२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

धनुषामा फोरम विभाजित

जनकपुर- संघीय समाजवादी फोरम नेपालको धनुषा कार्यसमिति विभाजित भएको छ। उपेन्द्र यादवको फोरम र अशोक राईको संघीय समाजवादी पार्टीबीच एकता भएयता भएको पहिलो अधिवेशनमै धनुषा पार्टी दुई चिरामा विभाजित भएको हो।

शुक्रबार संस्थापन पक्षले धनुषाको ढल्केवरमा आयोजना गरेको अधिवेशन उद्घाटन पार्टीका महासचिव रामसहाय यादवले गरे। सोही समयमा अर्को पक्षले धनुषा साइन्स क्याम्पसमा आयोजना गरेको अधिवेशनको उद्घाटन केन्द्रीय सदस्य डा. रामस्वार्थ रायले गरे। दुवै समूहले एकैपटक जिल्लाको फरक ठाउँमा गरेको अधिवेशनले शनिबार छुट्टाछुट्टै जिल्ला कार्यसमिति पनि चयन गर्‍यो।

निवर्तमान जिल्ला अध्यक्ष शेषनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष चन्देश्वर महतोको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत जितेन्द्र यादवले आइतबार पत्रकार सम्मेलन गरेर उक्त कार्यसमितिको नामावली सार्वजनिक गर्ने जनाइएको छ।

यता निवर्तमान जिल्ला सदस्य ज्ञानेन्द्र यादवको अध्यक्षतामा जनकपुरमा भएको अधिवेशनले उनकै अध्यक्षतामा ५७ सदस्यीय अर्को जिल्ला कार्यसमिति चयन गरेको छ। उनीहरूले शनिबारै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्। जिल्ला पार्टी कार्यालयको साँचो अर्को समूहसँग भएको हुँदा उनीहरूले कार्यालयभित्र पस्न पाएनन्।

शनिबार पत्रकार सम्मेलन गर्ने समूहले जिल्लामा जम्मा ६ जना केन्द्रीय सदस्य रहेकोमा पाँच जना आफ्नै समूहमा सहभागी रहेको आधारमा यो समूहलाई आधिकारिक दाबी गरेका छन्। केन्द्रीय सदस्यहरू डा. रामस्वार्थ राय, अरुणसिंह मण्डल, साधु यादव, चमेलीदेवी दास र प्रेमचन्द्र झा ज्ञानेन्द्रको पत्रकार सम्मेलनमा सहभागी थिए।

प्रकाशित: १ फाल्गुन २०७३ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App