४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्रीद्वारा 'बहिष्कार'

काठमाडौं- ६७ औं प्रजातन्त्र दिवसका अवसरमा सैनिकमञ्ज दुलहीझैं सिँगारिएको थियो। एक साताअघिदेखि सुरक्षा संगठनले कवाजको तयारी गरे। तामझामका साथ कार्यक्रम आयोजना गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आफैंले चासो राखे।

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मूल समारोह समिति गठन गरियो। समारोहका सदस्यसचिव नै गृहसचिव तोकिए। गृह मन्त्रालयका सबै अधिकारी प्रजातन्त्र दिवस भव्य र सफल बनाउन लागिपरे। प्रजातन्त्र दिवस देशभर मनाउन गृह मन्त्रालयले माघ २६ गते ७५ जिल्ला प्रशासनमा 'अत्यन्त जरुरी' भन्दै परिपत्रसमेत गर्‍यो।

शनिबार सबै आगन्तुक आउने क्रम जारी थियो। प्रधानमन्त्री दाहालसहित सरकारका मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख सबै आएर तोकिएको सिटमा बसे। तर मूल आयोजकमध्ये एक गृह मन्त्रालयका एकजना अति विशिष्ट भने मर्यादाक्रमअनुसार आफ्नो स्थान खोजिरहेका थिए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मर्यादाक्रमअनुसार सिट नभेटेपछि सैनिक मञ्चमा खटिएका सैनिक अधिकारीलाई सोधे। सैनिक अधिकारीले सिटका विषयमा थाहा नभएको जबाफ दिएपछि निधि खुरुक्क कार्यक्रमस्थलबाट बाहिरिए।

निधिका प्रेस सल्लाहकार रामजी दाहाल मर्यादाक्रमअनुसार बस्ने स्थान नभेटेपछि उनी फर्किएको बताउँछन्। दाहालका अनुसार बस्ने स्थान मर्यादाक्रमअनुसार नभएको र सेनाको जबाफ ठाडो पाएपछि निधि फर्किएका हुन्।

नेपाली सेना भने आफूहरूले स्थान उपलब्ध गराएको र आफूहरूसमेत आगन्तुकका रूपमा कार्यक्रममा उपस्थित भएको बताउँछन्। सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले समारोह आयोजक गृह मन्त्रालय भएको बताउँदै यस विषयमा सेनालाई जानकारी नभएको नागरिकलाई बताए।

गृहप्रवक्ता बालकृष्ण पन्थी पनि गृहमन्त्रीले कार्यक्रम बहिष्कार गरेको आफूहरूलाई थाहा नभएको बताउँछन्। उनले यस विषयमा समारोह समितिका पदाधिकारीलाई जानकारी हुन सक्ने बताए।

प्रकाशित: ८ फाल्गुन २०७३ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App