५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘प्रचण्ड-माधव नेपालहरुले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारे’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरुले सस्तो मूल्यमा विकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।

कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यामबाट दुई तिहाईको अवस्थामा पुर्‍याइएको तर प्रचण्ड–माधव नेपालहरुले सस्तोमा विकेर त्यसलाई ध्वस्त बनाएको ओलीको जिकीर थियो। 

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनीहरु कतिमा बिकेभन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरुले नबुझेको समेत बताए।

ओलीले कम्युनिष्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दावी समेत गरे।

उनले भने, ‘कुनै पनि कम्युनिष्टहरु हाम्रै पार्टीबाट गएका हुन है। प्रचण्ड कहाँबाट गएका? यही कम्युनिष्ट पार्टीबाट ऐझेरु पलाएझैं पलाएको त हो नि। २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र। यो पार्टी त पछिसम्म एउटै थियो। दुई तिहाई पु¥यायौ हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर। पार्टी एकता र एकीकरण गरेर। तर टुप्पामा बस्ने नेताहरुलाई सही सक्नु भएन। र, उनीहरु विके। यत्तिकै उनीहरुले भोलेन्टरिइली कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। कुनै कारणविना कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मुल्यमा। के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो। बाहिरबाट देखिने कतिपय स–साना कुराहरु हामी पनि देख्छौं। तर भित्री कुरा हामीलाई थाहा छैन।’

ओलीले प्रचण्ड र माधव नेपालहरुले कम्युनिष्ट पार्टीको झण्डा बोकेर हिँडनु बेकार रहेको टिप्पणी समेत गरे। उनले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्ष भित्र मुलुकबाट गरिवी समाप्त पारिदिने बताए।

२५ वर्ष भित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने ओलीको भनाई थियो। उनले भने, ‘म घोषणा गर्न चाहन्छु–आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउने छ। रोक्ने शक्ति कोही छ भने रोक्नुस। यस अभियानलाइ रोक्न सक्ने कोही छ भने रोकोस्। यो लुकेर भनिएको छैन। खुलेआम भनिएको छ। आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउँछ। अर्को त्यसपछिको १० वर्षमा नेकपा एमालेले विकाशशील राष्ट्रको राम्रै स्तरमा यस देशलाई उकास्छ। र, यस देशबाट गरिवी भन्ने कुरा समाप्त पार्ने छ। र, खान, लगाउन पुग्ने देशको रुपमा, गरिवी नभएको देशको रुपमा र आधारभूत आवश्यक्ता परिपूर्ण भएको देशको रुपमा १० वर्षको अवधिमा यसले विकास गर्छ। त्यस कामको नेतृत्व नेकपा एमालेले गर्छ। त्यसपछि जब नेकपा एमाले सय वर्ष पुग्छ। त्यतिबेला नेपाल एउटा आधुनिक विकसित राष्ट्र बनाउनै छौं आगामी २५ वर्षमा। त्यस कामको नेतृत्व नेकपा एमालेले गर्छ।’

ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै त्यसमा केन्द्रित भएर लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन्।

प्रकाशित: ९ वैशाख २०८० १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App