१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कामको प्रचारबाजी गर्ने पक्षमा म छैनः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई अस्पतालमा विपन्नहरुलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरेपनि भेट भइसकेपछि भने चेतावनीको रुपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताए। उनले मेयर साहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने वचन दिएको र सोही अनुसार आफूले प्रमाणित गरेको बताए।

उनले भने, ‘हामी प्रचारबाजी गर्ने किसिमले गर्दैनौँ। हामी समस्याको जरो समातेर रोग पत्ता लगाएर उपचार गर्ने पद्धतिमा हामी जान्छौँ। मैले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक हप्ताभित्र हामीले गरेको कामको रिजल्ट देखाउँछौँ भनेको थिएँ। उहाँले फेसबुकमा लेखेको स्टाटस के पढ्न पाएँ भने स्वास्थ्यमन्त्रीलाई सबैकुरा जानकारी गरायौँ। तर एक हप्ताभित्रमा काम शुरु भएन भने हामी अस्पतालको काम बन्द गरिदिन्छौँ भन्ने भाषामा लेख्नुभयो। त्यो गर्ने काम त रोकिँदैन। नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र काम गर्न पाउँछ। तर मैले तपाईलाई नै लिएर जान्छौँ भनेको थिएँ । तर उहाँलाई आज फेला पारिएन। उहाँ यहाँ भएको भए सँगै जानुहुन्थ्यो। प्रचार भन्दा काम गर्ने शैलीमा जोड दिनुपर्छ। हामी एक्शन ओरिन्टेट बनौँ। प्रचारबाजी सही कुराका लागि सूचना र सचेतनाका लागि गरौँ।’

मन्त्री बस्नेतले कसैको सुझावका भरमा सुर्तिजन्य पदार्थमा कर नबाढएको बताए।  

प्रकाशित: १९ जेष्ठ २०८० १२:४८ शुक्रबार

मोहनबहादुर बस्नेतले