२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी घोषणापत्र तयार

काठमाडौं- स्थानीय तहको वैशाख ३१ गते हुन लागेको चुनावमा सत्तारूढ माओवादी केन्द्रले आन्तरिक तयारी तीव्र पारेको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनका लागि मनाउन कोसिस गरिरहेको भए पनि माओवादी केन्द्रले आन्तरिक रूपमा भने चुनावी अभियान तीव्र पारेको हो।

माओवादी केन्द्रले देव गुरुङको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ। अध्यक्ष दाहाल चीन भ्रमण जानु अघिल्लो दिन प्रतिवेदन बुझाएर समितिले तल्लो कमिटीलाई पनि परिपत्र जारी गरिसकेको छ। 

माओवादीले स्थानीय तहको निर्वाचनका लागि कतिपय स्थानमा उम्मेदवार घोषणासमेत गरिसकेको छ।  केन्द्रीय सदस्य मदन चुडालका अनुसार 'दमक नगरपालिका र विराटनगर उपमहानगरपालिका लागि पार्टीले उम्मेदवार घोषणा गरिसकेको छ। माओवादीले दमक नगरपालिकाका लागि मेयरमा रेवतराज पुरी र उपमेयरमा  शान्ति धिमाललाई चयन गरेको छ भने विराटनगरका लागि मेयर/उपमेयरमा क्रमशः भोगेन्द्र यादव र नमिता न्यौपानेको नाम घोषणा गरिसकेको छ। अब केही दिनमा इटहरी र धरानको मेयर र उपमेयर घोषणा हुने पनि चुडालले बताए। 

आन्तरिक रूपमा इटहरीका लागि भीम सुवेदी र धरानका लागि महेन्द्रविक्रम मेघाको टंुगो लागे पनि उपमेयर चयन हुन बाँकी भएकाले केही दिनमा त्यहाँको उम्मेदवार सार्वजनिक हुने नेताहरुले बताएका छन्। यसैगरी, अन्य गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि प्रमुख/उपप्रमुख, वडा अध्यक्ष, सदस्य चयन गर्न धमाधम आन्तरिक बैठक सञ्चालन जारी रहेको संयोजक देव गुरुङले बताए।

गुरुङको नेतृत्वमा गत फागुन २३ गते गठन भएको निर्वाचन परिचालन समितिले चुनावी प्रतिबद्धता, नीति तथा कार्यक्रम, उम्मेदवारका लागि मापदण्ड तयार गरेर केन्द्रीय कार्यालयमा बुझाइसकेको छ। 'समितिले चुनावी प्रतिबद्धता, अन्तरपार्टी निर्देशिका, उम्मेदवार छनोट मापदण्ड एवं निर्णय विधि केन्द्रीय कार्यालयमा बुझाइसकेको छ', गुरुङले नागरिकसँग भने, 'त्यसरी बुझाएको निर्णयलाई तल्लो कमिटीमा पनि पुर्‍याइसकेका छौं। त्यहाँ अहिले छलफल चलिरहेको छ।' उनका अनुसार समितिले बुझाएको प्रतिवेदनअनुसार स्थानीय तहका कमिटीहरूले बैठक आह्वान गरेर निर्णय गर्न थालिसकेका छन्।

समितिको प्रतिवेदनअनुसार वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारको हकमा सम्बन्धित गाउँपालिका/नगरपालिका स्तरका समितिले टुंगाउनेछ। गाउँपालिका र नगरपालिकाको प्रमुख उपप्रमुख भने सम्बन्धित जिल्ला समितिले, उपमहानगरपालिकाको मेयर/उपमेयरको उम्मेदवारी प्रदेश कमिटीले र महानगरको मेयर/उपमेयर केन्द्रीय समितिले टुंग्याउने गरी उम्मेदवार छनोट विधि तयार गरिएको समितिका अर्का सदस्य गिरिराजमणि पोखरेलले बताए।

'हरेक उम्मेदवारको निर्णय एक तहमाथिको कमिटीले गर्ने विधि बनाएर तलका कमिटीलाई पठाएका छौं। स्थानीय तहको उम्मेदवारमा केन्द्रीय हस्तक्षेप गर्न नहुनेमा समिति सचेत भई अन्तरपार्टी निर्देशिका पनि जारी गरिसकेका छौं', पोखरेलले भने।

त्यसो त माओवादी केन्द्रले २९ बुँदे चुनावी प्रतिबद्धता तयार पारी तल्लो कमिटीमा थप सुझावका लागि पठाइसकेको छ। गत ९ चैतमा तल्लो कमिटीमा पठाएका प्रतिबद्धता पत्रलाई सुझावसहित केन्द्रमा पठाउन एक साताको समय छुट्ट्याइएको छ। 'चैत अन्तिम साताभित्र चुनाव घोषणापत्र प्रकाशित गरिसक्ने लक्ष्य लिएका छौं। त्यसमाथि स्थानीय तहले आफ्नै खालको छुट्टै चुनावी घोषणापत्र पनि जारी गर्न सक्नेेछ', पोखरेलले भने।

गत फागुन २३ गते गठन भएको समितिलाई उम्मेदवार छनोटको मापदण्ड बनाउन दुई साता समय दिइएको थियो। समितिले उम्मेदवार छनोटको हकमा २३ वटा मापदण्ड सर्तका रूपमा राखेको अर्का सदस्य मणि थापाले बताए। पार्टीप्रतिको इमानदारी र स्वच्छ छविलाई मुख्य मापदण्ड बनाइएको थापाले बताए। उनले नागरिकसँग भने, 'स्थानीय तहमा उसको लोकप्रियता र नेतृत्व गर्ने क्षमतालाई पनि ख्याल गरिनेछ।' उनका अनुसार स्थानीय तहको विकास गर्ने 'भिजनरी नेता' लाई पार्टीले उम्मेदवार छनोटका क्रममा प्राथमिकतामा राख्नेछ।

प्रकाशित: १५ चैत्र २०७३ ०३:२८ मंगलबार

माओवादी घोषणापत्र तयार