१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालका कारण विदेशी सम्बन्ध बिग्रिएको एमाले अध्यक्ष ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हीतलाई कमजोर बनाएको आरोप लगाएका छन्।

सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए। अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुर झैँ रहेको बताए।

उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए। प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको उनको भनाइ छ।अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पारे। उनले गठबन्धनका स्वार्थीहरुले प्रधानमन्त्रीमा विश्वासको मत दिएपनि आफ्नो पार्टीले उनलाई विश्वासको मत नदिने बताए।

अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँ बाहेक सबै अरुको केही दोष छैन, अलमलमा उहाँ दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ। उहाँले जे भन्यो त्यही हुन्छ। विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ। अरुसँग मिलेको भन्ने आरोप लाग्छ। उहाँ एकता हुन दिनुहुन्न एकता भइहाल्यो भने त्यसलाई तोड्ने उद्योगमा लाग्नुहुन्छ। तोडेर छोड्नुहुन्छ। विगतमा देखिएको छ। वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थीहरुसँग गएर जोडिनुभयो। यस पटक फेरि वामपन्थी सरकार गठन भयो तर उहाँलाई सह्य भएन। प्रधानमन्त्री भएको भोलिपल्टबाट इमानमा रहन सक्नुभएन। उहाँले दक्षिणपन्थी सरकार बनाउनु भयो। राष्ट्रिय हीतलाई कमजोर बनाउनु भयो। भ्रष्टाचार अब बढ्दै जान्छ, रोकिँदैन। विकास निर्माण रोकिन्छ। उहाँ एमाले बिरोधी हुनुपर्ने भन्ने सोचमा हुनुपर्छ। राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा हुनुहुन्छ। वैदेशिक सम्बन्ध असन्तुलित मात्रै होइन अत्यन्त अविश्वसनीय भएको छ। यो उहाँकै कारण हो। त्यसकारण प्रधानमन्त्रीजीमाथि विश्वास छ भन्न सकिँदैन। गठबन्धनका स्वार्थीहरुले भोट देलान् तर हामीलाई स्वार्थ छैन, त्यसैले प्रधानमन्त्री संसदको विश्वास छ भन्न सकिँदैन, जित्ने हार्ने छुट्टै कुरा हो स्वार्थको खेल हो, यसमा हमी लतारिनुपर्दैन, उहाँप्रति हामीलाई विश्वास छैन, हालसालैका गतिविधिहरुले पुष्टि हुन्छ, हामी उहाँमाथि विश्वास छैन भन्ने पक्षमा हुन्छौँ।’

अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्नसक्ने समितिको चयन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरे।  

प्रकाशित: ६ चैत्र २०७९ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App