६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

'अलग मधेस' माग्ने सांसदलाई उपेन्द्रको स्पष्टिकरण

काठमाडौं- पार्टीको नीति र सिद्धान्त विपरीत 'देश टुक्राएर अलग मधेस बनाउनुपर्ने' भन्दै सार्वजनिक अभिब्यक्ति दिने आफना सांसद अभिषेकप्रताप शाहलाई संघीय समाजवादी फोरम, नेपालले लिखित स्पष्टीकरण सोधेको छ। उपेन्द्र यादव नेतृत्वको संघीय फोरमका उपमहासचिवसमेत रहेका सांसद साहलाई १५ दिनभित्र स्पष्टीकरण दिनुपर्ने भन्दै गत मंसिर २६ गते ४ वटा प्रश्नहरु सोधेर स्पष्टीकरण लिइएको हो। नेपालको राजनीतिक इतिहासमा 'देश टुक्राउने' अभिब्यक्ति दिएको भन्दै लिखित स्पष्टीकरण सोधिएको सम्भवतः यो पहिलो घटना हो।

अध्यक्ष यादवको निर्देशनमा महासचिव रणध्वज कङ्दङ्वाले सांसद साहसँग उक्त लिखित स्पष्टीकरण माग गरेका हुन्। 'तपाईँले आफनो फेसबुक स्टाटसमा 'बस करो मधेसी नेता अब आओ वापस मधेस, बन्द करो दानापानी तेल और मागो अलग राष्ट्र मधेस' भन्ने अभिव्यक्तिहरु दिनु भएको साँचो हो?' पहिलो प्रश्नमा नै सांसद साहसँग सोधिएको छ।

सांसद साहले पछिल्ला समयमा 'उग्र अभिब्यक्ति' दिन थालेपछि अध्यक्ष यादवले पटकपटक मौखिकरुपमा सचेतसमेत गराउँदै आएका थिए। तर, सांसद साहले भने सामाजिक सञ्जाल र अन्तवार्ताहरुमा अराजक अभिब्यक्ति दिन नछाडेको संघीय फोरमको ठहर छ।

'यदि यो साँचो हो भने अमर्यादित-अराजनीतिक शव्दहरुको अभिव्यक्तिले हाम्रो सिंगो पार्टीको मर्यादामा आँच पुग्दैन?' दोस्रो प्रश्नमा सांसद साहसँग अगाडि सोधिएको छ, 'मधेस टुक्रिन्छ, छुट्टै देश हुन्छ भन्ने अभिव्यक्ति हाम्रो पार्टीको नीति विपरित भएन र?' उक्त गम्भिर प्रश्नबारे जवाफ दिन साहलाई १५ दिनको समयसिमा दिइएको छ।

पार्टीको मार्गदर्शक सिद्धान्त र नीतिबारे जानकारी भए नभएको तथा त्यसबारे विश्वास भए नभएको? भन्नेबारे पनि जवाफ दिन सांसद साहलाई निर्देशन दिइएको छ। सामाजिक सञ्जाल तथा अन्य स्थानबाट 'देशद्रोही' तथा 'राष्ट्रघाति' अभिब्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्ने कि नगर्ने? भन्ने प्रश्न गर्दै ४ वटा प्रश्न उनलाई सोधिएको हो।

यता, उपमहासचिवसमेत रहेका सांसद साहले त्यसको जवाफ भने पार्टीलाई दिँदै आफूलाई कारबाही गर्नुपर्ने कुनै कारण नरहेको जिकिर जवाफमार्फत् गरेका छन्। जवाफमा लेखका छन, 'बारम्बार कतिचोटि लड्ने जति लडे पनि यहाका शासक वर्ग केही दिने मुडमा देखिँदैनन्, मधेसीको इच्छा आकांक्षालाई नजरअन्दाज गर्नु पनि राष्ट्रिय एकता, अखण्डता एवं राष्ट्रिय हितविपरीत हुन्छ, यसकारण मैले भैगो अब आफ्नो मधेश लिउँ लेखेको हुँ।' अभिब्यक्ति स्वतन्त्रताको उपयोग गर्दै सामाजिक सञ्जालमा ब्यक्तिगत धारणा राखेको जिकिर पनि साहले स्पष्टीकरणमार्फत गरेका छन्।

कपिलवस्तु-५ बाट दुई दुईपटक प्रत्यक्ष निर्वाचित सांसद साहले पार्टी अध्यक्ष यादवप्रति पनि निरन्तररुपमा 'अममर्यादित र अशिष्ट भाषा' प्रयोग गर्न थालेको भन्दै कारबाहीको माग गरिँदै आएको थियो,' फोरम स्रोतले भन्यो। तर, सांसद साहले आफ्ना अभिब्यक्तिमा पार्टीको धारणा नरहेको स्पष्ट पार्दै उक्त धारणा ब्यक्ति भएको जनाएका छन्।

सांसद साहले आफनो अभिब्यक्तिले सार्वजनिकरुपमा कुनै हिंसा नभडकिएको तर्क गर्दै उक्त अभिब्यक्ति मधेसी जनताको भएको जिकिर गरेका छन्। उक्त फेसबुक स्टाटस् उनको निर्वाचन क्षेत्रको जनताको अभिब्यक्ति भएको पनि पार्टीलाई जानकारी गराएका छन् । तर, आफू पार्टीको नीति, सिद्धान्त र कार्यक्रमप्रति प्रतिबद्ध भएको जिकिर गर्दै सांसद साहले कारवाहीको हुन नसक्ने उल्लेख गरेका छन्।

तर, सांसद साहको चित्तबुझदो जवाफ नभएको भन्दै उनलाई निलम्बन गरी कारबाही गर्ने बुझिएको छ। 'सांसद साहले गल्ती अनुभूति नै नगरीएको स्पष्टीकरण आएको छ, त्यसले उनलाई कारबाहीको दायराभित्र ल्याउनेछ,' एक पदाधिकारीले नागरिकन्युजसँग भने, 'झन, स्पष्टीकरण पार्टीलाई नबुझाई सामाजिक सञ्जालमार्फत राखेकाले उनी अनुशासनको कारबाहीमा पर्ने पक्का छ।' 

तर, सांसद साहले आफनो स्पष्टीकरण जनताको आवाज भएको जिकिर गर्दै पार्टीको र देशको आन्तरिक लोकतन्त्र बलियो बनाउनका लागि दिइएको दावी गरेका छन्। 'मेरो अभिब्यक्ति पार्टीको र देशका तानशाही सोचलाई अन्त्य गरी आन्तरिक लोकतन्त्र बलियो बनाउनका लागि दिएको हुँ,' सांसद साहले नागरिकन्युजसँग भने।

प्रकाशित: १२ पुस २०७३ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App