१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

सुशासन र समृद्धिका लागि तीन महिनामा धेरै काम भए: प्रधानमन्त्री

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताएका हुन्।

प्रधानमन्त्रीले भने, 'बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्वपूर्ण काम भएका छन्। मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ।'

राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उनले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको बताए। राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका काममा विगतको झन्झट हटेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजानुपर्ने उल्लेख गरे।

'सुशासन र समृद्धिका लागि महत्वपूर्ण काम भएका छन्। कानुन निर्माणका कामले गति लिएका छन्', प्रधानमन्त्रीले भने, 'एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो। त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ। आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ।'

नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र  संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको बताए।

प्रधानमन्त्रीले भने, 'विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ। त्यसको विश्वव्यापी प्रभाव छ। रूस–युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएका फेरबदललाई ठीक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ।'

प्रकाशित: १७ चैत्र २०७९ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App