४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

कृषिमन्त्री चौधरीको मनपरी

काठमाडौं-कृषिमन्त्री गौरीशंकर चौधरीले मनपरी ढंगले कर्मचारी सरुवा तथा निलम्बन गरेका छन्। आफूअनुकूल काम नगरेको भन्दै छ महिनामै तीन सचिव सरुवा गरेका चौधरीले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशकलाई निलम्बन गरेका हुन्।

मन्त्रीले कृषि माफियासँग मिलोमतोमा अनुचित लाभ लिनै नियमविपरीत सरुवा  र निलम्बन गर्दै आएको कर्मचारीको आरोप छ।

आफ्नो अनुचित दबाबमा काम नगरेपछि मन्त्री चौधरीले नार्कका कार्यकारी निर्देशक युवराज पाण्डेलाई विधिविपरीत निलम्बन गरेर मंगलबार पत्र थमाएको पाण्डेले बताए । नार्क ‘नेपाल कृषि अनुसन्धान परिषद् ऐन– २०४८’ मातहत नेपाल सरकारको निर्देशनअनुसार सञ्चालन हुने संस्था हो । यसको अध्यक्ष कृषि वा राज्यमन्त्री रहने व्यवस्था छ ।

कृषि माफियाको मिलोमतोमा स्वार्थअनुसार काम नगर्ने कर्मचारीलाई उनले एकपछि अर्को हटाउँदै आएका छन् । मन्त्री चौधरी पद बहाल गरेर आएपछि उनकै दबाबमा मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईलाई पशुपक्षी मन्त्रालयमा सरुवा गरिएको थियो । त्यसपछि उदयचन्द्र ठाकुर मन्त्रालयको सचिव भएर कृषि मन्त्रालय आए पनि मन्त्रीले भनेअनुसारका काम नगरेपछि ठाकुरलाई पनि एक महिनामै सरुवा गरेका थिए । ठाकुरको सरुवापछि अन्नपूर्णानन्द दास आए पनि मन्त्रीकै दबाबमा उनको पनि दुई साता नपुग्दै सरुवा गरिएको थियो । दासलाई हटाएपछि मन्त्रीले डा. सुरेश पोख्रेललाई रोजेर मन्त्रालयमा ल्याएका छन्। अहिलेका सचिव पोख्रेल कर्मचारीको संरक्षण गर्नुभन्दा मन्त्रीकै पक्षमा लाग्ने गरेका छन् ।

केही समयअघि राष्ट्रिय बिउबिजन कम्पनीका प्रबन्धनिर्देशक धर्म अधिकारीलाई बर्खास्त गर्ने तयारी गरेका मन्त्रीले अधिकारीसँग ‘मोलतोल’ मिलेपछि निर्णयबाट पछि हटेको कृषि मन्त्रालयका अधिकारी बताउँछन्। निर्देशक अधिकारीले चतु¥याइँपूर्वक कम्पनीकै खर्चमा मन्त्री चौधरीलाई अमेरिका घुम्न लगेपछि उनलाई बर्खास्त गर्न उठाएको टिप्पणीलाई बदर गरेका थिए । मन्त्रीले अनुचित लाभ लिन दिएको निर्देशन अटेर गरेका अधिकारीले आफू बर्खास्त हुने भएपछि नयाँ जुक्ति निकालेर अमेरिका लगेको कम्पनीकै एक उच्च अधिकारीले बताए ।

‘प्रबन्ध निर्देशकज्यूले सुरुमा नियमअनुसार नै काम गर्नुभएको थियो’, बिउबिजन कम्पनीका एक उच्च अधिकारीले भने, ‘निर्देशकलाई नै हटाउने भएपछि कम्पनीकै खर्चमा मन्त्रीलाई फकाउन अमेरिका भ्रमण लगिएको हो ।’

मन्त्रीले घुमाउरो पाराले चुनाव लड्नुपर्ने, कार्यकर्तालाई खर्चको व्यवस्था गर्न भन्दै आर्थिक रुपमा सघाउन आग्रह गर्ने गरेको पीडित बताउँछन् । कृषि राज्यमन्त्री राधिका तामाङ लोभलालचमा नफसेको भए पनि मन्त्री चौधरी मापियाको चंगुलमा परेको मन्त्रालयका अधिकारी बताउँछन् ।

मन्त्रीको अनुचित निर्देशन  नमानेपछि छोटो समयमै सरुवा हुनुपरेको एक सचिवले बताए । ‘मन्त्रीको नयाँ केही गरुँ भन्ने सोचाइ नै छैन’, ती सचिवले भने, ‘नियमसंगत नहुने काम गरेर अनुचित लाभ लिने प्रचलनको विकास भएको छ ।’ ती सचिवका अनुसार कृषि मन्त्रालयमा बेथिति जकडिएको छ ।

नार्कजस्तो अनुसन्धान गर्ने निकायका प्रमुखलाई हटाउने काम गलत भएको मन्त्रालयका पूर्वसचिव अन्नपूर्णानन्द दासले बताए । ‘अनुसन्धानमा लामो समय काम गरेको व्यक्ति हुनुपर्छ’, पूर्वसचिव दासले भने, ‘आफ्नो मान्छे भर्ती गर्न समय नपुग्दै हटाउनु गलत छ ।’ दासको अवकाश हुने समय करिब दुई साता छँदा १२ दिनमै मन्त्री चौधरीको दबाबमा सरुवा भएको थियो । ‘अवकाश हुने थोरै दिन हुँदा मेरो पनि सरुवा गरिएको थियो’, दासले भने, ‘कर्मचारीलाई अनुचित ढंगले समय नपुग्दै सरुवा गर्नु गलत हो।’

मन्त्री चौधरीको व्यवहारप्रति मन्त्रालयका कर्मचारी पनि असन्तुष्ट छन् । अहिलेका सचिव पोखरेलले कर्मचारीको भन्दा मन्त्रीकै पक्षमा लाग्ने गरेका छन् । नार्कका निर्देशकले राम्रो काम गरेको भए पनि सचिवले संरक्षण नगरेको नार्कका अधिकारी बताउँछन् । ‘सचिवले चाहेको भए नार्कमा यो अवस्था आउने थिएन’, ती अधिकारीले भने, ‘सचिव पनि मन्त्रीकै निर्देशनअनुसार सेटिङ मिलाउन लाग्नुभएको छ ।’

बिनाकारण, नियमकानुन मिचेर आफूलाई निलम्बन गरिएको नार्कका निर्देशक पाण्डेले बताए । ‘मलाई कुनै जानकारी नै नगराई एक्कासि तीन महिना निलम्बन गर्ने पत्र थमाइयो’, पाण्डेले भने, ‘मन्त्रीको अनुचित दबाब नमानेपछि निलम्बन गरिएको हो ।’

परिषद्को ऐन–२०४८ ले ऐनको दफा १६ बमोजिम परिषद्लाई नेपाल सरकारले निर्देशन दिन सक्ने र दफा १७ बमोजिम सम्पर्क मन्त्रालयको रुपमा कृषि मन्त्रालय रहेकाले परिषद् कार्यकारी निर्देशकलाई निलम्बन गर्ने अधिकारी मन्त्रीसँग नरहेको पाण्डेको जिकिर छ । ‘परिषद्का सदस्यसचिव कार्यकारी निर्देशक हुने व्यवस्था छ’, पाण्डेले भने, ‘मलाई जानकारी नदिई अवैधानिक रुपमा बैठक राखेर निलम्बन गरियो ।’

पाण्डे मन्त्रीको निर्णयविरुद्ध अदालत जाने तयारीमा छन् ।

नार्कमा प्रगति नदेखिएपछि छानबिनका लागि निलम्बन गरिएको मन्त्री चौधरीले नागरिकलाई बताए । ‘नार्कका कार्यकारी निर्देशकविरुद्ध मुद्दा पनि छ’, चौधरीले भने, ‘प्रगति पनि काम पनि नदेखिएकाले छानबिन गर्न निलम्बन गरेको हुँ ।’ सचिव सरुवा र अनुचित लाभको सम्बन्धमा मन्त्री चौधरीले विचारका आधारमा काम गर्न असहयोग गरेकाले आफूले सचिव हटाएको दाबी गरे । ‘निर्देशनअनुसार काम नगरेपछि सचिव हटाइएको हो’, उनले भने, ‘ढिलासुस्ती र विचारका आधारमा मन्त्रीलाई असहयोग गर्ने ?’

प्रकाशित: १८ फाल्गुन २०७३ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App