२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

चिकित्सा शास्त्रको स्नातकोत्तरका विद्यार्थी भर्ना योग्यताक्रम अनुसार गर्न सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तरगतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छिन्।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरित राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरेकी हुन्।

सरकारले बढि अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उनले सरकारलाई सुझाव पनि दिइन्।

सांसद कार्कीले भनिन्, ‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ। स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ। अदालतबाट उचित आदेश प्राप्त भयो। तर पनि भर्ना प्रक्रिया सच्याइएको छैन। राष्ट्रिय चिकित्सा ऐन २०७५ को परिच्छेद ६ को दफा १६, १७ र राष्ट्रिय चिकित्सा नियमावली २०७७ को परिच्छेद ५ को दफा १८ र २० मा यो योग्यताक्रम अनुसारको भर्नाको स्पष्ट व्यवस्था छ। एकीकृत प्रवेश परीक्षाको मूल मर्म नै जान्नेलाई छान्ने हो। तर, यहाँ यस पटकको त्रुटीपूर्ण कार्यविधिले कम अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पाउने, रोजेको विषय र शिक्षण संस्था पाउने तर बढि अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पनि नपाउने, शिक्षण संस्था र विषय पनि रोज्न नपाउने अवस्था सृजना भएको छ। यसले गर्दा जेहेन्दार विद्यार्थीको मेहनतमाथि पनि कुठाराघात भएको छ। नियमावली र ऐनको ममलाई पनि यहाँ मिचिएको छ। तसर्थ, म यो समस्या राख्न मात्रै होइन समाधानका उपाय पनि दिन चाहन्छु। विगतका वर्षहरुमा झैं कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ। ऐन र नियमावलीको मर्मलाई समेटछ। र, अदालती आदेशको पनि सम्मान पुग्छ। तसर्थ, सभामुख महोदयमार्फत् म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस्। र, थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाईयोस्।’

सांसद कार्कीले सरकारले जेहेन्दार विद्यार्थीहरुमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरुलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत स्पष्ट पारिन्। 

प्रकाशित: ३ वैशाख २०८० ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App