१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संकटमा वैकल्पिक शक्ति

मन्त्री बन्न आर्थिक सहयोग मागेको श्रेष्ठ–प्रसाईं टेप काण्ड सार्वजनिक

सुशासन र आर्थिक पारदर्शितासहित वैकल्पिक शक्तिको नारा दिएर मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मन्त्री बनाउन आफ्नै सांसदसँग पैसा मागेको आरोप लागेको छ। रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न पार्टीले दुई करोड मागेको भन्दै उक्त रकम जुटाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको टेप बाहिरिएसँगै रास्वपामाथि यस्तो आरोप लागेको हो। श्रेष्ठ–प्रसाईंबीचको टेलिफोन वार्ताको अडियो टेप आइतबार सार्वजनिक भएसँगै वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपा पार्टी संकटमा परेको छ।

टेप बाहिरिएसँगै रास्वपाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ। पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा ‘श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ’ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ। साथै छानबिन पूरा नभएसम्म श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि कामकारबाही नगर्ननगराउन निर्देशन दिइएको छ। यस्तै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घन्टे स्पष्टीकरण पनि सोधिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै पार्टी सभापति रवि लामिछानेले उक्त घटनाको ७२ घन्टाभित्र छानबिन गरेर कारबाही गर्ने दाबी गरेका छन्। बारा २ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले भ्रष्टाचारका बारेमा आवाज उठाइरहेका बेला आज हाम्रो सांसदको एउटा अडियो टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु। तपाईंहरूलाई स्पष्ट पार्न चाहन्छु, भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ। अडियो सार्वजनिक हुनेबित्तिकै मैले पार्टीपंक्तिमा निर्देशन दिइसकेको छु। ७२ घन्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु।’

७२ घन्टामा छानबिन गरेर कारबाही गर्न नसके गढीमाईमा आफ्नो बलि चढाउन पनि उनले आग्रह गरेका छन्। ‘मैले ७२ घन्टे अल्टिमेटम दिएको दुई घन्टा भइसक्यो। अब ७० घन्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला,’ उनले भने।

के छ टेपमा?

नागरिक दैनिकलाई प्राप्त प्रसाईं–श्रेष्ठबीचको टेलिफोन वार्ताको ‘ओरिजिनल टेप’ ८ मिनेट ५८ सेकेन्डको छ। उक्त टेप भिडियोमा तयार पारिएको छ। टेलिफोन संवाद भइरहेको अवस्थामा प्रसाईंको मोबाइललाई ‘लाउड स्पिकर’मा राखेर अर्को ‘डिभाइस’ (क्यामरा भएको) मार्फत वार्ता रेकर्ड गरिएको देखिन्छ। रेकर्ड गरिएको दृश्यमा प्रसाईं आफैं भने देखिएका छैनन्। यद्यपि वार्ता रेकर्ड भइरहेको विषयमा उनी जानकार छन्। दृश्यमा प्रसाईंको मोबाइल स्क्रिनसमेत देखिएको छ। स्क्रिनमा मोबाइल ‘कल कन्टिन्यु’मा रहेको प्रस्ट देखिन्छ। भिडिओ दृश्यमा देखिएको प्रकाशअनुसार वार्ताको समय बिहानपखको हो। दृश्यमा टेबल र सोफासमेत देखिएका छन्।

टेपमा रेकर्ड भएको प्रारम्भिक वार्ताअनुसार सांसद श्रेष्ठले अघिल्लो दिन साँझ/राति नै कुरा गर्न चाहेको बुझिन्छ। त्यसपछि बिहान प्रसाईंले ‘कल ब्याक’ गरेको कुराकानीको भावबाट बुझिन्छ। कल रेकर्डको सुरूमै प्रसाईंले ‘नमस्ते के छ हालखबर?’ भनी सोधेका छन्। जसको जवाफमा सांसद श्रेष्ठले ‘ठिक छ सर। म भर्खर भर्खर उठेको’ भनी जवाफ फर्काएपछि प्रसाईंले ‘राति मेरो पनि फोन अफ गरें। फोन अफ भनेको मोबाइल चार्जमा राखेर सुतें’ भनेर ‘अनि नि, अब खास कुराचाहिँ के हो, मलाई अलिकति भन्नुस् त डाक्टर साप’ भनी कुराको सुरूवात गरेका छन्।

त्यसपछि मन्त्री बन्न दुई करोडको कुरा!

सुरुवाती संवादपछि सांसद श्रेष्ठले आफ्नो पार्टी रास्वपाले स्वास्थ्य तथा जनसंख्यामन्त्री पाउन लागेको भन्दै स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको ‘कोर टिम’बाट दुई करोड माग भएको बताएका छन्। ‘स्वास्थ्य हामीले पाउने भयो। पार्टीले सहयोग गर भन्यो। कोर टिम छ दुईतीन जनाको। उनीहरूले भनिरहेका छन्,’ सांसद श्रेष्ठले भनेका छन्, ‘मलाई साढे दुई जति चाहियो भन्दै थिए हिजो। मेरो पक्काचाहिँ पक्का भयो। आज मैले फिक्स गर्नु छ के दाइ, सर।’ त्यसपछि आफू मन्त्री बनेर धोइपखाली स्वास्थ्य क्षेत्र सफा पार्नेगरी सहकार्यको प्रस्ताव राखेका छन्। ‘म आर्थिक रूपमा त्यस्तो छैन। मन्त्री पनि बन्नुपर्‍यो अब। धोइपखाली गरी स्वास्थ्य क्षेत्र सफा गर्नु छ। मैले धेरै गर्छु भनेर सोच गरेको छु,’ उनले भनेका छन्।

संवादकै क्रममा प्रसाईं र श्रेष्ठबीचमा धेरै चिनजान नभएको पनि देखिन्छ। सोही क्रममा प्रसाईंले रास्वपामा डाक्टरसाप तोसिमा कार्की मात्रै छिन् भन्ने बुझेको बताएका छन्। जसको जवाफमा श्रेष्ठले ‘होइन। हामी तीन जना छौं सर तीन जना’ भनेका छन्। ‘कोको हुनुहुन्छ?’ भनी प्रसाईंले पुनः प्रश्न गर्दा ‘म भएँ। तोसिमा भयो। अनि चन्दा कार्की’ भनेर उत्तर दिएका छन्। त्यसपछि प्रसाईंले ‘डक्टरसापको घरचाहिँ कहाँ हो?’ भनी सांसद श्रेष्ठको ठेगाना सोधेका छन्। श्रेष्ठले ‘मेरो पोखरा हो सर’ भनेका छन्। अनि प्रसाईंले श्रेष्ठको पढाइबारे जिज्ञासा राख्दा उनले एमबिबिएस चाइनाबाट गरेको, एमडी नगरेको र एमएस मात्रै गरेको उत्तर फर्काएका छन्। श्रेष्ठले एमडीको विषयमा ‘पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर लागें म’ भनेका छन्।

त्यसपछि प्रसाईंले आफ्नो कुरा राख्न सुरु गरेका छन्। ‘हेर्नुस है! यो स्वास्थ्यमा धेरै ठुलो समस्या छ, हैन डाक्टर साप। अब देशमा भएका नर्सिङ कलेज बन्द गराए। आज नर्स पढ्न पाउँदैनन्,’ प्रसाईंले भनेका छन्, ‘मैले जहिले भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलीहरू डान्स गर्न पठाउनुभन्दा नर्स पठाऔं। हो कि होइन?’ प्रसाईंको कुरामा श्रेष्ठले सहमति जनाएका छन्। ‘डाक्टर उत्पादन गरौं। बरु सयवटा मेडिकल कलेज खोलौं। हो कि होइन भन्नु त ? विदेशबाट, इन्डियाबाट विद्यार्थी ल्याऔं, तीन सय÷चार सय पढाऔं। हस्पिटल फिरी गरौं। कति राम्रो कुरा गरेको मैले,’ प्रसाईंले भनेका छन्। त्यसपछि श्रेष्ठको नामबारे पनि प्रसाईंले कन्फ्युजन देखाउँछन्। ‘डाक्टरसाप। हजुरको नाम ढकबहादुर के हो?’ भनी प्रश्न सोध्दा श्रेष्ठले ‘ढाकाकुमार श्रेष्ठ’ भनी जवाफ दिएका छन्।

‘उधारो हुन्न, नगद चाहिन्छ’

त्यसपछि दुवै जना बीचमा रास्वपाको आन्तरिक राजनीतिका विषयमा कुराकानी सुरू हुन्छ। जसमा प्रसाईंले रास्वपाका महामन्त्री मुकुल ढकालले ‘स्वास्थ्य र शिक्षा मन्त्रालय नलिने’ भन्ने कुराको कोट्याउँछन्। त्यसको जवाफमा श्रेष्ठले ढकाल ‘कोर टिम’को सदस्य नरहेको बताउँदै उनलाई पार्टीका भित्री कुरा थाहा नहुने बताएका छन्। ‘मुकुलजीलाई त्यति थाहा छैन। आन्तरिक कुरा हो। मुकुल पनि त्यो कोर टिममा हुनुहुन्न। बाहिर उहाँ महामन्त्री नै हो। अब हजुरलाई साँचो कुरा गर्दा त्यहाँ दुईतीन जना छुट्टै हुनुहुन्छ के,’ श्रेष्ठले भनेका छन्, ‘पार्टीलाई धेरै सहयोग गर्ने, सुरुदेखि नै सहयोग गर्ने, रवि सरलाई सहयोग गर्ने, त्यो टिमबाट मलाई कुरा आएको हो।’

सोही क्रममा सांसद श्रेष्ठले सभापति लामिछानेको कोर टिमलाई तत्काल नगद पैसा दिनुपर्ने बताएका छन्। ‘अब आज मैले फिक्स गर्नुपर्छ पैसा। उधारो हुन्न भन्छन् फेरि,’ उनले भनेका छन्। त्यसपछि प्रसाईंले ‘क्यास पैसा चाहिन्छ। क्यास दुई करोड?’ भनी सोध्दा श्रेष्ठले ‘अँ दुई, साढे दुई भनेको छ। मैले अहिले एक दिएँ भने पनि मान्छन् होला। चेक दिए पनि मान्छन्’ भनेर जवाफ दिएका छन्।

त्यसपछि प्रसाईंले नगदै दिन तत्काल कठिनाइ रहेको सुनाउँछन्। ‘आज बन्द छ। सुन्नुस् कुरा। फेरि बैंकमा ९ लाख ९९ सय हजारभन्दा माथिको चेक साटिँदैन। सुन्नस् कुरो। क्लियर कुरा,’ प्रसाईंले भनेका छन्, ‘अब एउटा टाइम राखेर गर्ने हो भने म दिन्छु।’ प्रसाईंले जसको बदलामा भोलि आफूले भनेको काम गर्नुपर्ने प्रस्ताव राखेका छन्। उनले भनेका छन्, ‘म सहयोग गर्छु तपाईले भनिहाल्नुभयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।’

त्यसपछि श्रेष्ठले ‘त्यो त मैले गर्छु’ भन्दै आफू गोविन्द केसी देखेर दिक्क लागेको बताएका छन्। जसमा उनले केसीको मर्ने दिन नै हेरिरहेको आशय व्यक्त गरेका छन्। ‘कुन दिन मर्ला जस्तो लाग्छ। म देशमा एमबिबिएस पढ्न नपाएको पनि तिनले गर्दा हो,’ उनले भनेका छन्। त्यसपछि प्रसाईंले आफ्नो छोरी एमडी गर्न जापान पठाउँदा ३ करोड लागेको र आफूसमेत डुबेको बताएका छन्। जवाफमा श्रेष्ठले ‘त्यही त यसलाई हटाउनुपर्छ। यो पनि समस्या समाधान गर्नुपर्छ’ भनेका छन्।

टेपमै ‘हजुर निश्चिन्त हुनुहोस्। मिलेर काम गर्नुपर्छ तपाईं र म’ भनी सांसद श्रेष्ठले प्रसाईंलाई आश्वस्त पार्न खोजेका छन्। त्यसपछि प्रसाईंले पनि श्रेष्ठले मागेको दुई करोड रकम आफू दिन तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘तपाईं के कुरा ग्यारेन्टी गर्नुहोस् भने मैले दुई करोड दिने भए तपाईंलाई।’ सोही क्रममा ‘यो पैसा तपाईंले पनि भोलि–पर्सि सभापति लामिछानेलाई दिने त होला?’ भनेर श्रेष्ठसँग जिज्ञासा राखेका छन्। जवाफमा श्रेष्ठले जवाफ दिँदै भनेका छन्, ‘अँ, मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन। बाहिरका दुईतीन जना साथी हुनुहुन्छ। पार्टीमा जान्छ भनेका छन्।’

यस्तै आफूले दिने रकम ‘पार्टीमा जान्छ कि जाँदैन मलाई थाहा छैन’ भन्दै श्रेष्ठले अगाडि भनेका छन्, ‘मैले सोचेको छैन। पार्टी कमजोर छ। सुरुवाती छ भनेका छन्। साह्रै गाह्रो भएको छ भनेका छन्।’ अन्त्यमा प्रसाईंले ‘हस्। तपाईंलाई मैले दुई करोड दिन्छु। तपाईंलाई सजिलो बाटो देखाइदिन्छु’ भनेर संवाद टुंग्याएका छन्।

‘व्यवस्थाभित्रको विकृति देखाउन टेप सार्वजनिक’

मेडिकल व्यवसायी प्रसाईंले आफूले नै उक्त टेप सार्वजनिक गरेको बताएका छन्। नागरिकसँगको कुराकानीमा उनले भने, ‘उहाँले मसँग पैसा मागेको प्रस्टै छ। यो संसदीय व्यवस्थाभित्र देखिएका कमजोरीहरू उजागर गर्न टेप सार्वजनिक गरेको हुँ।’

नयाँ जोगीका अनुहार पनि समाजले चिनोस् भन्ने आफ्नो चाहना रहेको प्रसाईंले बताए। ‘अब यसले उहाँहरूको अनुहार पनि देखियो होला नि। कोर टिम को हो? त्यो पनि प्रस्टै छ नि,’ प्रसाईंले भने। रास्वपाले अन्य मन्त्रीहरू बनाउँदा पनि करोडकै हिसाबमा पैसा असुलेको आफूसँग सूचना रहेको उनले दाबी गरे। यस विषयमा सांसद श्रेष्ठसँग कुरा गर्न खोज्दा सम्भव हुन सकेन।

प्रकाशित: २७ चैत्र २०७९ ००:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App