२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

राप्रपा अध्यक्षमा थापा निर्वाचित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। सोमबार भएको मतदानमा थापाले अर्का उम्मेदवार प्रदीपविक्रम राणालाई अत्यधिक मतले पराजित गरेका हुन्। 
निर्वाचनमा कुल तीन हजार एक सय ३६ मत खसेको थियो। थापाले दुई हजार आठ सय चार मत प्राप्त गरे। राणाले दुई सय ५१ म्त पाएका छन्। ८१ मत बदर भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।
महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास राणाको उम्मेदवारीपछि असफल भएको थियो। कमल

थापाले दुई हजार आठ सय चार मत र प्रदीपविक्रम राणाले दुई सय ५१ मत पाएका छन्। 

थापालाई अध्यक्षमा समर्थन गर्ने शीर्ष नेताबीचको सहमति तोड्दै अर्का नेता प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। तर प्रतिनिधिहरूको दबाबपछि उनी पछि हटे।  
अध्यक्षमा निर्वाचित भएपछि सम्बोधन गर्दै थापाले कसैप्रति प्रतिशोधको भावना नलिई पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। 'मलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नेछु। कुनै पनि काममा पार्टी कार्यकर्ताको शिर निहुर्यानउन दिन्न,' थापाले भने।  
पार्टीको सिद्धान्त स्थापित गर्दै आगामी निर्वाचनबाट सबैभन्दा ठूलो शक्ति बनाउने थापाले बताए। उनले भने, 'आगामी चुनावबाट राप्रपाले आफ्नै शक्ति र नेतृत्वमा सरकार गठन गर्नेछ।' 
एकता महाधिवेशनबाट निर्वाचित भएसँगै कमल थापा राष्ट्रिय राजनीतिमा शक्तिशाली नेताका रूपमा स्थापित हुने भएका छन्। संसद्मा राप्रपाको ३६ सिट छ।
केन्द्रीय सदस्यका लागि मंगलबार बिहान ७ बजे मतदान सुरु हुने प्रवक्ता श्रेष्ठले बताए। केन्द्रीय सदस्य पदमा तीन सय ६५ जनाको उम्मेदवारी परेको छ। निर्वाचनमा ९८ जना निर्वाचित हुनेछन्। खुलाबाट ४०, महिला ३२ र समावेशीबाट २६ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 

को हुन् थापा? 
कमल थापा कुशल राजनीतिक खेलाडी हुन्। २०१२ सालमा काठमाडौंमा जन्मिएका थापाले राजनीतिक कार्यक्षेत्र मकवानपुर जिल्ला बनाएका छन्।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर उनले केही समय रामपुर क्याम्पसमा राजनीतिक अर्थव्यवस्था विषय प्राध्यापन गरेका थिए। 
थापाले २०२९ सालमा राष्ट्रिय विद्यार्थी संगठनको सभापतिका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए। 
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा सक्रिय उनले पार्टीको महामन्त्री, प्रवक्तालगायत पदमा रहेर काम गरे। २०६२ मा उनी राप्रपा अध्यक्षमा चुनिएका थिए।
२०६२/६३ को राजनीतिक परिवर्तनपछि राप्रपाबाट अलग हुँदै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरे। राजतन्त्र र हिन्दु राष्ट्रको नीतिलाई मूल एजेन्डा बनाउँदै सो पार्टीले संविधानसभा निर्वाचन (पहिलो र दोस्रो) मा भाग लिएको थियो।
२०७१ जेठमा भएको राप्रपा नेपालको महाधिवेशनमा थापा पद्मसुन्दर लावतीलाई पराजित गर्दै पुनः अध्यक्ष  भएका थिए।
पटकपटक मन्त्री बनेका उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा स्थानीय विकास, परराष्ट्र र उपप्रधानमन्त्री थिए। उनले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गृह र त्यसअघि सञ्चार, भौतिक योजना तथा निर्माण, स्थानीय विकासलगायत मन्त्रालय सम्हालिसकेका छन्।
थापा टेबलटेनिस खेलाडी र नेपाली फुटबल टिमका पूर्वकप्तान पनि हुन्। उनले अखिल नेपाल फुटबल संघको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थिए।
 

प्रकाशित: १० फाल्गुन २०७३ ०२:४४ मंगलबार

राप्रपा अध्यक्षमा थापा निर्वाचित