नम्बर एकमा रहेका तीन उपहानगरपालिकामा प्रमुख दलहरू  कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपादेखि मधेसी मोर्चामा आबद्ध दलले स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी तीव्र पारेका छन्।

विराटनगर उपमहानगरपालिकाका कांग्रेस नगर सभापति भीम पराजुली पनि मेयर पदका मुख्य दाबेदार छन्।  विद्यार्थी राजनीतिकालदेखि परिचित युवा नेता पराजुलीले टिकट पाए सजिलै चुनाव जित्न सकिने आ“कलन पार्टीभित्रैबाट हुन थालेको छ। पार्टीमा दुईपटक नगरको नेतृत्व गरिसकेकाले मेयर पदमा उम्मेदवारी दिन लागेको उनले बताए। उनले भने, 'दुईपटक नगरसभापति भएर पार्टीको नेतृत्व गरिसकेकाले अब मेयर पदमा उम्मेदवारी दिन लागेको हु“।'

मेयरमा मारवाडी समुदायका फूलकुमार लालवाणीले पनि दाबी गरेका छन्। उनलाई सांसद अमृत अर्यालको सहयोग छ।  कांग्रेसका पुराना नेता राजु थापा, मनोज बस्नेत, विश्वनाथ रिजालले पनि आफ्नो दाबेदारी घोषणा गरिसकेका छन्। यस्तै रुक्मिणी कोइराला, अरुण गुप्ता, राजेश गुप्ता, मृदुला कोइराला, विकास पराजुली पनि मेयरको आकांक्षी छन्।

मेयर पदका आकांक्षीले आआफ्नो तरिकाले चुनावी तयारी गरिरहेका छन्। उनीहरू नेता, कार्यकर्ता भेटघाट, छलफल, परामर्शमा व्यस्त छन्। पुरानो र ठूलो पार्टी भएकाले आकांक्षी धेरै हुनु स्वाभाविक भएको कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू बताउ“छन्। पार्टीमा गरेको योगदान, लोकप्रियतालगायतका आधारमा उम्मेदवार टुंगो लगाउने तयारी कांग्रेसले गरिरहेको उनले जनाए।

एमालेमा भने कांग्रेसमा जस्तो धेरै आकांक्षी  देखिएका छैनन्। एमालेबाट मेयरका लागि तीन जनाको नाम चर्चामा छ। एमालेका नगर अध्यक्ष सागर थापा, पूर्वजिल्ला अध्यक्ष महेश रेग्मी र बाबुराम कार्कीको चर्चा छ। एमालेबाट नगरको नेतृत्व गरिरहेका युवा नेता सागर थापालाई मेयरको उम्मेदवार बनाउने तयारी भइरहेको जिल्लास्तरीय नेताहरूको दाबी छ। 

एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित र जिल्ला अध्यक्ष विनोद ढकालको चर्चा पनि छ। तर, अहिलेको उपमहानगरपालिका महानगरपालिका बनेको अवस्थामा पण्डित र ढकालमध्ये एकलाई मेयरको उम्मेदवारी दिने तयारी भएको पार्र्टी निकट स्रोतले जनाएको छ।

माओवादी केन्द्रले भने विराटनगर उपमहानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार घोषणा गरिसकेको छ। माओवादीले भोगेन्द्र यादवलाई मेयर र नमिता न्यौपानेलाई उपमेयरको उम्मेदवारी दिएको हो। माआवादी केन्द्रका मोरङ संयोजक कुशल लिम्बूले स्थानीय चुनावका लागि पार्टीले प्रचारप्रसारलगायतका तयारी गरिरहेको जानकारी दिए। उनले विराटनगरको मेयर र उपमेयरको उम्मेदवार तय भइसके पनि चैत २४ गते पार्टीले मोरङका १७ वटै स्थानीय तहका लागि सबै उम्मेदारको नामावली सार्वजनिक गर्ने जानकारी दिए।

आन्दोलनरत मधेसी मोर्चा आबद्ध दलहरूले पनि आन्दोलनका कार्यक्रम भन्दै भेला, छलफललगायतका  गतिविधि तीव्र पारेका छन्।  निर्वाचन आयोगमा दल दर्ता गरेर निर्वाचनका लागि तयारी अवस्थामा रहेका मोर्चा आबद्ध दलका नेताको नामसमेत विराटनगर उपमहानगरपालिकाको मेयर पदका लागि चर्चामा छ।  मेयरमा संघीय समाजवादी फोरम नेपालका केन्दीय सदस्य जयराम यादवको नाम चर्चामा छ।

यादवले जनताले रुचाएको हुनाले आफ्नो नाम चर्चामा ल्याएको हुन सक्ने बताए। यादवले आफूले स्थानीय तहको निर्वाचनमा कुनै पदमा इच्छा व्यक्त नगरेको दाबी गरे। उनले पार्टी आन्दोलनमा रहेका कारण यतिबेला आन्दोलनकै कार्यक्रममा व्यस्त रहेको जानकारी दिए। मेयरमा अधिकांश पुरुषको नाम चर्चामा रहे पनि उपमेयरमा भने  सबै पार्टीबाट महिला उम्मेदवारको नाम चर्चामा छ।

०००

आकांक्षीहरू लबिङमा

रोहित राई/धरान

दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनले राजनीतिक दलका नेता, कार्यकर्तामा चुनावी सरगर्मी बढाएको छ।स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारका  आकांक्षीको लर्काे लागेको छ।

सुनसरीका दुई उपमहानगरपालिकामध्ये धरानमा प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मेयर–उपमेयरको उम्मेदवार बन्न आन्तरिक लबिङ गरिरहेका छन्।

संसद्मा चौथो ठूलो दल राप्रपा र निर्वाचन बहिष्कार गरेको मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल पनि धरानमा आन्तरिक रूपमा निर्वाचनको तयारीमा जुटेको छ। तर, मेयरमा जति आकांक्षी दौडधुपमा छन्, उपमेयरमा त्यति धेरैको चासो देखिँदैन।

धरानमा एमाले, कांग्रेस र माओवादी केन्द्रमा उम्मेदवारका आकांक्षी धेरै छन्। कुनै पनि पार्टीले उम्मेदवार तय नगरे पनि ती पार्टीका आकांक्षी नेताहरू कार्यकर्ता भेटघाटमा व्यस्त रहेको ती पार्टीका स्थानीय नेताहरू बताउँछन्। धरानमा कांग्रेसबाट मेयरमा चार जना आकांक्षी देखिएका छन् भने उपमेयरमा पनि उत्तिकै संख्यामा छन्।

विराटनगर, इटहरी र धरान उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार बन्न स्थानीयदेखि जिल्लास्तरीय नेताहरूले आफ्नो दलभित्र आन्तरिक हिसाबले लबिङ गरिरहेका छन्। त्यति मात्र होइन, यी उपमहानगरपालिकामा सांसद भइसकेका र केन्द्रीय स्तरका नेताहरूको समेत नजर परेको छ।

मेयरको आकांक्षीमा कांग्रेसका पूर्वनगरसभापति एवं एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राई, वर्तमान सभापति तिलक राईसँगै कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङ र महासमिति सदस्य पर्वत राई आकांक्षी छन्। पूर्वनगरसभापति राई कांग्रेस सभापति देउवा पक्षधर र अन्य आकांक्षी नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्। यस्तै, उपमेयरमा मीना पुलामी, श्यामा रेग्मी, उर्मिला प्रधानसँगै शिला ब्रजाचार्य र हिमाल राईको नाम चर्चामा छ। तर, उनीहरू मेयरका आकांक्षीजस्तो दौडधुप छैनन्।

एमालेबाट मेयरमा नगर अध्यक्ष तारा सुब्बासँगै जिल्ला कमिटी सदस्य एवं धरान नगर सहइन्चार्ज जयकुमार राई, जिल्ला उपाध्यक्ष रमेश बस्नेतको नाम चर्चामा छ। तर, धरानमा दोस्रोपटक एमाले अध्यक्षको नेतृत्व सम्हालिरहेका सुब्बालाई मेयरको बलिया आकांक्षी मानिएको छ।

उपमेयरमा सावित्री श्रेष्ठ, वेणु काफ्ले, मञ्जु भण्डारी र निर्मला राईको नाम चर्चामा छ। श्रेष्ठलाई यसअघिको दुवै संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनाए पनि सभासद्मा नपारिएकाले उपमेयर उम्मेदवार बनाउनुपर्ने मत पनि छ। एमाले जिल्ला कमिटी सदस्यसँगै अनेमसंघकी जिल्ला कार्यवाहक अध्यक्ष काफ्ले र एमाले जिल्ला सदस्य भण्डारी उपमेयरका आकांक्षी हुन््।

मेयरका आकांक्षीका रूपमा चर्चामा रहेका एमाले जिल्ला उपाध्यक्ष रमेश बस्नेत भने व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टीको निर्णय महŒवपूर्ण हुने बताउँछन्। 'को उम्मेदवार भन्दा पनि पार्टी, संगठनको काममै बढी केन्द्रित छौं, व्यक्तिगत आकांक्षाको कुरा होइन, पार्टीले निर्णय गर्छ', उनी भन्छन्।

स्थानीय निर्वाचनलाई लक्षित गरेर माओवादी केन्द्र पनि संंगठन विस्तार र कार्यकर्ता भेटघाटमा व्यस्त छ। माओवादीमा नगर संयोजक चोत्लुङ, सहसंयोजक राम आङबुहाङसँगै सहइन्चार्ज अशोक राई, दिलबहादुर रामदाम, भूमिका चौलागार्इं र केन्द्रीय सदस्य तथा जिल्ला कार्यालय सदस्य अइन्द्र बेघा मेयरका आकांक्षी छन्। उपमेयरमा कमला राई, चेतना श्रेङ, उमिता बराइलीसँगै दीपेश श्रेष्ठ र रमेश राईको नाम चर्चामा छ। 'हाम्रो पार्टीको संगठन विस्तार र भेटाघाट अभियान चलिरहेको छ', बेघाले भने, 'चैत २१ को आसपासमा उम्मेदवारको नाम तय गर्छौं।'

प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी अभियान तीव्र पारिरहदा राप्रपाले पनि वडावडामा अभियान लिएर मतदातामाझ पुगेको छ। राप्रपामा पनि पूर्वजिल्ला उपाध्यक्ष एंव केन्द्रीय पार्षद हरिकृष्ण श्रेष्ठ, धरान उपमहानगर अध्यक्ष जुद्ध लोहनी, उपाध्यक्ष प्रकाश राई आकांक्षी छन्। उपमेयरमा अञ्जली आचार्य र ज्योति विकको नाम चर्चामा छ। 'अहिले पार्टी चुनावी अभियानमा छौं, उम्मेदवारको नाम पनि चाँडै तय गर्छाैं', नगर अध्यक्ष लोहनीले भने।

संविधान संशोधनको माग लिएर आन्दोलनरत मधेसी मोर्चाको घटक संघीय समाजवादी फोरमले पनि भित्रभित्रै चुनावी तयारी गरिरहेको छ। फोरमले धरानमा चैत १९ गतेदेखि वडा भेला सुरु गर्दैछ। यसको उद्देश्य संगठन विस्तारसँगै आकांक्षीको नाम ल्याएर पार्टीमा छलफल गर्ने हो। अहिले फोरममा नगर अध्यक्ष पारस काङमाङसँगै लिम्बुवान प्रदेश कमिटी सदस्य गजेन्द्र इस्वो, विजय लिम्बू, किरात प्रदेश कमिटी सदस्य मानभगत चाम्लिङ, पूर्वजिल्ला सचिव एवं हालका सदस्य ताजुब लिम्बू र क्षेत्रीय अध्यक्ष राम राईको नाम चर्चामा छ।

उपमेयरमा एइसा सुनुवार, बिना पुमा, सुमित्रा राई र रीता काङमाङको नाम चर्चामा छ। 'आन्दोलनसँगै निर्वाचनको आन्तरिक तयारीमा जुटेका छांै, वडा भेला त्यसैको लागि हो', फोरम जिल्ला सदस्य ताजुब लिम्बूले भने। साबिक पाँचकन्या गाविस र विष्णुपादुका गाविस समायोजन भएपछि धरान उपमहानगरको कुल जनसंख्या एक लाख ३७ हजार सात सय पाँच छ। तीमध्ये ७४ हजार पाँच सय ४५ मतदाता छन्। पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा धरानमा हाल २० वटा वडा कायम भएको छ।

 

आन्तरिक प्रतिस्पर्धा तीव्र

अमर खड्का/इटहरी

स्थानीय तहको निर्वाचनका लागि इटहरी उपमहानगरपालिकामा नेतृत्व हात पार्न उम्मेदवार बन्ने दौडमा दलहरूभित्र आन्तरिक प्रतिस्पर्धा सुरु भएको छ ।  निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायतका दलबाट नेतृत्व गर्न चाहने आकांक्षी पार्टीको गुट समातेर उम्मेदवार बन्न सक्रिय भएका छन्।

कांग्रेसबाट मेयरका लागि हेमकर्ण पौडेल लागेका छन्। पौडेल उपमहानगरपालिका सभापतिसमेत हुन्। यस्तै, सुनसरी क्षेत्र नं. २ का क्षेत्रीय सभापति मणिराम श्रेष्ठ र इटहरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रोहित प्रसाई पनि उम्मेदवार बन्न सक्रिय रूपमा लागेका छन्।

मेयरका लागि पौडलसँगै श्रेष्ठ र प्रसाईले गुटगत लबिङ सुरु गरेका छन्। नयाँ संरचनामा मेयर र उपमेयरमध्ये एक महिला हुनुपर्ने प्रावधानअनुसार विमला ढकाल र नेपाल महिला संघ इटहरी सभापति गीता श्रेष्ठ उम्मेदवारको लबिङमा छन्। मेयरका लागि हेमकर्ण उम्मेदवार भएमा उपमेयर गीताको सम्भावना रहेको कांग्रेसले जनाएको छ। मेयरमा रोहित र मणिमध्ये एक भए विमलाको सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन्।

एमालेबाट मेयरका लागि द्वारिकलाल चौधरी, सर्वध्वज सावा र रामप्रसाद चौलागार्इं उम्मेदवार बन्न सक्रिय छन्। उम्मेदवार बन्नका लागि याम सुब्बासमेत दौडमा छन्। द्वारिकलाल एमाले जिल्ला अध्यक्ष हुन् भने सर्वध्वज इटहरी नगरपालिकाका पूर्वमेयर हुन्। यस्तै, रामप्रसाद एमाले इटहरीका इन्चार्ज हुन्।

उपमेयरका आकांक्षीमा लक्ष्मी गौतम, अमृता सुब्बा र अमला श्रेष्ठको नाम चर्चामा छ। पार्टीले मेयरका लागि द्वारिक र सर्वध्वजमध्ये एकलाई छनोट गरेमा गुटगत र जातीय सन्तुलन मिलाउने क्रममा उपमेयरमा लक्ष्मी गौतमको सम्भावना बढी रहेको एमालेका स्थानीय नेताहरू बताउँछन्। यस्तै, रामप्रसादलाई मेयरमा छनोट गरेमा उपमेयरमा अमृता सुब्बाको सम्भावना रहेको पार्टीले जनाएको छ। उपमेयरमा अमलाको सम्भावना पनि उत्तिकै छ।

माओवादी केन्द्रभित्र भने उम्मेदवार हुनेमध्ये पुरुषबाट मेयरको उम्मेदवार भएमा सागर सुवेदी र महिलाबाट भएमा शारदा पोखरेलको चर्चा छ। तर, मेयरका लागि सुवेदी र उपमेयरमा पोखरेल छनोटमा पर्ने सम्भावना बढी छ। मेयरका लागि हिमाल सुवेदी र शिव डाँगीको चर्चा पनि उत्तिकै छ।

स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका लागि रोहित कार्कीको पक्कापक्कीजस्तै भइसकेको छ। उनी राप्रपाका जिल्ला अध्यक्ष हुन्। राप्रपाबाट रामु पोखरेल पनि आकांक्षी रहेकोमा वरिष्ठताका आधारमा कार्कीलाई छाड्ने घोषणा गरेसँगै पक्कापक्की भएको हो।  कार्की जिल्ला विकास समिति सुनसरीको उपसभापति र खनार गाउँ पञ्चायत हुँदा प्रधानपञ्च भएका थिए। उपमेयरका लागि राप्रपाबाट माया रायमाझीको चर्चा छ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयरका लागि कोविदजंग कार्की, अरुण गच्छदार र कृष्णकुमार चौधरीको नाम चर्चामा छ जसमध्ये बढी सम्भावना कार्कीको रहेको पार्टीले जनाएको छ। उपमेयरका लागि उर्मिला चौधरी र सुशीला चौधरीको नाम चर्चामा छ।

कांग्रेसले उम्मेदवार छान्नुपूर्व अहिले स्थानीय तहको संरचनाअनुसार सबै स्थानमा भेला र कार्यक्रम गरिहेको जिल्ला सभापति राजीव कोइरालाले बताए। उनले पार्टी केन्द्रले सकुर्लर गरेको निर्देशनबमोजिम वैशाख ७ भित्र उम्मेदवार टुंगो लगाइसक्ने बताए। 

माओवादी केन्द्रले चुनावी रणनीति बनाउने क्रममै इटहरीमा शारदा पोखरेल र हिमाल सुवेदीलाई संयोजक तोकिसकेको छ। माओवादी नेता सन्तोष थारूले मेयरको टुंगो लगाएपछि मात्र उपमेयरको टुंगो लगाउने बताए।

प्रकाशित: १८ चैत्र २०७३ ०५:४४ शुक्रबार

प्रदेश नम्बर १- उपमहानगरपालिकामा नेतृत्वका आकांक्षी